• १ जेठ २०८२, बिहिबार

नियमन नहुँदा ‘ओभर लोड’ले निरन्तर पुलमा क्षति

blog

बोमलाल गिरी

नवलपुर, जेठ १ गते । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–६ चोरमारस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि यात्रुले निक्कै सास्ती भाेग्न पर्‍याे । म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट 

वीरगन्जतर्फ जादै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भाँचिएपछि मङ्गलबार राती साढे ८ बजेदेखि बन्द रहेको सडक डाइभर्सन गरी झण्डै १८ घण्टापछि खुलाइयो ।

यसअघि २०७९ साल असारमा पनि ओभर लोडकै कारण यो पुलको बिच भाग चर्किएको थियो । त्यसबेला तत्कालीन रूपमा मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याइएको सोही पुल पुनः सवारी साधनको अत्यधिक भारका कारण भाँचिएको जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । 

चार महिनाअघि पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको पुल भाँचिदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो । हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानीसमेत प्रभावित भयो । हाल सो ठाउँमा डाइभर्सन मार्फत सवारीसाधन आवतजावत गराइए पनि बाढीले दुई पटकसम्म डाइभर्सन बगाउँदा यात्रुले समस्या भोग्दै आएका छन् । 

यसअघि गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुलीको बौलाहा खोला पुल, मध्यबिन्दुको अरुणखोला पुल भाँचिएका थिए । ५० वर्ष पुराना अधिकांश फलामे पुल जीर्ण अवस्थामा रहेका छन् । यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।

यसरी पटक–पटक फलामे पुलहरू भाँचिदा मुख्य राजमार्ग बारम्बार बन्द हुन थालेको छ । अब धेरैको चिन्ता र चासो नारायणीको पुलमाथि देखिएन थालेको छ । २०३८ सालमा बनेको पूर्व–पश्चिम राजमार्गको लाइफ लाइन मानिएको नारायणीको पुल जिर्ण बन्दै गएको छ ।

हुन त नारायणीमाथि ‘सिग्नेचर पुल’ निर्माण गर्ने भनेर शिल्यान्यास भएको पनि एक वर्ष पूरा भएको छ । चितवनको भरतपुर र नवलपुरको गैँडाकोटलाई जोड्ने गरी नारायणी नदीमाथि बन्ने ‘सिग्नेचर पुल’को ०८१ वैशाख ३१ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गर्नुभएको थियो । 

तुँदी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । यो पुल बनाउनका लागि सम्झौता भने सन् २०२३ को जुनमा नै भएको थियो । तर सम्झौता भएको दुई वर्षसम्म पनि पुल बनाउने सुरसार छैन। 

डिभिजन सडक कार्यकाल भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार पुलको डिजाइन अन्तिम गर्ने प्रक्रिया चलिरहेको छ । डिजाइनका लागि हालै मात्रै चिनियाँ विज्ञ आएर स्थलगत निरीक्षण गरेर फर्किएको उहाँले बताउनुभयो । त्यसबाहेक फिल्डमा अरू काम सुरु नभएको उहाँको भनाइ छ । 

पुल महाशाखाका उपमहानिर्देशक ललिजङ्ग खनालले ‘सिग्नेचर पुल’ बनाउने काम निर्माण कम्पनीका कारण ढिलाई भएको भन्दै असार भित्र डिजाइन पूरा भएर बर्खा सकिए लगत्तै निर्माणको काम सुरु हुने बताउनुभयो । नवलपुरका पुलहरूभन्दा नारायणीको अहिलेको पुल फरक संरचनामा बनेकाले तत्काल पुलमा क्षति भइहाल्ला भनेर पूर्वानुमान नगरिएको उहाँको भनाइ छ । 

२०३८ सालमा शिलान्यास भएको नारायणीको पुल चार वर्षपछि सम्पन्न भएको थियो । अहिलेको काम गराइको गति हेर्दा  ‘सिग्नेचर पुल’ पनि चार÷पाँच वर्ष नभइ सकिएला जस्तो देखिन्न । ट्राफिक तथा यातायात विज्ञ थर्क सेन ठकुरी अहिले भत्किएका पुलहरूले नारायणीको पुललाई झक्झकाइ रहेको बताउनुहुन्छ ।

