हेटौँडा समाचारदाता
हेटौँडा, वैशाख ३० गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माण कार्य हालसम्म ९० प्रतिशत सम्पन्न भइसकेको छ । गाउँपालिकाको वडा नम्बर ३, हात्तीसुँडेस्थित निर्माणाधीन भवनको हालसम्म ७० प्रतिशत आर्थिक र ९० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका सबइन्जिनियर गुणराज श्रेष्ठले जानकारी दिनुभयो । भवनको रङरोगन र फिनिसिङ गर्ने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।
भ्याट र कन्टिन्जेन्सीसहित १२ करोड तीन लाख १७ हजार रुपियाँको लागत अनुमान रहेको भवन सात करोड ८२ लाख ५० हजार ७७० रुपियाँमा निर्माण सम्झौता भएको थियो । हालसम्म निर्माण कम्पनीलाई चार करोड भुक्तानी भएको सबइन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । विसं २०७९ जेठ ३१ गते भवन बनाउन आशीर्वाद सञ्जय सुभानीले गाउँपालिकासँग सम्झौता गरी निर्माण गरिरहेको छ ।
पहिलो चरणमा २०८१ जेठ ३१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा साझेदारी अनुसारको सङ्घीय सरकारले समयमै बजेट नपठाउँदा भवन निर्माण ढिलाइ भएको हो । गत वर्ष नै भवन निर्माण कार्य सम्पन्न हुनुपर्नेमा सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा निर्माणमा ढिलाइ भएको बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।
“निर्माण कम्पनीलाई तीन करोड भुक्तानी दिन बाँकी छ, सङ्घीय सरकारबाट समयमै बजेट निकासा नहुँदा भुक्तानी गर्न समस्या भएको छ,” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो । सम्बन्धित मन्त्रालयलाई भुक्तानीका लागि परिपत्र गरिएको जानकारी दिँदै कार्यालयबाट एकमुष्ट भुक्तानी पठाउने आश्वासन प्राप्त भएको उहाँले बताउनुभयो । अपाङ्गतामैत्री, बालमैत्री, भूकम्प प्रतिरोधी, लिफ्ट र व्यवस्थित पार्किङसहितको चार तले भवनमा दुई वटा सभा हलसहित ३० वटा कोठा तयार हुँदै छन् । स्टोर, शौचालयसहित भवनको माथिल्लो तल्लामा आवास निर्माण भएको गाउँपालिकाले जनाएको छ ।