विसं २०६२/६३ को निर्णायक र बलिदानीपूर्ण ऐतिहासिक जनआन्दोलनको विजयपछि २०६३ वैशाख १० गते राति तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको सम्बोधनबाट ब्युँतिएको व्यवस्थापिका संसद्को २०६५ जेठ १५ गतेको ऐतिहासिक निर्णयबाट नेपालमा पहिलो पटक गणतन्त्र स्थापना भएको हो । यो भर्खर १७ वर्षको किशोर भएको छ । यसपछि पहिलो पटक गठन भएको संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरेको हो । गणतन्त्र स्थापना भएको १७ वर्ष मात्र भएको छ । नेपालमा गणतन्त्रपछि राजनीतिमा आमूल परिवर्तन आएको छ । सङ्घीय गणतन्त्र हुँदै तीन तहका सरकार क्रियाशील छन् । यसका साथै नेपालीको जीवनस्तर माथि उठ्ने गरी आर्थिक परिवर्तन पनि आउने अपेक्षा नेपाली जनताले गरेका थिए तर सम्पूर्ण रूपमा चाहे जस्तो नहुँदा अहिले आमनेपालीले व्यापक गुनासो गर्ने गरेका छन् । यसरी आर्थिक र सामाजिक परिवर्तन नभई राजनीतिक परिवर्तनले मात्र गणतन्त्रको लक्ष्य पूरा हुन कठिन हुन्छ । वास्तवमा अहिलेको गणतन्त्रको मुख्य चुनौती पनि गणतन्त्रको मर्मलाई नेपाली जनताको मुहारमा खोज्नु हो ।
नेपाली कांग्रेसको नेतृत्वमा भएको लामो सङ्घर्ष र महान् सहिदका बलिदानीले १०४ बर्से निरङ्कुश राणा शासन अन्त्य गरी २००७ सालमा नेपालमा प्रजातन्त्र प्राप्त भयो । त्यतिबेलाका राजा त्रिभुवनले जालझेल गरेर घोषित संविधान सभाको निर्वाचन नगराई बल्ल २०१५ सालमा आमनिर्वाचन भयो । नेपाली कांग्रेसको दुई तिहाइको सरकार बनेको थियो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारलाई अपदस्थ गरेर ३० वर्षसम्म स्वेच्छाचारी पञ्चायती शासन सञ्चालन गरे । पञ्चायती शासनको पीडा भोगेका नेपालीमध्ये केही अझै जीवित छन् । यता आएर सत्याग्रह, जनमतसङ्ग्रह गर्दै २०४६ मा लामो सङ्घर्षबाट पहिलो जनआन्दोलनपछि नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भयो । त्यसपछि संवैधानिक राजाबाट शासन सञ्चालन भइरहेकामा २०५८ सालमा राजा वीरेन्द्रको वंश नाशपछि राजा बनेका ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा शासन सञ्चालन गरी निरङ्कुशतन्त्र लागु गरे । नेपाली जनतालाई गणतन्त्रसम्म पु¥याउन राजा महेन्द्रका २०१७ पुस १ गतेको घटनासँगै राजा ज्ञानेन्द्रको निरङ्कुश सर्वसत्तावादसमेत हो ।
नेपाली जनता कुनै पनि निरङ्कुशता सहन गर्न सक्दैनन् । राजाले नै अति निरङ्कुशता लादेपछि नेपाली जनताले गणतन्त्रको मार्गचित्रमा कठिन राजनीतिक आन्दोलन गर्नु परेको इतिहासमा सुस्पष्ट छ । नेपालमा प्रजातन्त्रको सुरुदेखि नै राजाहरूले नेपाली जनतालाई धोका दिँदै आएका अनेक इतिहास छन् । यो त प्रतिगमनविरुद्धको आन्दोलनमा राजधानी उपत्यकाका तीन सहरमै खुट्टा टेक्ने ठाउँ नहुने गरी आन्दोलनकारीका रूपमा नेपाली जनताको उभार आयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको केही लागेन । त्यसको परिणामस्वरूप २०६३ वैशाख १० गते राति संसद् ब्युँताउन बाध्य भएकाले गणतन्त्रको आधार बनेको हो र अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक राजनीतिक प्रणाली सञ्चालनमा रहेको छ ।
इतिहासका सुस्पष्ट आधार र कारणबाट नेपालबाट राजतन्त्र सत्ताच्युत भएको स्पष्टै छ । नभए त नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाले अन्तिमसम्म मेरो र राजाको घाँटी जोडिएको भन्नुभएकै हो । जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइराला पनि अन्तिमसम्म ‘बेबी किङ’ को पक्षमा र गणतन्त्रको विपक्षमा रहनुभएको त्यतिबेलाका आन्दोलनकारीलाई ज्ञात भएकै हो । यसरी परिवर्तनका महत्वपूर्ण मोडमा नेपाली राजनीतिको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नेताले अन्तिम घडीसम्म पनि राजालाई साथ दिँदा पनि राजा निरङ्कुश बनेकाले नै बाध्य भएर अन्तिम घडीमा गणतन्त्रको माहोल बनेको विश्लेषण गर्न सकिन्छ । यसरी नेपालमा गणतन्त्र आउनमा नेताहरूको कम र बढी दोष राजाहरूकै निरङ्कुशता जिम्मेवार छ । अनेक उदाहरणमा ज्ञानेन्द्र शाह त्यतिबेलाको मन्त्रीपरिषद्को आफैँ अध्यक्ष बनेका