सुदूरपश्चिमको विकासको थप आधारका रूपमा केबुलकार सञ्चालनलाई पनि लिइएको छ । सोही अनुरूप सुदूरपश्चिम प्रदेशको पहिलो केबुलकारका रूपमा जाल्पादेवी केबुलकार निर्माण कम्पनीले निर्माणको कामलाई तीव्रता दिएको छ । कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनको काम गत पुसदेखि सुरु भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरेर निर्माण आरम्भ भएको सो योजनाले सुदूरपश्चिम प्रदेशको विकासको मुहार फेर्नका लागि मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
निजी क्षेत्रको लगानीमा चिसापानी–राजकाँडा केबुलकार निर्माण हुँदै छ । जाल्पादेवी केबुलकार कम्पनीले २० बिघा जमिन केबुलकार सञ्चालनका लागि आफ्नो नाममा लिएर सो क्षेत्रका रुख कटान प्रक्रिया पूरा गरेर फाउन्डेसनको काम सुरु गरेको हो । आइएममी समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत लगानी तथा कैलाली लम्कीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानीमा केबुलकारको काम अगाडि बढेको हो । लगानीकर्ता सूर्यबहादुर थापाले पहिलो चरणको काम ४४ करोड ५० लाख रुपियाँको ठेक्का भएर काम अगाडि बढेको जानकारी दिनुभयो । उहाँले केबुलकारको सबै सामग्री इटालीबाट आउने जानकारी दिँदै माथिल्लो स्टेसनबाट फाउन्डेसनको काम सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मोहन्याल गाउँपालिका–७, राजकाँडामा रहेको टप स्टेसनमा फाउन्डेसनको काम सकिन लागेको छ भने बाटो पनि बन्दै छ । केही दिनमा चिसापानीमा रहेको बटम स्टेसनको फाउन्डेसनको काम सुरु हुन्छ ।” सुदूरपश्चिमको पहिलो केबुलकारका रूपमा जाल्पादेवी केबुलकार रहेको जनाउँदै यसको लम्बाइ ३.१ किलोमिटर लामो रहेको बताउनुभयो । केबुलकारको तीन चरणमा निर्माण सम्पन्न हुने भएको छ । फाउन्डेसन तयार भएपछि केबुलकारका लागि १५ वटा टावर र ३४ वटा गोन्डुलालगायतका सामग्री इटालीबाट ल्याइने भएको छ । पाँच अर्ब रुपियाँको लागतमा केबुलकार निर्माणले पूर्णता पाउने भएको हो । व्यवसायी थापाले अनुमानित लागत रकम बढ्न पनि सक्ने बताउनुभयो । उहाँले २०८३ वैशाखसम्म केबुलकार निर्माणले पूर्णता पाएर सञ्चालनमा आउने जानकारी दिनुभयो ।
महासङ्घका केन्द्रीय अध्यक्ष एवं जाल्पादेवी केबुलकार सञ्चालक चन्द्रप्रसाद ढकालले जाल्पादेवी केबुलकार सञ्चालनले सुदूरपश्चिम पर्यटन क्षेत्रको विकास र आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासमा कायापलट गर्ने क्षेत्र पर्यटन हो । विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सिर्जना गर्ने, राजस्व उठाउने, विकासमा समृद्धि आउन पर्यटन क्षेत्रबाट मात्र सम्भव छ ।”
मोहन्याल गाउँपालिकाका पर्यटन व्यवसायी रावलले केबुलकार सञ्चालनले मोहन्याल गाउँपालिकामा रहेको ऐतिहासिक धुलिकोट दरबारसँग जोडिएका महत्वपूर्ण संरचनाको अवलोकन र प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले चिसापानीदेखि छ किलोमिटर चुरे पहाडमा रहेको राजकाँडाबाट मनोरम दृश्य अवलोकनका साथै जाल्पादेवी मन्दिर दर्शनका लागि हिँडेर जानुपर्ने बाध्यतालाई केबुलकारले सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
