केशव राज भट्ट
(बाशुलिङ्ग) बैतडी, असार ६ गते । गाउँगाउँमा केतकीका हरिया पात हल्लिँदा पूरै गाउँ रमाउँथ्यो । चैत र वैशाख लागेपछि बारीछेउ र जङ्गलछेउमा फक्रिएका केतकीका पात काट्न महिलादेखि युवासम्म व्यस्त हुन्थे । गाउँको खोल्सामा तीन साता भिजाएर सेतो रेसा बनाइन्थ्यो । यही रेसाबाट बलिया, भरपर्दा र सुन्दर डोरी बन्थे । तर अहिले त्यो समय स्मृतिमा सिमित हुँदै गएको छ ।
बजारमा सस्तो मूल्यका प्लास्टिकका डोरी र अन्य सामान सजिलै उपलब्ध भएपछि परम्परागत केतकी डोरीले बजार गुमाएको छ । सुर्नया गाउँपालिका–४ का कृषक प्रकाश भाटले भन्नुभयो,‘‘सस्तो प्लास्टिकले गर्दा हाम्रो गाउँघरको यो पेसा लोप हुँदैछ । अहिले त हेर्दा पनि केतकीको डोरी देखिँदैन ।”
पेसामा मिहिनेत बढी, मूल्य आधा
डोरी बनाउन सजिलो भने पक्कै थिएन । केतकीको पात तीन सातासम्म पानीमा भिजाएर, बोक्रा कुहाएपछि रेसा निकालेर सफा पार्नुपर्ने प्रक्रिया निकै श्रमसाध्य थियो । दोगडाकेदार गाउँपालिका–४ का रामदत्त भट्ट भन्नुहुन्छ, ‘‘महिनौ दिनसम्म मिहिनेत गर्दा पनि आधा मूल्य पाइँदैन । कहिले त बाढीले बगाएर लैजान्छ ।’’
सजिलै खेती गर्न सकिने, श्रमको भरमा प्रशोधन सम्भव हुने र गाउँमै आम्दानी दिने यो पेसा किसानहरूबाट विस्तारै ओझेलमा परेको छ । मेलौली नगरपालिका–२ का धनीदत्त भट्ट भन्नुहुन्छ, ‘‘समय र मिहिनेत बढी पर्ने र उचित मूल्य नपाइने भएपछि कृषकको आकर्षण घट्यो । अब त थोरैले मात्र घरायसी प्रयोजनमा बनाउँछन् ।’’
सङ्कट : प्राकृतिक स्रोत र मौसमको निर्भरता
परम्परागत केतकी प्रशोधन प्रकृतिको प्रत्यक्ष भरमा चल्थ्यो । खोला र खोल्सामा पर्याप्त पानी चाहिन्थ्यो । चैत र वैशाखमा पात भिजाउने र बर्खा लागे अघि रेसा बनाउने चलन थियो । बसन्त तथा गृष्म रितुको सिजनमा पानीको कमी र जथाभाबी सडक खन्ने प्रवृत्तिले पानीको सतह घट्दै गएको छ । बर्खामा बाढीले भिजाइराखेको केतकी बगाइदिन्छ ।
दशरथचन्द नगरपालिका–३ का कृषक अर्जुन थलालले भन्नुभयो, ‘‘पानीको अभाव र बाढीले क्षति पुर्याउने डरले अहिले केतकीमा कम ध्यान दिन्छौँ । मिहिनेत गरे पनि उचित मूल्य नपाइने भएपछि हामीलाई यो पेसाबाट वितृष्णा छ ।’’
यद्यपि यो पेसा पूरै लोप भइसकेको छैन । श्रीकोट, सौगाउँ, पिपलकोट, हटैराज, थलालगाउँ, कटौजपानी, कल्तडी, मेलौली, पुर्चाैडी जस्ता क्षेत्रमा अझै केही कृषकले खेतबारी छेउमा केतकी रोप्ने, डोरी बनाउने र घरायसी प्रयोजनमा प्रयोग गर्ने गरिरहेका छन् । धरमघरका व्यापारी विष्णु भट्ट भन्नुहुन्छ, ‘‘अहिले बजारमा केतकीका डोरी देख्न पाइन्न । कहिलेकाहीँ अर्डर परे मात्र ल्याउँछन् ।’’
विशेषगरी सुक्खा सिजनमा पानी अभाव र बर्खामा बाढीले क्षति पुर्याउदा केतकी प्रशोधनको जोखिम बढेको छ । यद्यपि सस्तो प्लास्टिकले विस्थापित गरिरहे पनि केतकी डोरी बलिया, टिकाउ र जैविक सम्पदाका रूपमा अझै उपयोगी हुन सक्छ ।
कतिपय कृषकको भनाइमा, सस्तो प्लास्टिककै कारण बजार गुमेको भए पनि बायोडिग्रेडेबल, इको–फ्रेन्ड्ली सामग्रीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । यस्तो अवस्थामा परम्परागत केतकी डोरी उत्पादनलाई व्यवसायिक बनाउने हो भने गाउँमा रोजगारी, आम्दानी र परम्परा दुवै जोगाउन सकिनेछ ।
गाउँगाउँमा केतकीका हरिया पात झलक्क देखिने दिन फेरि आउन सक्थ्यो, यदि मूल्य, बजार र प्रशोधन प्रविधिमा सुधार ल्याउन सकियो भने । कृषकको मिहिनेतको उचित मूल्य सुनिश्चित गर्दै यो परम्परा बचाउन अहिले पनि ढिला भइसकेको छैन ।