• ३१ वैशाख २०८२, बुधबार

‘आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव’

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आश्रम उद्घाटन गर्नुहुँदै  ।तस्बिर : लक्ष्मण पौडेल

भैरहवा समाचारदाता 

भैरहवा, वैशाख ३१ गते  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई आध्यात्मिक ज्ञान र साधनाको माध्यमबाट सुन्दर बनाउन सकिने बताउनुभएको छ । सिद्धार्थनगर नगरपालिका–४, रुपन्देहीमा निर्माण भएको ‘द आर्ट अफ लिभिङ’ आश्रमको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई आध्यात्मिक ज्ञान र साधनाको केन्द्र बनाउन सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “ज्ञान र साधनाको माध्यमबाट समाजलाई परिवर्तन गर्ने, समाजलाई सत्मार्गमा लैजाने अभियान हो । जुन लक्ष्य र उद्देश्य राखेर यो अभियान थाल्नुभएको छ, त्यसको पूर्ण सफलताको कामना गर्दछु ।”

उहाँले समाजमा आध्यात्मिक चेतना, मानसिक स्वास्थ्य र सामाजिक सद्भाव विस्तारका लागि यस्ता अभियान उपलब्धिपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “समाजलाई परिवर्तन गर्न, सत्मार्गमा डो-याउन यस्ता अभियानले महìवपूर्ण भूमिका खेल्ने छन् । हाम्रो जीवन के हो ? कसरी खुसी हुने ? सुखी कसरी बन्ने ? स्वस्थ कसरी बन्ने ? भन्ने सवालमा यसले ध्यान र ज्ञानका कामलाई अगाडि बढाउने छ । यी अभियानमा हाम्रो साथ रहने छ ।” 

 आश्रमका संयोजक दीपेन्द्र प्रधानका अनुसार साढे चार करोड रुपियाँको लागतमा आश्रम निर्माण थालिएको हो । दान सङ्कलन गरेर आश्रमको संरचना निर्माण भइरहेको छ । सात कट्ठा जग्गामा फैलिएको यस आश्रमसँगै देशभर यस्ता तीन वटा आश्रम रहेका छन् भने २६ वटा स्थानमा योग केन्द्र रहेका छन् । ‘द आर्ट अफ लिभिङ’ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहका अनुसार देशका अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको छ । एक तलाको उक्त आश्रम भवनमा १० वटा कोठा र एउटा हल छ । आश्रमका संयोजक प्रधानले भवन दुई तलाको बनाउने लक्ष्य भए पनि आर्थिक अभावले तत्काललाई एक तलाको मात्रै बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य अनुसार भवन निर्माण गर्न अझै दुई करोडभन्दा बढी रकम चाहिन्छ । अहिले उद्योगी व्यवसायीको आर्थिक अवस्था राम्रो छैन । यसैले प्रदेश तथा स्थानीय सरकारको सहयोग हुन्छ कि भन्ने अपेक्षा छ ।” यस्तै भैरहवा आश्रमलाई युवालक्षित विभिन्न सिप विकास तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।