सप्तरी समाचारदाता
सप्तरी, जेठ १९ गते । सप्तरीको राजविराज नगरपालिकाको स. १ झ ४८१ नम्बरको स्कोर्पियोले ठक्कर दिएर गम्भीर घाइते बालकको उपचारमा लागेको खर्च बुझाउन नसक्दा पाँच महिनादेखि अस्पतालमा बन्धक भएका छन् । नगरपालिकाले उपचार खर्च नबुझाउँदा जिल्लाको बोदेबरसाइन नगरपालिका–१ का १६ वर्षीय राजेशकुमार यादव अस्पतालमा बन्धक हुनुभएको हो ।
राजविराज नगरपालिकामा गत मङ्गलबारदेखि पीडितका आफन्तले अनिश्चितकालीन धर्ना कार्यव्रmमलाई आइतबार पनि निरन्तरता दिएका छन् । खर्च माग गर्दै पीडित परिवार तथा आफन्त राजविराज नगरपालिकाको मूलद्वारमा धर्ना बस्दा दैनिक कामकाज प्रभावित भएको छ ।
घटनाको महिनौँ बितिसक्दासमेत नगरपालिकाले उपचार खर्च उपलब्ध नगराउँदा छोरा अस्पतालमै बन्धक भएको पीडितका बुवा रघुनाथ यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उपचार खर्च अस्पताललाई बुझाउन नसक्दा छोरालाई घर ल्याउन नसकेको उहाँको गुनासो छ ।
यादवले भन्नुभयो, “२५ लाख रुपियाँ अस्पताललाई तिरेर ल्याउन सक्ने अवस्था नभएकाले छोरा अस्पतालमै बन्धक छन् ।”
उहाँले नगरपालिकामा उपचार खर्चका लागि महिनौँसम्म धाउँदासमेत सुनुवाइ नभएपछि धर्ना बस्न बाध्य भएको बताउनुभयो । उहाँले उपचार खर्च बुझाएर छोरालाई घर ल्याउन पहल गरिदिन सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रहसमेत गर्नुभयो ।
कुल २७ लाख खर्च भएकामा नगरपालिकाले दुई लाख मात्र अस्पताललाई बुझाएको बताउँदै उहाँले छोरालाई घर फर्काइदिन अनुरोध गर्नुभयो । गत २०८१ माघ १ गते बोदेबरसाइन नगरपालिका–५ स्थित सडकखण्डमा राजविराज नगरपालिकाको गाडीको ठक्करबाट बोदेबरसाइन नगरपालिका–१ का राजेशसँगै अर्का २२ वर्षीय अजितकुमार यादव घाइते भएको रजेशका बडाबुवा वैधनाथ यादवले बताउनुभयो ।
अजितको राजविराजस्थित छिन्नमस्त अस्पतालमा उपचार गरी घर फर्किए पनि विराट नर्सिङ होम विराटनगरमा उपचार खर्च तिर्न नसकेपछि राजेशलाई घर ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले ९० दिन आइसियुमा राखी उपचार गराइएको भतिजाको ९२ दिनपछि होसमा आएर हाल अस्पतालले डिस्चार्ज गरिसक्दासमेत पैसा अभावले ल्याउन नसकिएको बताउनुभयो । उहाँले अस्पताललाई उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक भएका भतिजाको न्यायका लागि सङ्घर्ष समिति बनाएर क्षतिपूर्तिका लागि दबाब दिन धर्ना बस्न बाध्य भएको स्पष्ट पार्नुभयो ।