बैतडी समाचारदाता
बैतडी, जेठ १२ गते । द्वन्द्वको पीडा भुल्न पीडितहरू सिर्जनशील कर्ममा आफ्नो ध्यान लगाउन थालेका छन् । माओवादी पूर्वअयोग्य लडाकु नन्दराम वड प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट फर्निचर मेकर उत्तीर्ण गरेर काष्ठकलामा लाग्नुभएको छ । अर्का द्वन्द्वपीडित धर्मराम वड आकर्षक खोलदेली (काठको मौलिक ढोका) निर्माण गर्दै आउनुभएको छ ।
बैतडी सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार आयोजना गरेको द्वन्द्वपीडितसँग अन्तर्क्रिया कार्यक्रममा नन्दराम वडले द्वन्द्वको पीडा भुल्न काष्ठकलाको कार्य गर्न लागेको बताउनुभयो । उहाँले इन्सेक प्रतिनिधिलाई आफैँले निर्माण गरेको काठको मायाको चिनोसमेत प्रदान गर्नुभयो ।
राज्यले अयोग्य भनेर घर पठाएपछि नन्दराम वडले सिटिइभिटीबाट फर्निचर मेकर तह १ र २ को तालिम लिएर योग्य बनेको बताउनुभयो । उहाँहरू अहिले दशरथ चन्द नगरपालिकाले आयोजना गरेको काष्ठकलासम्बन्धी २० जना अन्य युवालाई तालिमसमेत दिइरहनुभएको छ । द्वन्द्वपीडितको अवस्था र सङ्क्रमणकालीन न्यायका विषयमा अन्तर्क्रिया गर्न बैतडी पुग्नुभएका इन्सेकका सुदूरपश्चिम संयोजक खड्कराज जोशीले द्वन्द्वपीडित युवाद्वय वडको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा अधिकांश पीडितले अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् । राज्य र तत्कालीन विद्रोही माओवादीबिच २०६३ मा शान्ति सम्झौता हुँदा द्वन्द्वपीडितका समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको द्वन्द्वपीडत भूमिका भुल (सुशीला) ले गुनासो गर्नुभयो । उहाँले द्वन्द्वपीडितलाई राज्यले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । द्वन्द्वपीडितको न्यायका लागि इन्सेकले सुदूरपश्चिमका सबै जिल्ला पुगेर भेटघाट तथा अन्तर्क्रिया गर्दै आइरहेको इन्सेकका सुदूरपश्चिम संयोजक खड्कराज जोशीले बताउनुभयो । उहाँले द्वन्द्वपीडितको गुनासो राज्यका आधिकारिक निकायसम्म पु¥याउने बताउनुभयो ।
अन्तर्क्रिया कार्यक्रममा सहिद परिवारका द्वन्द्वपीडित धर्मराम वडले सङ्क्रमण्कालीन न्यायको टुङ्गो लगाएर द्वन्द्वपीडित परिवारलाई राज्यले सिप सिकाएर रोजगारीको अवसर दिनुपर्ने बताउनुभयो । सहिद, घाइते तथा बेपत्ता भएका परिवारलाई स्थानीय तहको सरकारलेसमेत रोजगारी नदिएको पीडितले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बैतडीमा द्वन्द्वको समयमा १६४ जनाको मृत्यु भएको थियो भने २६ जना बेपत्ता भएका थिए । त्यसै गरी ६२ जना अङ्गभङ्ग भएका छन् भने २६५ परिवार विस्थापित भएका थिए । अधिकांश द्वन्द्वपीडित न्यायको पर्खाइमा रहेको इन्सेक बैतडी प्रतिनिधि नरिदत्त बडूले बताउनुभयो ।