• १० जेठ २०८२, शनिबार

अभिनय [कथा]

blog

म आफैँसँग मुस्कुराएँ, जो कसैले देखेन । 

भर्खरै प्रधान कार्यलयमा रहेका कन्ट्री डाइरेक्टरलाई इमेलमार्फत राजीनामापत्र पठाएको छु । मलाई अफिस छोड्ने चाहना थिएन तर बदलिँदो परिस्थितिमा अफिस रोज्नुभन्दा छोड्नु उचित देखेँ ।  

पछिल्लो साता मेरा दैनिकी निकै बोझिला भएका थिए । अफिसको गेटबाट भित्र छिर्न मन लाग्दैनथ्यो । कार्यकक्षमा बस्दा अपमानबोधले छटपटाउथेँ । राजीनामापत्रले एकाएक हल्का महसुस गरायो । टेबुलको फोन उठाएर किचनको एक्स्टेन्सन नम्बर डायल गरेँ । पहिलो घन्टीमै फोन उठाउँदै बोल्यो, “हजुर सर ।”

“राधेश्याम,” मैले भनेँ, “मलाई चिया बनाइदेऊ ।”

“हस् सर ।” फोन राख्यो । 

परियोजनाका लागि काम गर्न नेपालगन्ज आउँदै गर्दा मेरो सर्त पैसा मात्र थिएन; नेपालगन्ज र वरिपरिको सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष समेटेर पुस्तक लेख्नु थियो । त्यसका लागि मैले काठमाडाँैमा खाइरहेको परियोजनाकै जागिर छोडेको थिएँ । परियोजनाको जागिर स्थायी त हुँदैनन् तैपनि बिरलै मान्छे काठमाडौँ छोडेर मोफसल जान्थे । मलाई पनि बुवा र दिदीले किन बाहिर जाने भनेर सोध्नुभएको थियो । केही नजिकका साथीले यस्तो निर्णय नलिनू भनेका थिए । देशका सबै भूभागको अनुभव लिनु पर्छ भन्दै म आफ्नो निर्णयमा अडिग रहेँ, उनीहरूलाई किताब लेख्ने योजना चाहिँ सुनाइनँ । 

नेपालगन्जमा म परियोजनाको क्षेत्रीय प्रमुख भएर पुगेको थिएँ । अफिसका सबै कर्मचारी नियुक्त भएर काम अगाडि बढाइरहेका थिए । म उनीहरूलाई नेतृत्व प्रदान गर्न आइपुगेको थिएँ । मेरो कामको सुपरभिजन प्रधान कार्यालयमा बस्ने परियोजना प्रमुखले गथ्र्याे तर छ महिनादेखि परियोजना प्रमुखसँग मेरो द्वन्द्व चर्किएको थियो अर्थात् मेरो आफ्नै सुपरभाइजरसँग खटपट बढेको थियो; जसको बदला उसले एक वर्ष पुगेपछि मेरो कार्यसम्पादन कमजोर देखाएर लियो । 

“सबैको तलबभन्दा मेरो किन बढेन ?” मैले एक साताअघि कन्ट्री डाइरेक्टरलाई सोधेको थिएँ । 

“कार्यसम्पादनको कारण,” कन्ट्री डाइरेक्टरले भन्यो, “तपाईंको सुपरभाइजरको रिकमेन्ड नै त्यस्तै छ । तीन महिनापछि पुनः रिभ्यु हुन्छ, अनि हेरौँला ।”

करिअरको १२ वर्षमा पहिलो चोटि मेरो कार्यसम्पादन यति कमजोर थियो कि अफिसको पोलिसीले तोकेको न्यूनतम तलब वृद्धिका लागि पनि अयोग्य ठहरिएँ । तीन महिनापछि पुनः समीक्षाका नाममा थप मानमर्दन हुनेवाला थियो । सुपरभाइजर आफू निष्पक्ष भएको अभिनय गरिरहेको थियो । त्यसैमा मैले पनि एउटा अभिनय गरिदिएँ– काठमाडौँ फर्कनुपर्ने बाध्यता देखाएर राजीनामा ।  

