• ३१ वैशाख २०८२, बुधबार

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

blog

सोमबार राति रोसीखोलामा आएको बाढीले डाइभर्सन सडक बगाएपछि बिपी राजमार्ग अन्तर्गत बोक्सीकुनामा रोकिएका सवारीसाधन ।

बनेपा समाचारदाता 

बनेपा, वैशाख ३१ गते  । अविरल वर्षासँगै रोसीखोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बिपी राजमार्ग १४ घण्टापछि खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रोसीखोलामा आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बिपी राजमार्ग मङ्गलबार दिउँसोबाट सुचारु भएको जनाएको हो । 

कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले रोसीखोलामा आएको बाढीका कारण अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोबाट सुचारु भएको बताउनुभयो । उहाँले गत असोज दोस्रो साता आएको बाढीका कारण क्षति भएको राजमार्गमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकोमा सोमबार साँझ डाइभर्सन सडक बगाएको बताउनुभयो । उहाँले बाढीले डाइभर्सन सडक बगाएपछि तीन दर्जन मालबाहक र यात्रुबाहक सवारी सडकमा अलपत्र परेका थिए । डाइभर्सन सडक बगाएपछि रोकिएका सवारीसाधन र यात्रुलाई इलाका प्रहरी कार्यालय मङ्गलटार आसपास सुरक्षित स्थानमा राखिएको थियो । 

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले सोमबार रोसीखोलामा आएको बाढीका कारण कटुन्जेबेँसी, बोक्सीकुना र माम्तीमा निर्माण गरिएको डाइभर्सन सडकमा क्षति पुगेका कारण करिब १४ घण्टा सडक अवरुद्ध भएको बताउनुभयो । 

बाढीले कटुन्जेबेँसीमा एकातर्फ यातायात सञ्चालन हुने गरी सडकमा क्षति गरेको र बोक्सीकुनामा करिब २५ मिटर डाइभर्सन सडक बगाएको बताउनुभयो । यस्तै बाढीले बिपी राजमार्ग अन्तर्गत माम्तीखोलामा यातायात सञ्चालनका लागि राखिएको १२ वटा ह्युमपाइपसहितको करिब एक सय मिटर सडक बगाएको छ । “माम्ती खोलाको उचाइ बढाउने तयारी गरिरहेका थियौँ, त्यसका लागि हामीले खोलामै ह्युमपाइप राखेर यातायात सञ्चालन गरेका थियौँ । बाढीले सबै ह्युमपाइप बगाएका कारण सडक अवरुद्ध हुन पुग्यो,” सिडिई योगेशले भन्नुभयो । उहाँले सोमबार राति आएको बाढीका कारण क्षति गरेको डाइभर्सन सडक मर्मत गरेसँगै दुईतर्फकै सवारी सञ्चालनमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बाढीले गर्दा हामीले वर्षाको समयमा कहाँकहाँ क्षति गर्न सक्छ भन्ने जानकारी पाएकाले आगामी दिनमा सोही अनुसार काम अघि बढाउने छौँ । साथै बाढीका कारण बोक्सीकुना, कटुन्जे, चौकीडाँडालगायतका स्थानमा ग्याबिन पर्खाल लगाउनुपर्ने देखिएको छ ।”

सडक डिभिजन भक्तपुरले सोमबारको बाढीबाट क्षति भएको डाइभर्सन सडकका साथै माम्तीमा सडकको उचाइ बढाएर वर्षायाममा समेत सवारी सञ्चालन गर्ने गरी काम गरिने जनाएको छ । गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीका कारण चौकीडाँडाँदेखि बोक्सीकुनासम्मको करिब १२ किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षति भएको थियो । सोमबार दिउँसोको वर्षाका कारण जिल्लाको पनौती नगरपालिकामा क्षति पुगेको छ । वर्षासँगै आएको बाढीका कारण किसानले भिœयाउन ठिक्क परेको आलु र अन्य तरकारी खेतीमा असर गर्नुका साथै खानेपानीको पाइप र अस्थायी सडकमा क्षति पुगेको छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सोमबारको वर्षा र बाढीका कारण खन्न तयार भएको आलु र तरकारी खेतीमा करोडौँको क्षति पुगेको बताउनुभयो । 

उहाँले गत असोज दोस्रो साताको बाढीले क्षति पु¥याएपछि अस्थायी रूपमा सञ्चालन गरिएको खानेपानीको पाइपसमेत बगाएको बताउनुभयो । बाढीले रोसीखोला कोरिडोर अन्तर्गत निर्माण गरिएको तीन किलोमिटर सडकसमेत क्षति गरेको जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार पनौतीमा भएको वर्षा ‘प्री मनसुन’ को विशेषता रहेको बताउनुभयो । “सोमबार पनौती र खोपासीमा भएको वर्षा प्री मनसुनी वर्षा हो, यस्तो बेलामा दिउँसो घाम चर्किने, मध्याह्नमा बादलको विकास हुने र वर्षा हुने गर्दछ, यस्तो वर्षा दुई÷तीन घण्टा हुने गर्दछ,” उहाँले भन्नुभयो । उहाँले यस्तो मनसुनको पूर्वानुमान गर्नसमेत कठिन हुने बताउनुभयो । 

यसैबिच जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अविरल वर्षासँगै ठाडोखोलाले बगाएर बेपत्ता हुनुभएकी पनौती नगरपालिका–५ की ३३ वर्षीय रेणुका गिरीको खोजी कार्य भइरहेको जनाएको छ । प्रहरीले बेपत्ता गिरीको खोजीका लागि मङ्गलबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिए पनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको जनाएको छ ।