काठमाडौँ, जेठ ७ गते । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ऊर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै सभापति सिंहले ऊर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँले अब चाँडोभन्दा चाँडो समितिले प्रक्रिया पूरा गरेर सभामा पेस गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
उहाँले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा आइसकेको र अब छिट्टै छलफल गरेर टुङ्गो लगाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ऊर्जा विधेयक अन्तिम अन्तिममा पुगिसकेको छ । अब चाँडोभन्दा चाँडो यो समितिले होमवर्क गरेर सदनमा लैजान तयार छौँ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा आइसकेको छ ।’’
बुधबारको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल भएको हो ।