दशकअघिको केबुलकार सपना
एक दशकपहिले केबुलकारको सपना बोकेर त्यसलाई साकार बनाउन कैलालीको पूर्वी क्षेत्र घोडाघोडी, लम्कीचुहा, टीकापुर, बर्दगोरियालगायतका पालिकाका ९९ जना स्थानीय युवाले जमर्को गरेका थिए । २१ हजारदेखि २६ हजार रुपियाँसम्म जम्मा गरेर बृहत्तर लम्की विकास मञ्चमार्फत सम्भाव्यता अध्ययन गरेर कम्पनी खोल्ने योजना बनाएका थिए । सूर्यबहादुर थापा तत्कालीन बृहत्तर लम्की विकास मञ्चका अध्यक्ष हुनुहुन्थ्यो । घोडाघोडी नगरपालिका–१, सुखडका सुनीलराज सापकोटाले आफूले समेत केबुलकार सञ्चालनका लागि १० वर्षपहिला २१ हजार रुपियाँ जम्मा गरेको बताउनुभयो । पुँजी लगानी जुटाउन नसकेपछि केबुलकार सञ्चालनमा ढिलाइ भएको थियो । ढकालले ७५ प्रतिशत लगानी लगाउने भएपछि केबुलकारको काम अगाडि बढेको हो । थापाले केबुलकारको सपना बुनेर रकम जम्मा गरेका ९९ जना सदस्यलाई आफूले पाउने २५ प्रतिशत सेयरबाट लगानीका आधारमा हिस्सेदार बनाउने बताउनुभयो ।
जाल्पादेवी केबुलकार सञ्चालनमा आएमा सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताइएको छ । लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली प्रदेशको रारा ताल, सुदूरपश्चिम प्रदेशको टीकापुर, घोडाघोडी, शुक्लाफाँट, रामारोशन, खप्तड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि जाल्पादेवी केबुलकारले पुलको काम गर्ने छ । केबुलकारको माथिल्लो स्टेसनमा रहेको राजकाँडामा सुविधासम्पन्न लज, रेस्टुरेन्ट र क्यान्टिनले पर्यटकलाई खान बस्नको सुविधा हुने छ । त्यहाँ स्टेसन बनाएर टीकापुर, घोडाघोडी हुँदै शुक्लाफाँटा, रामारोशन, खप्तड तथा बर्दिया राष्ट्रिय निकुञ्ज र मुगुको रारा घुम्न जान पर्यटकलाई सहज हुने पर्यटन व्यवसायी बताउँछन् ।
जाल्पादेवी केबुलकार सुदूरपश्चिम प्रदेशमा साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनको आकर्षणको केन्द्र हुने विश्वास लिइएको छ । अध्यक्ष ढकालले अन्य ठाउँमा सञ्चालनमा आएका केबुलकारले पर्यटकको आगमन र बसाइलाई लम्बाएको उल्लेख गर्दै सुदूरपश्चिममा रोजगारी सिर्जना, मानिसको आवागमनमा वृद्धि, स्थानीयको जीवनस्तरमा सुधार, भारतीय तथा विदेशी पर्यटकको गन्तव्य र पर्यटकको बसाइ लम्बाउने कार्य जाल्पादेवी केबुलकारले पूरा गर्ने उल्लेख गर्नुभयो । चिसापानीका व्यवसायी जनक शाहीले केबुलकार सञ्चालनमा आएमा पर्यटकको चहलपहल बढ्नुका साथै व्यापार व्यवसायसमेत बढ्ने आशा व्यक्त गर्नुभयो ।
२५ वर्षका लागि भोगाधिकार सम्झौता
