• १९ असार २०८२, बिहिबार

स्तरोन्नति गरिँदै कर्णाली राजमार्ग

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), जेठ १४ गते । सडक डिभिजन जुम्लाले साढे ३३ करोड रुपियाँभन्दा बढी लागतमा कर्णाली राजमार्गका विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तर्गत कालीकोट र जुम्ला खण्डका विभिन्न प्याकेज गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी दीपेन्द्र चौधरीले कालीकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्कामार्फत काम भइरहेको बताउनुभयो । चालु आवभित्रै ४३ किमी कालोपत्रे हुने गरी साढे ३३ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ । यसमा खुलालुदेखि घोडेनासम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केबी जेभी कालीकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजार र दोस्रो प्याकेज छ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले एक करोड २८ लाख १८ हजार रुपियाँमा काम गरिरहेको छ । कालीकोट खण्डकै घोडेनादेखि नाग्मसम्म तीन प्याकेजमा काम भइरहेको छ । यसमा १६ किमी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले चार करोड ४० लाख रुपियाँमा कालोपत्रे गर्ने छ भने दोस्रो प्याकेजमा चार करोड २१ लाख ७२ हजार लागतमा कालोपत्रे हुने छ ।

त्यसै गरी भैरव मष्ट निर्माण सेवाले एक करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ । कालीकोट खण्डमा खुलालुदेखि नाग्मसम्मका पाँच वटा ठेक्कामार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । नाग्मदेखि जुम्लासम्मको ३२ किमीमध्ये २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डबल लेन निर्माणमा भएको ठाउँमा कालोपत्रे गरिने छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीसँग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ । 

चालु आवको असार मसान्तभित्र सक्ने गरी साढे ३३ करोड लागतमा ४३ किमी कालोपत्रे हुने छ । जोखिमयुक्त स्थानको अवस्था जस्ताको तस्तै छ । पानी परिरहेकाले सडक कालोपत्रे काम गुणस्तरहीन हुन सक्ने भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले निर्माण व्यवसायी र सडक डिभिजनलाई सजग रहन सुझाव दिनुभएको छ । यता सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरी गुणस्तरमा कुनै सम्झौता नहुने दाबी गर्नुहुन्छ । सबै निर्माण सामग्रीको परीक्षण गरिएको र नियमित फिल्डमै खटिएकाले गुणस्तरीय पिच हुने दाबी उहाँले गर्नुभयो । 

प्रमुख चौधरीले खाल्डो पुर्ने र पिच गर्ने गरिएको उल्लेख गर्नुभयो । साथै जोखिमयुक्त स्थानमा पनि बिस्तारै सुधार हुने जनाइएको छ । 

जोखिममा भएन सुधार 

कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भए पनि जोखिमयुक्त स्थानमा कुनै सुधार भएको छैन । जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तर्गतको जुम्ला–कालीकोट खण्डको, टिमुरे, भैँसीगौँडा, भिग्म, टाकुल्लालगायतका स्थानमा बर्सौंदेखि खाल्टाखुल्टी छन् । यहाँ दैनिक सवारी आवतजावतमा समेत सकस हुने गरेको छ । सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थान छोडेर सहज ठाउँ नै कालोपत्रे, ग्राभेललगायतका स्तरोन्नतिको काम सुरु गरेपछि स्थानीय नागरिक आक्रोशित भएका छन् । 

सडक डिभिजन जुम्लाले नयाँ डबल लेन सडक निर्माण गरेको र पुरानै पिच भएको सडकमा फेरि कालोपत्रे गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आवमा कालोपत्रे गर्दै छ । यसमा कालीकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक कालोपत्रे गरिँदै छ । कालीकोट र जुम्ला खण्डका अधिकांश स्थानमा पुरानै कालोपत्रेमाथि कालोपत्रे गर्न थालिएको छ । यसले गर्दा स्थानीय आक्रोशित भएका हुन् । राजमार्ग सञ्चालन भएको करिब दुई दशक भइसक्दा पनि ढुक्कले यात्रा गर्ने वातावरण अझै बनेको छैन ।