• २४ जेठ २०८२, शनिबार

सल्यानमा जिप दुर्घटना : घाइतेमध्ये एक जनाको मृत्यु

blog

कपुरकोट, ३ लामिडांडामा आइतबार भएको जिप दुर्घटना । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, जेठ १२ गते ।
सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारकै क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यान–दाङ जोड्ने वैकल्पिक मोटरबाटो कपुरकोट–लामिडांडा–सातबास खण्डअन्तर्गत कपुरकोट, ३ मा आइतबार लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो । घाइते नौमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ ।

भिमाको उपचारकै क्रममा नेपालगन्जस्थित नर्सीङ होममा आइतबार करिब १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी, अन्य घाइतेहरु ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहराको अहिले उपचार भइरहेको छ । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । 

त्यस्तै, सामान्य घाइते भएका ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महतारा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किनुभएको छ ।