लम्कीचुहा र मोहन्याल गाउँपालिकाको क्षेत्रमा पर्ने करिब सात किलोमिटर चिसापानी राजकाँडा क्षेत्रको बिचभागमा जङ्गल क्षेत्र पर्दछ । उक्त क्षेत्रमा केबुलकार सञ्चालनका लागि जमिन भोगाधिकार र रुख कटानका लागि सरकारले अनुमति दिएपछि वन विभागसँग जाल्पादेवी केबुलकारसँग सम्झौता भएको हो । रुख कटानको आदेश नआउँदा केबुलकारको काम अगाडि बढाउन समय लागेको सञ्चालक बताउँछन् । जाल्पादेवी केबुलकारले जग्गा भोगाधिकार र रुख हटाउनका लागि वन विभागमा निवेदन दिएपछि वातावरण मूल्याङ्कन प्रतिवेदन, डिभिजन वन कार्यालय पहलमानपुरको रायका आधारमा सम्झौता भएको बताइन्छ । वन विभाग र जाल्पादेवी केबुलकारबिच २०८० पुस १६ गते १३.२ हेक्टर क्षेत्रफल जमिन २५ वर्षका लागि भोगाधिकार सम्झौता भएपछि त्यस क्षेत्रको रुख छपान र कटानका लागि डिभिजन वन कार्यालय पहलमानपुरलाई आदेश दिइएको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत दीपेन्द्र केसीले २०८० चैत १६ गते डिभिजन वन कार्यालय पहलमानपुरले चिसापानी राजकाँडा क्षेत्रमा केबुलकार सञ्चालनका लागि विभागसँग सम्झौता भएको जमिनमा पर्ने एक हजार ८६६ रुख छपान र कटानका लागि केबुलकार कम्पनीलाई परिपत्र गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थलगत अध्ययनपछि हटाउनुपर्ने रुखको छपानको काम डिभिजन वनले ग¥यो । कटान र घाटगद्दीपछि डिभिजन वनलाई काठ हस्तान्तरण गर्ने काम केबुलकारको हो ।
प्रदेशको पहिलो केबुलकार
निर्माणाधीन जाल्पादेवी केबुलकार सुदूरपश्चिम प्रदेशको पहिलो केबुलकार हुने भएको छ । कैलाली र कञ्चनपुर तराईका जिल्लाबाहेक डोटी, डडेलधुरा, बैतडी, बझाङ, अछाम, बाजुरा र दार्चुला पहाडी जिल्ला हुन् । पहाडका धेरै जिल्ला सडक विस्तारले विकसित हुँदै छन् । खप्तड, बडीमालिकालगायतका क्षेत्र प्राकृतिक अनुपमका साथै धार्मिक क्षेत्र पनि हुन् । खप्तड जाने बाटो डोटीको भिङ्ग्रानामा खप्तड होमस्टे सञ्चालक दीपकबहादुर खड्काले खप्तड र बडीमालिकामा केबुलकार सञ्चालनका लागि विभिन्न देशविदेशका व्यापारीले चासो देखाए पनि भौगोलिक अवस्था, कानुनी प्रावधानका कारण हच्किने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सानोतिनो लगानीले सम्भव छैन, ठुलो लगानी लगाउन लगानीकर्ता आँटिलो हुनु पर्छ । हामीले केही वर्षअगाडि केबुलकार सञ्चालन गर्न खुत्रुके अभियान पनि चलायौँ । दुई लाख जति जम्मा पनि भएको थियो । त्यो रकम अहिले डोटी उद्योग वाणिज्य सङ्घसँग छ । केही वर्षपहिला एडिबी, स्विस कम्पनीले पनि खप्तडमा केबुलकारका लागि कुरा चलाएको थियो ।”
पर्यटन व्यवसायी खड्काले सामान्य कुरा चले पनि प्रक्रियागत रूपमा अहिलेसम्म कसैले पनि काम गर्न अगाडि बढाएको नभेटिएको बताउनुभयो । उहाँले केही दिनमा खप्तडमा केबुलकार सञ्चालन अध्ययनका लागि भनेर भारतबाट व्यापारिक टोली आउने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । निजी कम्पनीको लगानीमा मनकामना, चन्द्रागिरी, मौलाकालीलगायत आठ वटा केबुलकार सञ्चालनमा आइसकेको अवस्थामा जाल्पादेवी केबुलकार सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशसमेत केबुलकारले जोडिएको प्रदेश साबित हुने छ । यो नै सुदूरपश्चिम प्रदेशको पहिलो केबुलकारका रूपमा रहने छ ।