ल्यापटपको स्क्रिनमा आँखा दौडाइरहेको बेला ढोका धकेलियो । एयर कन्डिसनले राम्रोसँग काम गरोस् भन्नका लागि ढोका बन्द नै राखिन्छ । राधेश्याम चियाको कप बोकेर टेबलतिर आयो । 

“धन्यवाद राधेश्याम,” मैले ऊतिर नियाल्दै भनेँ । 

ऊ केही बोलेन, मुस्कुरायो मात्र । कालो वर्णको राधेश्याम मुस्कुराउँदा उसका दाँत चम्किला देखिन्थे । ऊ एस्ट्रे झुन्ड्याएर ढोकातिर बढ्यो । 

म चियाको चुस्की लगाउन थालेँ । दुधचिया मलाई असाध्यै मन पर्छ । पछिल्लो साता भने दुधचिया पनि खल्लो लागेको थियो । कुनै पनि वस्तुको स्वाद मनस्थितिले पनि फरक पार्दाे रहेछ । पछिल्लो समय छटपटीको कारण मन पर्ने चियाको स्वाद पनि मिठो भएन ।   

त्यसपछि चियाको चुस्की लगाउँदै केही साथीलाई फोन घुमाएँ । सारमा सबैलाई एउटै सन्देश दिएँ कि म अब काठमाडौँ फर्किंदै छु । अब पहिले झैँ भेटघाट र चिया पिउने काम बाक्लिन्छ । साथीभाइपछि दिदी र बुवालाई पालैपालो फोन घुमाएँ । 

“किन छोड्न लागिस् ?” दिदीको प्रश्न स्वाभाविक थियो । 

“नेपालगन्जको गर्मीमा टिक्न गाह्रो भयो,” मैले बहाना गर्दै भनेँ । 

“पहिले थाहा थिएन र ?” 

“थाहा थ्यो तर थेग्न सकिएला जस्तो लागेको थियो ?” मैले भनेँ, “अब राजीनामा दिइसकेँ, काठमाडौँ फर्केर नयाँ काम खोज्छु ।”

“कामको चिन्ता नगर,” दिदीले भन्नुभयो, “नभेटिन्जेल घरै आएर बसे हुन्छ ।”

दिदीको सुझाव नराम्रो थिएन तर वैशाख, जेठमा धरान पनि गर्मी नै हुन्थ्यो । भलै नेपालगन्ज जति गर्मी हैन । काठमाडौँ बस्ने बानी भएकाले धरान पनि गर्मी लाग्न थालेको थियो । 

मन चङ्गा भए पनि अफिसको काममा खासै ध्यान दिइनँ तर निस्फिक्री भएर दिन बिताएँ । साँझ कोठामा फर्केपछि कन्ट्री डाइरेक्टरको फोन आयो । उनले पनि घर पुगेर मलाई कल गरेका रहेछन् । कन्ट्री डाइरेक्टरले काठमाडौँबाहिर बसेर काम गर्ने कर्मचारीसँग फोन संवाद बिरलै गर्थे । 

“राजीनामा एक पल्टलाई कन्सिडर गर्ने कि ?” उनले सुझाव दिए । 

“नगर्ने सर”, मैले भनेँ, “अब छोड्ने निर्णय गरिसकेँ ।”

“तपाईंको लाइन म्यानेजरसँग कुरा मिलिरहेको छैन,” उनले सम्झाउँदै भने, “तर प्रोजेक्टका लागि तपाईंहरू दुवै जना चाहिन्छ ।”

“मैलै निर्णय लिइसकेँ सर,” मेरो द्वन्द्व कन्ट्री डाइरेक्टरसँग नभएकाले नम्र हुँदै बोलेँ, “सरले राजीनामा स्वीकृत गरिदिनुहोला ।”

क्षेत्रीय अफिसमा हामी छ जना स्टाफ थियौँ । सधैँ अफिस पुगेको आधा घण्टाभित्र राधेश्यामले सबैलाई चिया खुवाउँथ्यो । राजीनामा दिएको भोलिपल्ट चिया खाने समयमा सबै सहकर्मीलाई मेरो कार्यकक्षमा बोलाएँ । चियाको चुस्की मार्दै कुराकानी सुरु भयो । 

