• १० जेठ २०८२, शनिबार

श्रीअन्तुमा अल्झेको मन

blog

मलाई नेपालभरि 

अलि अलि इलाम छर्न मन लाग्यो

कवि भूपि शेरचनको कविता पढेको बर्सौंअघि हो । कुन्ती मोक्तान र बुलु मुकारुङको स्वरमा ‘इलामे सहर चियाबारी राम्रो, त्यही प¥यो घर हाम्रो’ गीत सुनेको उहिल्यै हो । भूपिको कवितांश ‘चियाबारीमा उभिएर आफूलाई दिउँसै लिलाम गर्न मन लाग्यो’ यति धेरै पढियो तर पैतालाले चियाबारीमा टेक्‍न, श्रीअन्तुको झुल्‍के घाम हेर्न अनि हरिया फाँटमा आँखा डुलाउँदै मगनमस्त हुन मौका मिलेको थिएन । 

नेपालका पर्यटकीय गन्तव्यको प्रवर्धन गर्न परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले ‘डेलिगेसन रिट्रिट’ आयोजना गरेपछि श्रीअन्तुको झुल्को घाम हेर्ने मौका मिल्यो । 

हवाईमार्ग हुँदै काठमाडौँबाट झापाको भद्रपुर विमानस्थल ओर्लिएपछि नागबेली घुम्ती पार गर्दै इलामको सौन्दर्य मनमा खेलाउँदै कन्याम पुगियो । समुद्र सतहबाट छ हजार फिटमा रहेको कन्याम पुग्दा सूर्योदय नगरपालिका स्वागतका लागि तयारी अवस्थामा थियो । विभिन्‍न सांस्कृतिक बाजा, पहिरन, नृत्य र झाँकीसहित नगरपालिकाका प्रमुख रनबहादुर राईले पाहुनालाई भव्य स्वागत गर्नुभयो । नेपालको संस्कृति र प्रकृतिबारे सुनेका राजदूतहरू बादलको घुम्टो ओडेर, कुहिरोको पछ््यौरी बेरिरहेको कन्याम देखेपछि मोहित नहुने कुरै भएन । बेलायती राजदूत रब फेनलाई सोधेँ, “कस्तो लाग्यो कन्याम ?” बेलायती लबजमा नेपाली बोल्‍न खोज्दै उनले जवाफ फर्काए, “धेरै राम्रो ।” सँगै उभिएकी उनकी धर्मपत्‍नी जुलिया फेनले थपिन्, “आई ह्याड अल्बेज् नन् नेपाल एज् दी ल्यान्ड अफ मजेस्टिक माउन्टेन्स्, बट, दी ग्रिन हिल्स् अफ इलाम टच माई हार्ट ।” 

कन्यामको चियाबारीमा उभिँदा लाग्यो– प्रेम चौलागाईंले कन्यामलाई स्वर्ग यतिकै भनेका होइन रहेछन् । आन्तरिक पर्यटकको भिड, हातमा क्यामरा, आँखामा हर्ष र मनमा शान्ति । पाहुनाले पनि त्यही अनुभूति सँगाले होलान् र त जुलियाले मन छोएको कुरा अभिव्यक्त गर्नुभएको थियो ।  

पाहुनाको स्वागतका लागि सूर्योदय नगरपालिकाका प्रमुख राईले गरेको स्वागत देख्‍दा लाग्‍यो ७ ‘अ’ (अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन (दुध), अम्लिसो, आलु) मा थपिएको ८ औँ ‘अ’ आतिथ्य सत्कारले पनि न्याय पायो । नगरपालिकाले पाहुनाका लागि घोडसवारीको व्यवस्था गरेको थियो । घोडसवारीपछि कन्यामको चियाबारीमा राजदूतहरूले मनमौजी भएर तस्बिर र भिडियो खिचे ।  बेलुकाको बसाइ अन्तुमा रहेको होटेल हिल टावरमा थियो । कन्यामबाट अघि बढ्दै जाँदा गाडीमा सँगै रहनुभएका परराष्ट्र सचिव अमृतबहादुर राईसँग इलाममा चियाखेती कसरी सुरु भयो, स्थानीयले किन अरू खेती गर्दैनन्लगायतका विषयमा कुरा गर्दै करिब १४ किलोमिटरको नागबेली घुम्ती पार गरियो । 

बेलुका ७ बजे बास बस्‍ने ठाउँमा पुग्‍यौँ । त्यहाँ पनि नगरपालिकाको व्यवस्थापनमा स्थानीय वेशभूषा र झाँकीको प्रस्तुति थियो । नयाँ वर्षको चापका कारण कोठा पाउन त्यति सहज थिएन । यद्यपि  लामो प्रयत्नले ४० जनाको टोलीलाई कोठा व्यवस्थापन र अन्य तयारीलाई सहज बन्यो तर ‘आतिथ्य सत्कार र विदेशी पाहुनालाई कस्तो व्यवहार गर्ने भन्‍ने विषय परराष्ट्रका अधिकारीलाई सिकाउनुपर्ने रहेछ’ भन्ने मनमा नलागेको होइन । यो देश यत्तिकै बिग्रेको होइन रहेछ, नागरिक सेवा र देशको ऐना बन्‍नुपर्ने परराष्ट्र मन्त्रालयका ती कर्मचारीको व्यवहार देख्दा मुलुकको कूटनीति किन कमजोर हुने रहेछ भन्‍ने बुझ्न थप सहज भयो । 