"पुललाई नियमित मर्मत चाहिन्छ, यी पुलहरू धेरै पुराना भइसके, यिनीहरूलाई १० वर्ष पहिले नै विस्थापित गर्नु पर्ने थियो, तर सडक विस्तारको कामलाई देखाएर पटक पटक मर्मत गर्दै सञ्चालन गरियो," सेनले भन्नुभयो, "डाइभर्सन मार्फत साना पुलको विकल्प थियो, कुनै दिन नारायणीको पुल यसरी नै भाँचियो भने के होला ? सरकारले यसबारेमा सोचेको छ त ?" नारायणीमाथि डाइभर्सन सम्भव नभएकाले सरकारले तत्काल नारायणीको नयाँ पुल निर्माणमा ध्यान दिनु पर्ने उहाँको भनाइ छ । 

‘ओभर लोड’ मुख्य समस्या

दुम्कीवास पुल होस् वा चोरमाराको अथवा अहिलेसम्म भाँचिएका सबै पुल, ओभर लोडकै कारण भाँचिएका सरकारको ठम्याई छ । गाडीहरूको भार मापन गर्नका लागि ठाउँ ठाउँमा धर्म काँटा सञ्चालन गरिए पनि ति निकम्मा भएको पुल महाशाखाका उपमहानिर्देशक खनालको भनाइ छ । 

"एक सय टन भार क्षमता भएका गाडीमा एक सय पचार टनसम्म बोकेर ल्याउने गरिएको छ, सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्छ, जिम्मेवार निकायले निगरानी बढाउनु पर्छ," उपमहानिर्देशक खनालले भन्नुभयो । दुम्कीवास पुल र चोरमाराको पुल पनि बढी भारका कारण पुल भाँचिएको उहाँले बताउनुभयो । 

यसअघि विनयी खोलाको पुल भाँचिने गरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने शिवम सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको थियो । एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपियाँ क्षतिपूर्ति तिराएको थियो । 

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक खनालकै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको थियो । 

ट्राफिक तथा यातायात विज्ञ ठकुरीले ‘ओभर लोड’ नियन्त्रण गर्ने काम सरकारको भए पनि त्यो गर्न नसक्दा क्षति व्यहोर्नु परेको बताउनुभयो । ‘‘आफ्ना पुलको भार बहन क्षमता कति छ, त्यो पहिचान गरेर नियमन र नियन्त्रण गर्ने काम सरकार र सरकारका विभिन्न निकायको हो, त्यो नियमन गर्न नसक्दा पुलहरू भाँचिइरहेका छन्, ठकुरीले भन्नुभयो । 

यसैगरी, सडकमा सवारीको चाप बढ्नु र समयमै मर्मत नगर्दा जिर्ण बनेका राजमार्गका पुलहरू भाँचिने समस्या बढ्दै गएको हो । पूर्व पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा २०३० सालमा निर्माण गरिएका पुलको संरचना एउटै प्रकृतिको छ । 

त्यो समयमा निर्माण गरिएका अधिकांश पुलहरूमा ट्रसको प्रयोग गरिएको छ । त्यो बेलाको जनघनत्वका आधारमा निर्माण गरिएको राजमार्ग र पुलहरू समयमा मर्मत नहुनु र पुलको क्षमताभन्दा बढीका मालबाहक सवारी सञ्चालन हुँदा यस्ता समस्या देखिएको ठकुरीले बताउनुभयो ।

मालबाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ अनुसार निर्धारण गरिएको तौलभन्दा बढी भार भएका सवारी साधनलाई भन्सार कार्यालयबाट अनुमति दिन पाइँदैन । अनुमति दिनुपर्ने भएमा तोकिएको भन्दा बढि भएको मालसामान निकालेर मात्रै दिनुपर्छ । तर त्यसो नभएको बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जारा ।

तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेको पूर्व–पश्चिम राजमार्गलाई यस खण्डमा चार लेनको बनाउन २०७५ सालदेखि सडक विस्तारको काम आगाडि बढाइएको छ । चार लेनको सडक निर्माणसँगै राजमार्ग क्षेत्रमा नयाँ पुलहरू पनि निर्माण भैरहेका छन् । 

नारायणगढ–बुटवल सडक विस्तार योजनाका इन्जिनियर शिव खनालका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्म बनाउनुपर्ने ३४ पुलमध्ये २९ वटा निर्माण सकिएको छ । अव गिरुवारी, दुम्कीवास, अरुणखोला लगायत ठाउँमा नयाँ पुल बन्न बाँकी छ । 

यस खण्डमा २५ मिटरभन्दा लामा १२ वटा र २५ मिटर लम्बाइसम्मका २२ वटा पुल निर्माणको काम भइरहेका छन् । अहिले नयाँ पुलहरूमा निश्चित दुरीमा सय टनसम्म भारवहन क्षमताका निर्माण गरिएको इन्जिनियर शिव खनालले बताउनुभयो ।