होइनन् र ? अनि फेरि केको नयाँ सपना ? अब गणतान्त्रिक संविधानमै नेपाली जनताको भविष्य छ । कुनै पनि व्यवस्था चुनौतीविहीन हुँदैन । गणतन्त्रसामु कडा चुनौती छन् । जनताको समृद्धिको सपना पूरा गर्नु छ । गणतन्त्रका पक्षधर यो विषयमा अहिले नै गम्भीर हुन जरुरी छ । अहिले भ्रष्टाचार र बेथिति छ भन्ने कुरा नेताहरूले नै स्वीकार गरेको कुरा हो । भ्रष्टाचारको शून्य सहनशीलता कार्यान्वयनमा आउनु पर्छ, जनताले अनुभूत गर्नु पर्छ । दैनिक तीन हजार हाराहारीका युवा खाडीसमेत गरी विदेश जान बाध्य भएका छन् । तिनले स्वदेशमै सपना साकार पार्न सक्नु पर्छ । कृषिप्रधान देश भनिएको नेपालमा उत्पादनमूलक कृषि नीतिको अभावले आत्मनिर्भर हुन नसकेर परनिर्भर हुनु परेको छ । नेपाली जनतालार्य निराश हुन दिनु हुन्न ।
राजनीतिमा जनता सर्वोपरि हुने गरेको विश्व राजनीतिक इतिहास सबैसामु रहेकै छ । त्यसमा पनि अहिले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली रहेकाले यो व्यवस्थामा झन् जनता सर्वोपरि हुने नै भए । सुशासन अपरिहार्य छ । कसैबाट पनि गलत काम हुनु हुँदैन । बन्द गरेर जनतालाई जीवन जिउने उपाय र समन्यायको वातावरण बनेमा कुनै पनि विरोध समर्थनमा परिवर्तन हुन पनि सक्छ । यसका लागि तत्कालै सम्पूर्ण विकृति बन्द गर्न जरुरी छ । नेता र कर्मचारीले अहिलेको सोच र काम गर्ने शैलीलाई आत्मालोचना गरेर सच्चिन आवश्यक छ ।
कुनै पनि समस्याको समाधान संविधानबाटै खोज्नु पर्छ । अब जनताको अधिकार खोस्ने गरी कुनै पनि निरङ्कुशतन्त्रको सपनामा जनतालाई भ्रममा पारेर देशले सही गन्तव्य हासिल गर्न सक्दैन । निरङ्कुशतन्त्रमा राजाका आसेपासे भएर लुट मच्चाएकाले नै फेरि राजा ल्याउने सपना देख्दै छन् । त्यो सम्भव छैन । लोकतान्त्रिक व्यवस्थामा नेता, राजनीतिक दल सुध्रनै पर्छ, सुधार गर्न सकेनन् भने आवधिक निर्वाचनले सत्ताबाट सजिलै हटाउँछ । निर्वाचनबाटै जनताको शासनको अभ्यास हुने लोकतान्त्रिक व्यवस्थाको विकल्प खोज्नु आफैँमा समस्या हो । त्यस्तो गलत दिशामा आधुनिक युग जान सक्दैन । समय पछाडि फर्कन सक्दैन । लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र, अझ बढी जनप्रिय गणतन्त्र हुन सक्छ । प्रत्येक नेपाली जनमतका आधारमा देशको नेतृत्व गर्न सक्छ । मधेशमा सामान्य किसान परिवारमा जन्मेर डा. रामवरण यादव राष्ट्रपति हुनुभयो । विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो । राजनीतिमा सामान्य परिवारबाट उठेर लोकतन्त्रका निम्ति कठोर आन्दोलन र कारावास सहेका रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुन्छ । नेपाल अब वंशवादको कुरूप युगमा जान सक्दैन ।
नेपालमा गणतन्त्र आएको लामो समय नभएको भए पनि जे जति अवधि अनुभव गरियो, यसैलाई आधारस्तम्भ मानेर मौजुदा संविधानमा आवश्यक सुधार र परिमार्जन गरी मिलनविन्दु ल्याउन आवश्यक देखिन्छ । वर्तमान सरकारको महत्वपूर्ण एजेन्डा संविधान संशोधन गर्ने भन्ने रहेकै छ । यही आधार बनाएर अहिलेका तमाम समस्या समाधान गर्ने गरी संविधान संशोधन गर्न सकिन्छ । जसमा समग्रमा खर्च कम गर्ने उपाय, ऋण मुक्त गर्ने र समग्रमा नेपाललाई आत्मनिर्भर गराएर विश्वसामु विकसित मुलुकका रूपमा खडा गराउने उपाय पहिल्याउनु नै हुने छ । आखिर हामी सबैको अन्तिम उद्देश्य भनेकै नेपाल र नेपालीको हित र भलो गर्ने नै हो । यसो भएकाले हिजोकै रूप कसैले पनि गर्नुभएन । यसो गर्न सम्भव पनि देखिँदैन । अब पनि यसो गर्दा नेपाली जनताका लागि पाच्य नहुने अनुभूति भइसकेको छ । यसै गरिरहने हो भने जो पनि उछिट्टिन सक्छ । अहिलेको अवस्था उछिट्टिन र उछिट्याउने होइन । सबै मिलेर उभिने, नेपाल र नेपालीलाई विश्वसामु स्वतन्त्र, सक्षम र स्वाभिमानी राष्ट्रका रूपमा उभ्याउने हो । यसका लागि समग्रमा नेपाली जनताको चाहना अवस्था र आवश्यकतालाई ध्यानमा राखी आत्मालोचनाका साथ अहिलेका समस्याको समग्रमा निकास निकाल्नु नै सबैको हितमा सत्तापक्षको बुद्धिमानी हुने छ । गणतन्त्रमा अहिले देखिएका चुनौतीको समाधानको उपाय पनि यही हुने छ ।