विजयकुमार साह
ढल्केबर, जेठ ८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार ढल्केबर–जनकपुर खण्डमा ६ लेनको सडक निर्माण सम्पन्न भइसकेको छ । तर सोही मार्गमा पर्ने धनुषाको ढल्केबरस्थित बसही खोलामा निर्माणाधीन पुल भने वर्षौँदेखि अलपत्र परेको छ ।
२०७६ साल असार ३१ गते नागार्जुन हेम कन्स्ट्रक्सन जेभीले ठेक्का सम्झौता गरेर बसही खोलामा ६ लेनको पुल निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार पुल निर्माण २०७८ असार ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । जटही–जनकपुर–ढल्केबर ६ लेन सडक कार्यालय बर्दिवासले मूल्य अभिवृद्धि करसहित १४ करोड आठ लाख २३ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । तर ठेक्का सम्झौता भएको सात वर्ष पुग्न लाग्दा पनि हालसम्म जम्मा ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
पुल निर्माण कार्य अलपत्र परेपछि सो क्षेत्र सवारी दुर्घटनास्थल बन्दै गएको छ । जिलला ट्राफिक प्रहरी कार्यालय धनुषाका तथ्याङ्क अनुसार पछिल्ला दुई वर्षमा मात्र निर्माणाधीन पुल क्षेत्रमा ४५ वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये ११ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुलकै कारण दुर्घटना भएको भन्ने कुरालाई अस्वीकार गर्नुभयो । उहाँले जानकारीमूलक सङ्केत चिन्ह र सचेतनामूलक बोर्ड राखिएको जानकारी दिँदै अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभयो ।
स्थानीय रामएकवाल यादवले बसही खोलामा नयाँ पुल निर्माणको काम सुरु भएदेखि क्षेत्रमा हप्तामा दुई तीन वटा सवारी दुर्घटना हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सडक छ लेनको भए पनि पुल भने एक लेनकै छ । फराकिलो सडक देखेर सवारी चालक तीव्र गतिमा गाडी चलाउँछन् । पुल नजिक आउँदा अचानक सडक साँघुरो देखेपछि अलमलिन्छन् र सन्तुलन गुमाउँदा दुर्घटना हुन्छ ।’’
मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माण अलपत्र परेपछि वरपरका करिब दुई सय मिटर क्षेत्र दुर्घटनास्थल बनेको बताउनुभयो । उहाँले पटकपटक सम्बन्धित निकायलाई पत्रचार गरे पनि बेवास्ता गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार पुल निर्माणमा ढिलाइ भएको विरोधमा स्थानीयले पटकपटक सडक जाम गरेर आन्दोलनसमेत गरेका छन् । मधेश प्रदेशका मन्त्री, मुख्यमन्त्रीलगायत ठुलठुलो ओहदाका कर्मचारी दिनहुँ यही बाटो भएर आवतजावत गर्छन तर पुल बनाउने चासो कसैलाई छैन । वडाध्यक्ष यादवले भन्नुभयो, “पाँच पटक सडक डिभिजन कार्यालय गइसकेका छौं, तर पनि काम अगाडि बढेको छैन् ।” सडक निर्माण सम्पन्न भएर पनि पुल निर्माण रोकिएको उहाँले बताउनुभयो ।
जटही–जनकपुर–ढल्केबर ६ लेन सडक कार्यालय बर्दिवासका इन्जिनियर उज्ज्वल झाले निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण कार्य रोकिएको बताउनुभयो । पछिल्ला छ महिनादेखि झन् पुरै काम ठप्प रहेको भन्दै उहाँले भन्नुभयो, “दुई पटक म्याद थप गरे पनि अहिलेसम्म भौतिक प्रगति ४० प्रतिशत मात्र भएको छ ।”
उहाँका अनुसार कार्यालयले निर्माण कम्पनीलाई अन्तिम स्पष्टीकरण माग्दै चैत २९ गते पत्राचार गरेको थियो । तीन दिनभित्र सम्पर्क गर्न भनिए पनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन । कार्यालयले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरी सम्पर्कमा आउन र काम सुरु गर्न अनुरोध गरेको इन्जिनियर झाले बताउनुभयो । पहिलो ठेक्का अवधि समाप्त भएपछि त्यसपछि दुईपटक म्याद थप गरिएको थियो । म्याद थप गरेपछि २०८० असार ३० गतेसम्म काम सक्नुपर्ने थियो ।