दिउँसो इलामको हराभरा भूमि, निलो आकाशमुनि फैलिएको चियाबारी र पहाडको काँधमा फिँजिएको कुहिरोमा जति रमाए पनि मानव शरीर न हो– थाक्छ । भोकाउँछ । बेलुकाको खानापछि सबैले निद्रादेवीलाई प्यारो बनाए नै । २०८२ को पहिलो बिहान श्रीअन्तु डाँडाबाट किरण छर्दै गरेको सूर्योदयको अवलोकनसहित सुरुवात गरियो । सूर्योदयको अवलोकनपछि अलैँची राखेको चिया र चामलबाट बनेको नेपाली परिकार ‘भक्का’ खाँदै स्थानीय उत्पादनबारे स्थानीयसँग जानकारी लिँदै अन्तुमा ओर्लियौँ । 

नगरपालिकाले कुन समयमा कहाँ जाने भनेर तालिका बनाएको थियो । सोहीबमोजिम राजदूतहरूले अन्तु पोखरीमा माछा मार्ने र डुङ्गा सयर गरे । कसैले बल्छीमा माछा पार्न सकेनन् तर श्रीलङ्काली राजदूत सिआर मुनासिङ्गेले तीन वटा माछा पारेपछि भनिन्– “हामी त समुद्री देशको मानिस, माछालाई चिनिहाल्छौँ नि !” अरूहरूले पनि हो नि भन्दै साथ दिए । करिब दुई घण्टाको डुङ्गा सयर र माछा मार्ने काम सकिएपछि ‘चिया टिप्‍ने प्रतियोगिता’ राखिएको थियो । अन्तु पोखरीको पारिपट्टि डाँडामा नगरपालिकाले व्यवस्थित गरेको चियाबारीमा चिया टिप्ने प्रतियोगितामा सहभागी राजदूतहरू घाँटीमा टोकरी झुन्ड्याएर कसले बढी टिप्‍न सक्छ भन्दै प्रतिस्पर्धा गर्न थाले । त्यो केवल रमाइलो पल मात्र थिएन, त्यो एक सांस्कृतिक संवाद थियो– जहाँ अतिथि नेपाली माटोको सुगन्ध लिँदै थिए ।


त्यसपछि नेपाल टी एन्ड कफी डेभलपमेन्ट बोर्डले विभिन्‍न २० वटा परिकारका चियाको स्वाद पाहुनालाई चखाउँदै थियो । चिया टिपेपछि राजदूतहरू हिँड्दै, मुस्कुराउँदै चियाको चुस्की लगाउन थाले । उनीहरूले चियाका परिकारबारे स्थानीयलाई सोध्‍न थाले । स्थानीयले कुन चिया कसरी बनाइन्छ भनेर जानकारी गराएका थिए । चियाको चुस्की सकिन नपाउँदै नगरपालिकाले कसले बढी चिया टिप्यो भनेर घोषणा गर्न थाल्यो । सबैभन्दा धेरै टिप्‍नेले पाँच सय ग्राम र कम टिप्‍नेले ३५० ग्राम चिया टिपेका रहेछन् । बढी टिप्‍नेले कम टिप्‍नेलाई जिस्काउँदै कूटनीतिज्ञहरू रमाउँदै होटेलतिर फर्किए । होटेलमा दिउँसो खाना खाइसकेपछि एकछिन आराम गरेर तल झर्दा त्यहीँ स्थानीय रूपमा उत्पादित ‘चिज टेस्टिङ’ राखिएको थियो । सँगै थियो एक चुस्की हर्बल वाइन । त्यसलाई स्थानीय रूपमा ‘स्यालको रक्सी’ भनिने रहेछ । त्यसको गजबको प्रसङ्ग बोर्डका सिइओ दीपक जोशीले सुनाउनुभयो । स्थानीय जडीबुटीबाट बनाइने उक्त वाइनलाई स्याल कराउने बेला बनाउने भएकाले ‘स्यालको रक्सी’ भनिएको रहेछ । सन्तोष पन्तले त्यसलाई अङ्ग्रेजी बनाउन थाल्‍नुभयो र भन्‍नुभयो, “फक्स वाइन ।” यसलाई ‘फक्स वाइन’ का रूपमा ब्रान्डिङ गर्न सके पनि चल्थ्यो होला नि भन्‍ने विषयमा एकछिन गफियौँ सबै जना । 

