• १९ जेठ २०८२, सोमबार

खगिश्वराको पीडा : कान्छो छोराको मिर्गौला फेल र माइलो बेपत्ता

blog

मिर्गौलापीडित छोराको साथमा मालिका गाउँपालिका–३ की आमा ६३ वर्षीया खगिश्वरा घर्तिमगर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, जेठ ६ गते ।
मालिका गाउँपालिका–३ ह्वाङदीका २२ वर्षीय जीवन घर्ती मगर साढे तीन वर्षदेखि मिर्गौला पीडित हुनुहुन्छ । उहाँ गाउँमा सात कक्षा पढेर आर्थिक अवस्थाकै कारण तीन वर्ष पहिले भारतको कार्गिल पुग्नुभएको थियो । घर निर्माणको काम र चिसो मौसम थेग्न मुस्किल पर्‍यो । पाँच महिना नपुग्दै चक्कर आउने, मुटु दुख्ने र श्वासप्रश्वासको बिमारले छोप्यो । काम गर्ने उपाय नभएर गाउँ फर्किनु भएका जीवनले बुटवलमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएका थिए ।

उहाँले सुरुमा गाउँमा ऋण गरेर बुटवलमै डेढ वर्ष डाइलासिल गर्नुभयो । बुटवलमा गर्मी र ठुलो खर्च हुँदा निकै मुस्किल भयो । त्यहि बेला आफ्नै जिल्लामा डाइलासिस सञ्चालन हुँदा घर्तिमगर परिवारलाई केही राहत महसुस भयो ।

जसका कारण वर्ष दिनदेखि तम्घासमा डाइलासिल गर्दै आउनुभएका घर्तिमगरको औषधी खाने उपाय समेत हराउँदै गएको छ । जीवन बिरामी परेदेखि ६३ वर्षीया आमा खगिश्वरा घर्तिमगरसँगै हुनुहुन्छ । तर खगिश्वरलाई बुढेकालमाथि मुटु र पाढेघरको रोगसँगै छोराहरूको पिरलोले गाँजेको छ । उहाँ आफैँलाई मुटुको समस्या भएका २५ वर्षदेखि औषधी खाँदै आउनु भएको छ । गत वर्षदेखि पाठेघरमा फोका देखिए ।

आफ्नै औषधीले झोला भरिएका छन् । त्यो माथि छोराको अवस्था दैनिक नाजुक हुँदा खगिश्वराको अनुहारमा शान्तिको एक धर्सो छैन । कमाउन हिँडेको माइलो छोरा ३२ वर्षीय युवराज घर्तिमगर १० वर्षदेखि बेपत्ता हुनुहुन्छ । त्यस्तै रोजगारीकै लागि घर छोडेको कान्छो भाइ जीवन मिर्गौला फेल भएर घर फर्किएपछि गत वर्ष भारतको आन्द्रा प्रदेश पुग्नु भएका जेठो छोरा ३६ वर्षीय यकबहादुर घर्तिमगर दुर्घटनामा परेर बेहाल बनेको आमा खगिश्वराले बताउनुभयो । घरमा आँखा नदेख्ने र कान नसुन्ने ८० वर्षीय श्रीमानसहित बुहारी र तिन नातिनातिना हुनुहुन्छ ।

बिरामी ज्यानमा खगिश्वराले आर्थिक सहयोगको कुनै उपाय नभएपछि सबैसँग छोरालाई बचाउन याचना गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “कमाउने छोराहरू बेडमा ढले, वृद्ध अपाङ्ग श्रीमान् र मेरो के काम । माइलो छोरा १० वर्षदेखि बेपत्ता भए पनि मैले मभन्दा पहिले छोरा गुमेको कसरी हेरौ ।”

उहाँले बजारको कोठा भाडा र औषधीको तिर्ने उपाय बन्द भएपछि दिनमा भोक र रातमा निद्रा नभएको गुनासो गर्नुभयो । घरको अवस्था नहुँदा जीवनलाई मिर्गौला ट्रान्सप्लान्टको आस छैन । तर सहयोग पाए डाइलासिस गरेर केही समय बाँच्ने चाहाना जिवित रहेको घर्तिमगरले बिलौना गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ होचो त्यहि घोचो भनेको परिवारले भाग्दैछ । छोराहरू हराउने र बिमारले ढल्ने भएपछि वृद्ध र बिरामी बाबा–आमाले के गर्नु । कसैले दुःख देखेर सहयोग गरे औषधी र डाइलासिसको भरमा बाँच्ने हो ।”

घर्तिमगर परिवारसँगै आर्थिक हिसाबले कुनै उपाय छैन । गाउँको ओत लाग्ने घर र तीन महिनालाई पुग्ने बारी बाहेकको बेच्ने सम्पत्ति पनि नभएकाले उपचारमा मुस्किल परिरहेको छिमेकी तानबहादुर बुढाथोकीले बताउनुभयो । सहयोगका लागि ग्लोबल आइएमई बैँक तम्घासमा रहेको पीडित जीवन घर्ती मगरको खाता नम्बर ३०३०७०१०००६६६५ र सम्पर्क नम्बर ९७६२७४४९८१ रहेको छ ।