“अनि राजीनामा स्वीकृत भयो ?” वित्तीय शाखाको सहकर्मीले सोध्यो । 

“भइसकेको छैन”, मैले भनेँ, “तर हुन्छ । मैले कन्ट्री डाइरेक्टरलाई भनिसकेँ ।”

राजीनामाको कारण जे देखाएको थिएँ, त्यो पूर्ण रूपमा बहाना थियो । व्यावसायिक जीवनमा अक्सर कुनै पनि द्वन्द्वका कारणहरू खुलेर बताइँदैन रहेछ । अभिनयमा असन्तुष्टिका सङ्केतहरू दिनुपर्ने रहेछ । पानीमाथिको ओभानो हुन खोजिँदो रहेछ । 

“कस्तो नरमाइलो लाग्यो,” सामाजिक परिचालकले भनिन् ।  

“किन पिर मान्नुहुन्छ ?” मैले सान्त्वना पोखे झैँ गरेँ, “जीवन रहेसम्म भेटिने, छुटिने चलिरहन्छ । हामी फेरि अर्को प्रोजेक्टमा भेटिन सक्छौँ ।”

मिटिङ सकिँदा उनीहरूमा एक किसिमको उदासी थियो । भलै यो उदासी पनि उडेर जाने छ । मलाई पनि सहकर्मीसँग छुट्टिने दिन सम्झेर नरमाइलो लाग्यो तर एक साताको मानसिक तनाव हटेकाले खुसी थिएँ । 

मिटिङ बसिरहेको समयमै सुपरभाइजरको फोन आएको थियो । कलब्याक गर्ने म्यासेज पठाएर फोन काटेँ । सबै सहकर्मी बाहिरिएपछि मैले कलब्याक गरे ।  

“किन राजीनामा दिहाल्नुभएको ?” उनले भने, “तीन महिनापछि रिभ्यु हुन्थ्यो ।”

लाइन म्यानेजरको आवाज पहिलेको तुलनामा निकै नरम थियो । सायद उनलाई कन्ट्री डाइरेक्टरले दबाब दिएका हुन सक्छन् । आफ्नो आकलनमा आफैँ खुसी भएँ । उनीमाथि दबाब दिन सकेको भान भयो । भलै म अफिस छोड्ने कुरामा पक्का छु ।  

“रिभ्यु पर्खेर नबस्ने अब,” मैले व्यङ्ग्यात्मक रूपमा भनेँ, “बाह्र महिनामा देखाउन नसकेको क्षमता, अबको तीन महिनामा कहाँबाट ल्याउने ?”

“कोसिस गर्ने हो नि ?” 

“काम गर्न थालेको १२ वर्ष भयो सर”,  मैले भनेँ, “यत्तिका वर्षमा धेरै कुरा नजाने पनि कति समयमा के गर्न सकिन्छ ? त्यो चाहिँ ठम्याउँछु ।”

“राजीनामा १५ दिनपछाडि धकेल्नु न त,” अब उनले आफ्नो स्वार्थ देखाए, “यसपालिको क्वाटर्ली रिपोर्ट चाहिँ तयार गरेर जानुहोस् ।”

“सर जस्तो ट्यालेन्टले क्वाटर्ली रिपोर्टको किन चिन्ता लिनुहुन्छ ?” मैले फेरि प्रहार गरेँ, “यसपालि तपाईंले गर्नुस् । अर्को पल्ट त मेरो ठाउँमा नयाँ मान्छे आइहाल्छ ।”

उनले अवाक् भएर फोन राखे । ममा ६ महिनादेखिको द्वन्द्वमा विजयभाव थियो । कार्यालयको नीति अनुसार मैले एक महिनाको समयसीमा तोकेर राजीनामा दिएको थिएँ । मैले महिना दिनसम्म उही सुपरभाइजरको मातहतमा काम गर्नु पथ्र्याे तर यो प्राविधिक कुरा थियो । मनोवैज्ञानिक रूपमा अब म स्वतन्त्र भइसकेको थिएँ । अझ मैले पाउने बिदा कटाउँदा २३ दिन मात्र अफिस आउनु पथ्र्याे । बिचमा छ वटा साप्ताहिक बिदा पनि पथ्र्याे ।  