राजदूतहरूको घुम्ने कार्यक्रम सकिएपछि बोर्डको टिम– सिइओ जोशीसहित हामी बेलुका गाउँतिर डुल्ने भनेर निस्कियौँ । सूर्य सरले चिन्नुभएको एक जना स्थानीयले होटेल व्यवसाय सञ्चालन गर्नुभएको रहेछ । पहिले फोटोग्राफर रहेका ‘मसला जोन’ का सञ्चालकले दुर्लभभन्दा दुर्लभ चरा पनि अन्तु पोखरीमा आउने गरेको प्रसङ्ग सुनाए तर त्यस क्षेत्रमा अधिकांश घरमा रातो जस्ता लगाइएकोले चरा डराएर आउन छोडेका रहेछन् । नगरपालिकाले कुनै नीति बनाउन सके त्यस क्षेत्रमा हरियो जस्ताको छाना लगाउन सके चरा फेरि आफ्नो गन्तव्यमा फर्किन सक्ने विषयमा छलफल भयो । 

वैशाख १ गते बेलुका फेरि होटेल हिल टावरमै सांंस्कृतिक प्रस्तुति राखिएको थियो । विभिन्‍न स्थानीय गीत गाउने र नाच्‍ने कार्यक्रम चल्दै थियो । माथि स्टेजमा जान कसैले नमानेको देखेर होला सायद, परराष्ट्रमन्त्री आरजु राणाले “आउनुस् न नाचौँ” भन्‍नुभयो । मन्त्री राणाले निकै सुन्दर ढङ्गले नृत्य गर्नुभयो । गीतको भाका नबुझे पनि भाव बुझेर होला सायद राजदूतहरू पनि स्टेज चढेर बाजाको तालमा हात हल्लाउन थाले ।

सबैको सम्मिश्रणले उनीहरूलाई ‘नेपालीपन’ को गहिरो अनुभूति दिलाएर होला सायद वैशाख २ गते बिहान फर्किने बेला सबैको मनमा अझै बस्‍न पाए हुन्थ्यो भन्ने भाव झल्किन्थ्यो । उनीहरूको अव्यक्त अभिव्यक्ति थियो– “नेपालको सौन्दर्य बुझ्न, हेरेर मात्र पुग्दैन– महसुस गर्नु पर्छ ।” यद्यपि फर्किनैपर्ने थियो । परराष्ट्रमन्त्री राणाले बिदा हुँदै गर्दा राजदूतहरूलाई भन्नुभयो, “प्रकृतिको काखमा बसेर पर्यटन र कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने यो अवसर अविस्मरणीय रह्यो । यहाँबाट फर्किंदा तपाईंहरूले इलामका कथा आफ्नो देशमा सुनाउनुहोस् । नेपालका पर्यटन ‘राजदूत’ तपाईंहरू नै बन्नुहोस् ।” सूर्योदयका प्रमुखसँग बिदा हुँदै गर्दा राजदूतहरूले भने, “हामी फेरि साथी ल्याएर आउने छौँ । आतिथ्यका लागि धेरै धेरै धन्यवाद ।” 

प्रकृतिको काखमा बसेर पर्यटन र कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने यो अवसर अविस्मरणीय रह्यो । यहाँबाट फर्किंदा तपाईंहरूले इलामका कथा आफ्नो देशमा सुनाउनुहोस् । नेपालका पर्यटन ‘राजदूत’ तपाईंहरू नै बन्नुहोस् ।

राजदूतहरूको यस प्रतिक्रियाले चियाबारीमा चिया टिप्ने अनुभवदेखि श्रीअन्तु डाँडामा सूर्योदय हेर्दासम्म, उनीहरूले नेपालका प्राकृतिक सम्पदाको सौन्दर्य र सम्भावनालाई नयाँ आँखाले हेरे । यो एक भ्रमण मात्र थिएन, यो नेपाली पर्यटन प्रवर्धन, स्थानीय जीवनशैलीको अनुभव र कूटनीतिक सम्बन्ध सुदृढ गर्ने एउटा बहुआयामिक अभियान थियो । यो एउटा भ्रमण मात्र थिएन, यो त आत्मीय र प्रकृतिसँगको साक्षात्कार थियो । यो नेपालको आत्मा देखाउने प्रयास थियो । यही प्रयासले नेपाललाई विश्वमाझ आत्मीय, सम्पदायुक्त र सम्भावनायुक्त देशका रूपमा उभ्याउने छ । यात्रा सकियो तर पर्यटन  कूटनीतिक सम्बन्धको यात्रा भने अझ गहिरो बन्यो । 

इलाम पुगेपछि परम्परागत आहान, ‘गयो इलाम, खायो सिलाम, फर्किने बेला गुन्टा लिलाम,’ इलामको सुन्दरतासँग आरिस पोखेर भनिएको हुनु पर्छ । आहा ! त्यो झुल्के घाम । चियाबारीको राजधानी । नागबेली बाटो । बादलुको घुम्टो । प्राकृतिक सुन्दरताको खानी । पहाडकी रानी । जति धेरै उपनाम दिए पनि अपुग लाग्ने इलामलाई साँच्चै भूपिले भने जस्तै मलाई पनि नेपालभरि अलि अलि इलाम छर्न मन लाग्यो । 

  

Author

दिलीपप्रकाश कार्की