रङ्गेली समाचारदाता
विराटनगर, वैशाख ३१ गते । जिल्ला कारागार मोरङको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले विराटनगर कारागारपरिसरमा निर्मित नयाँ भवन उद्घाटन गर्नुभएको हो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले ३६ करोड १२ लाख ८५ हजार २८० रुपियाँ लागतमा विराटनगर–८ स्थित हाटखोला कारागारपरिसरमा निर्माण सम्पन्न १० वटा भवन एक साथ सञ्चालनमा आएका हुन् ।
कार्यव्रmममा गृहमन्त्री लेखकले कारागारका कैदीबन्दीको मानव अधिकारमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सरकारले कैदीबन्दीको सामाजिक, मानसिक, स्वास्थ्यको सवालमा ध्यान दिनुपर्ने र उनीहरूको मानव अधिकारको रक्षा गर्नुपर्ने दायित्वलाई बिर्सन नसक्ने बताउनुभयो ।
उहाँले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको गुनासो बढ्दै गएको बताउँदै अब खुला कारागारको अवधारणामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । कारागारलाई सुधारगृहमा रूपान्तरण गर्दै यसलाई उद्योग ग्राममा विकास गर्न सके नागरिक आयआर्जनमा जोडिने उहाँको विश्वास थियो । अब आधुनिकतासँगै कारागारलाई रूपान्तरण गर्नु पर्छ, यसलाई औद्योगिक ग्राममा विकास गर्नसके अपराधकर्ममा कमी आउन सक्छ, गृहमन्त्री लेखकले भन्नुभयो, “योगध्यान, पुस्तकालय, उत्पादनसँग जोड्न सक्दा नागरिकले कैदीबन्दी जीवन बिताउनु परेको आभास कम गर्नेछ ।”
उहाँले लोकतन्त्रमा व्यक्तिको मानव अधिकार विश्वव्यापी सिद्धान्त अनुसार हुनुपर्ने कुरामा सरकार प्रतिबद्ध रहेकाले प्रश्न सोध्न पाउने अधिकारलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । सरकारका बारे संसद्मा प्रतिपक्षीले प्रश्न गर्नु, जनप्रतिनिधिलाई नागरिकले प्रश्न गर्नु, कारागारमा प्रशासनलाई कैदीबन्दीले प्रश्न गर्नु र त्यसको जवाफ दिनु दायित्व हुने बताउनुभयो ।
उहाँले राजतन्त्र नभोगेका ३० वर्षमुनिका युवा झुक्यानमा पर्लान् की भन्ने चिन्ता देखिन्छ । उहाँले अहिले ३० वर्षमुनिका युवामा राजतन्त्र नै ठिक थियो भन्ने भाष्य बनाउने प्रयत्न गरिरहेको सन्दर्भमा राजालाई प्रश्न गर्न पाइन्थ्यो की पाइँदैनथ्यो भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रमा नेतामाथि कुनै पनि आरोप लाग्दा प्रश्न सोध्ने र त्यसको जवाफ नआउँदा फेर्न पाउने स्थितिबाट प्रश्नै सोध्न निस्तेज गरेर फेर्न नपाउने शासन ठिक हुँदैन भन्ने कुरा बुझाउनुपर्ने छ ।”
यसै गरी सङ्घीय सांसद तथा पूर्वमन्त्री अमनलाल मोदीले कारागारलाई व्यवस्थित बनाउँदै सबै नागरिकको मानव अधिकार सुरक्षित गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले कारागारमा बस्नेको सङ्ख्या बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनमा फसेका युवालाई त्यहाँबाट छुटकारा दिलाउने उपायको खोजी गर्ने हो भने पनि कारागार पुग्ने नागरिकको सङ्ख्या कम हुने बताउनुभयो ।
मोरङ कारागारका प्रमुख गर्व ढुङ्गेलका अनुसार हाल ९३२ पुरुष र १०९ महिला कारागारमा रहेको जानकारी गराउनुभयो । यहाँ महिलासँग आश्रित तीन जना बालबालिका समेत रहेका छन् । नयाँ भवन ४१४ जना क्षमताको रहेको छ । कारागारपरिसरमा पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोस्ट, सुरक्षा चेकजाँच कक्ष, सडक, नाला, आकस्मिक पानी भण्डारसमेत निर्माण भएर सञ्चालनमा आएका हुन् ।