पीडामा समय जति बोझिला हुन्छन्, खुसीमा हुँदैनन् । हेर्दाहेर्दै समय बित्यो । म निकै प्रसन्न मुद्रामा अफिस गेट क्रस गरेर भित्र आएँ । कार्यकक्ष एकपल्ट नियालेँ, जहाँ मेरो अन्तिम दिन थियो । 

गर्नलाई खासै काम थिएनन् । बिदाइको इमेल लेखेर परियोजनामा आबद्ध सबैलाई पठाएँ । प्रायःले मेरो उज्ज्वल भविष्यको कामना गर्दै छोटो प्रतिक्रिया दिए तर सुपरभाइजरको भने अरूको भन्दा लामो जवाफ आयो । जसको सार– 

तपाईंसँग सहकार्य गर्न पाउनु एउटा राम्रो अवसर थियो । तपाईंको मेहनत र लगावले मलाई पनि दत्तचित्त भएर जिम्मेवारी वहन गर्न सिकाएको छ । आशा छ, भविष्यमा फेरि सहकार्य गर्ने मौका मिल्ने छ । धन्यवाद ! 

भविष्यमा हामी सहकार्य गर्दैनौँ भन्ने पक्का छ । फेरि इमेल पढेर मुस्कुराएँ । ३ बजेतिर अफिसको ल्यापटप र अन्य सामग्री प्रशासन शाखामा बुझाएँ । त्यसपछिको आधा घण्टा बिदाइ कार्यक्रम चल्यो । छुटिनुपर्दाको नरमाइलोपन पोख्दै सबैले मेरा गुनगान गाए । 

“दुनियाँ गोलो छ,” मैले कुराको बिट मार्दै भनेँ, “सायद आउँदा दिनमा पनि हामी डेभलपमेन्ट सेक्टरमै काम गर्छौं । काम गर्ने क्षेत्र एउटै भएपछि अफिस बदलिएर केही हुँदैन । कुनै न कुनै रूपमा भेट भइरहन्छ ।” 

बिदाइ कार्यक्रम सकिएपछि सबैले पालैपालो मसँग फोटो खिचाए । कार्यकक्षमा आउँदा मलाई सुनसान अनुभूति भयो । मसँग अब केही थिएन । कार्यालय समय अझै एक घण्टा बाँकी थियो तर गर्नलाई केही काम थिएन । सहकर्मीको हरेक कोठामा गएर पालैपालो बिदा मागेँ ।  

सधैँ झैँ मसँग ल्यापटप र डायरी बोक्ने झोला थिएन । म रित्तो भएर अफिसबाट निस्किएँ । गेटतिर बढ्दै गर्दा बिरानो अनुभूति भयो । तैपनि खुसी छु भनेर मुहार उज्यालो बनाउने कोसिस गरेँ ।  

“ल राम्ररी बस्नुस् है,” गेट खोल्न आएको पाले दाइलाई हात दिँदै बोलेँ । 

आजसम्म ऊसँग हात मिलाएको थिइनँ । केवल उसको नमस्कार फर्काएको थिएँ । उसले मलाई हात दिनुभन्दा पहिले निधारनिर पु¥याएर स्यालुट मा¥यो । पहिले यसो गर्दैनथ्यो । त्यसपछि हात मिलाउँदै भन्यो, “राम्ररी जानुहोला सर ।”

“हुन्छ,” मैले हात छुटाउँदै भनेँ ।

पालेदाइको बोली र व्यवहारमा अभिनय देखिनँ । एकैछिनमा गेटको सँघार नाघेर अघि बढ्दै थिएँ । पछाडि फर्केर हेरिनँ, केवल कानमा गेट बन्द गरेको आवाज ठोक्कियो । 


  

Author

भानु बोखिम