काठमाडौँ, वैशाख २९ गते । स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियललाई ४–३ गोलले हरायो । एल क्लासिको भिडन्तमा स्टार केलियन एमबाप्पेले ह्याट्रिक गरे पनि रियलले हार टार्न सकेन ।
लिगको ३५औँ खेलमा बार्सिलोनालाई जिताउन राफिन्हाले दुई तथा लामिन यमाल र एरिक गार्सियाले एक एक गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो ।
एमबाप्पेले पाँचौँ र १४औँ मिनेटमा गोल गर्नुभएको थियो । त्यसपछि बार्सिलोनाका गार्सियाले १९औँ र यमालले ३२औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । राफिन्हाले ३४औँ र ४५औँ मिनेटमा लगातार दुई गोल गर्दै बार्सिलोनालाई बलियो बनाउनुभयो ।
एमबाप्पेले ७०औँ मिनेटमा ह्याट्रिक पूरा गरेपछि रियल हार खेप्न बाध्य बन्यो । जितसँगै तीन खेल बाँकी रहेको बार्सिलोनाले शीर्षस्थानमा सात अङ्कको अग्रता बनाएको छ ।
समान ३५ खेल सकेको रियल ७५ अङ्कसहित दोस्रो स्थानमा छ । बार्सिलोना अब अर्को खेलमा स्पान्योललाई हराएका उपाधि जित्ने छ । एजेन्सी