अमरराज नहर्की
तनहुँ, जेठ १८ गते । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँले लिफ्ट खानेपानी आयोजनाको ५५ लाख बढी विद्युत् महसुल अनुदान दिएको छ । तनहुँ र नवलपुरका खानेपानी योजना हेर्ने यस कार्यालयले ५५ योजनाको उक्त रकम अनुदान दिएको हो ।
आर्थिक वर्ष २०८०-२०८१ को जेठ महिनादेखि आर्थिक वर्ष २०८१-०८२ को पुससम्म ५५ लाख ३८ हजार नौ सय रकम वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्षको माघ महिनादेखि वैशाखसम्मको महसुल भुक्तानी गर्ने छ भने जेठ र असार दुई महिनाको आगामी वर्षमा भुक्तानी गरिने छ ।
तनहुँमा ३८ लाख ५९ हजार सात सय र नवलपुरमा १६ लाख ७९ हजार दुई सय गरी उक्त रकम प्रदान गरिसकिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख खनालका अनुसार साना खानेपानी उपभोक्ता समितिका लागि गत वर्ष १५ हजार रहेकोमा यस वर्ष वृद्धि गरी २५ हजार पुर्याएको छ भने ठुला उपभोक्ता समितिका लागि प्रतिशतको आधारमा भुक्तानी दिने गरिएको छ ।
लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदान ग्राही छनोट गरी अनुदान दिइएको हो । स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिक रूपमा २५ हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीलाई विद्युत् महसुलको शत प्रतिशत अनुदान दिइएको हो ।
गत वर्षदेखि यस किसिमको सुविधा सुरु भएको हो । २५ हजारसम्मको विद्युत महसुलमा पुरै भुक्तानी र सो भन्दा माथिको महसुलमा प्रतिशतका दरले भुक्तानी गर्ने गरिएको छ । मासिक २५ हजारदेखि ४० हजारसम्मको महसुलमा ७५ प्रतिशत र मासिक रूपमा ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको ५० प्रतिशत र मासिक रूपमा ६० हजारदेखि ८० हजारसम्म विद्युत् खपत गर्ने अनुदान ग्राहीले कुल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्राप्त गर्छन् । यस्तै, मासिक रूपमा ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराउने गर्दछ ।
उपभोक्ताले भुक्तानीका लागि विद्युत् महसुलको सक्कली बिल र जरिवाना नतिरेको हुनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको । कार्यालयका अनुसार ६-६ महिनामा उपभोक्ता समितिबाट निर्णय गरी वडा कार्यालयबाट अनुदानका सिफारिस पेस गर्नुपर्छ ।
नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको हो । अधिकांश आर्थिक रूपमा विपन्न मानिसहरू गाउँका डाँडाकाँडामा बसोवास गर्दै आएको खानेपानीमा अनुदानको व्यवस्थाले उनिहरूलाई लाभ पुगेको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।