• २९ वैशाख २०८२, सोमबार

किसान सङ्घको तेह्रबुँदे घोषणापत्र जारी

blog

अछाम समाचारदाता 

अछाम, वैशाख २९ गते ।  कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै तरकारी उत्पादक किसान सङ्घ नेपालले १३ बुँदे घोषणापत्र जारी गरेको छ । ‘कृषि पेसा किसानको सम्मान, समृद्ध नेपालको आह्वान’ भन्ने मूल नाराका साथ आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रमा उक्त घोषणापत्र जारी गरिएको हो । 

घोषणापत्रमा किसानका अधिकार र सम्मान, कृषिको समर्थन मूल्यको सुनिश्चित, सरकारी संरचना र बजारको पहुँच, कृषि बिमा र क्षतिपूर्तिको नीति राज्यले अङ्गाल्नुपर्ने माग गरिएको छ । यस्तै प्रविधि, अनुसन्धान र लगानी, खेतीयोग्य जमिनको उपलब्धता, साना र महिला कृषकका लागि निःशुल्क कृषिको यान्त्रिकीकरण घोषणापत्रमा उल्लेख छ । सङ्घका केन्द्रीय अध्यक्ष माया केसी गौतमको हस्ताक्षर भएको घोषणापत्रमा स्थानीय तहको जिम्मेवारी र कृषकको कर्तव्य, कृषि सङ्कटको समाधान, सङ्घको सुदृढीकरण रहेको छ । 

घोषणापत्र सार्वजनिक तथा सम्मान समारोहमा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष डा. प्रेम दङ्गालले नेपालमा कृषि क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै अहिले केहीले भ्रम फैलाएको भनाइ राख्नुभयो । जग्गा, अनुदान, सामग्री, मूल्य तोक्ने र बजारीकरणको काम राज्यका निकायबाट भइरहेको भन्दै कृषिबाट अधिकतम उपयोग गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष दङ्गालले राज्यका कतिपय निकायमा कृषकले सुझाव दिएर उचित कार्यमा सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । 

घोषणापत्र सार्वजनिक कार्यक्रममै धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालले स्थानीय तहले कृषि क्षेत्रमा काम गरिरहेको तर त्यसको उचित उपयोगमा अपुग भएको भनाइ राख्नुभयो । धनकुटा नगरपालिका तरकारीमा आत्मनिर्भर भएको भन्दै स्थानीय तहको नीति, बजेट कार्यान्वयन गर्दै कृषक सक्रिय बन्नुपर्ने भनाइ उपप्रमुख खनालको रहेको छ । 

घोषणापत्र सार्वजनिक कार्यक्रममा किसान सङ्घका केन्द्रीय अध्यक्ष गौतमले राज्यले कृषकका लागि बनाउने नीति तथा कार्यक्रममा किसानकै सहभागिता नहुने भनाइ राख्नुभयो । कृषिमा उचित नीति र कार्यक्रम ल्याउन सके देशको समृद्धि कृषिबाटै सम्भव भएको भनाइ अध्यक्ष गौतमको रहेको छ । कार्यक्रममा कृषिसम्बन्धी विज्ञ, अनुसन्धानकर्ता, पत्रकार र कृषकको सहभागिता रहेको थियो । 

गोरखापत्रकर्मी ढुङ्गाना सम्मानित 

मोफसलमा बसेर पत्रकारितामार्फत कृषि क्षेत्रमा योगदान पु¥याएको भन्दै गोरखापत्रका अछाम समाचारदाता शिवराज ढुङ्गानालाई सम्मान गरिएको छ । आइतबार ललितपुरको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा ढुङ्गानासहितलाई सम्मान गरिएको हो । दुर्गम क्षेत्रमा बसेर कृषि पेसाको विकास र विस्तारमा समाचार सम्प्रेषण गरेर सहयोग पु¥याएको भन्दै ढुङ्गानालाई सम्मानपत्र, दोसल्ला र मालाले सम्मान गरिएको हो । किसानका समस्या र राज्यका नीतिबारे समाचार, रिपोर्ट बनाएर कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कृतज्ञतासहित सम्मान गरिएको छ ।