काठमाडौँ, जेठ २ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुबिच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभयो ।
उहाँले संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गर्नुभयो । मन्त्री पन्तले संसदमा चर्काचर्की बहस गर्ने र संसद बाहिरसँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताउनुभयो । उहाँले संसदमा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गर्नुभयो ।
“हाम्रा मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा छन् । संसदीय व्यवस्थाको सौन्दर्य के हो भन्दा खेरी त्यसले अनेकताभित्र एकता खोज्छ । विविधता भित्र एकता खोज्छ । अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई लैजाँदैन । हाम्रो देख्छौँ नि त, हाम्रो क्यारेक्टर कस्तो भन्दा खेरी तिमिहरू नाटक गर्छौं कि क्या हो भनेर मेरो भतिजाले सोध्थ्यो ।,’’ शिक्षामन्त्री पन्तले भन्नुभयो, ‘‘भित्र चर्काचर्की बहस गर्ने, बाहिर तिनीहरू नै बसेर चिया खाने, भित्रको त नाटक होला नि भन्थ्यो । मान्छेहरूलाई त्यो पनि पर्न सक्छ । कतिपय त्यसमा संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य पनि गरेर लेखेका छन्, फुल हाउसमा देखाउने यिनीहरूको नाटक हो भनेर । तर, संसदीय प्रणाली र प्रक्रियाको विशेषता पनि त्यही हो र सौन्दर्य पनि त्यहीँ हो ।”
उहाँले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिनुभयो ।