काठमाडौँ, जेठ ४ गते । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्नेछ ।
यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
आइतबार भएको खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै आफ्नो स्थान सुरक्षित गरेको हो । जितसँगै थाइल्यान्डले आठ अङ्क बनाएको छ । दुई खेल खेल्न बाँकी रहेको नेपालको पाँच र युएईको ६ अङ्क छ ।
थाइल्यान्ड समूह ‘ए’ मा शीर्ष स्थानमा रहँदै सुपर तीनमा पुगेको हो । युएई समूह ‘बी’ र नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा रहेको थियो । सुपर तीनको शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।