• २८ वैशाख २०८२, आइतबार

सेती लोकमार्ग : समृद्धिको आधार

blog

सुदूरपश्चिमेलीको समृद्धिको सपना बोकेको सेती लोकमार्ग निर्माण सुरु भएको डेढ दशक बितिसक्यो । सेती नदीको किनार भएर साँघुरा घुम्ती पार गर्दै माथि उक्लिएको बाटो हेर्दा सुदूरपश्चिमको समृद्धिको चित्र आँखाअगाडि आउँछ । नेपाल–भारत–चीन त्रिदेशीय सम्बन्धलाई आर्थिक र भौगोलिक रूपमा नजिक ल्याउने उद्देश्यले दक्षिणतिर कैलालीको तिकुनिया (टीकापुर) देखि सुरु भई उत्तरतिर ताक्लाकोट पुग्ने यो लोकमार्ग केवल कच्ची ट्र्याक मात्र होइन, सुदूरपश्चिमका जनताको सपना, सङ्घर्ष र सम्भावनाको सडक हो ।

आर्थिक वर्ष २०६५/६६ मा जब सरकारले सेती लोकमार्ग निर्माण सुरु ग¥यो, तब स्थानीयवासीमा आशा पलाएको थियो तर १५ वर्ष बितिसक्दा पनि सपना कागजमै सीमित छ । आयोजना निर्माणको काम सुस्त छ र जनताका आशा झन् थकित हुँदै गएका छन् । यो महìवाकाङ्क्षी आयोजना आजसम्म पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले प्राथमिकतामा राखेको राष्ट्रिय गौरवको आयोजनाको गति सुस्त हुनु हुँदैनथ्यो ।

भारतको सीमावर्ती क्षेत्र कैलालीको टीकापुरस्थित तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य राखिएको यो लोकमार्ग, नेपाल–भारत–चीन त्रिदेशीय सम्बन्धलाई आर्थिक एवं भौगोलिक रूपमा नजिक ल्याउने महत्वपूर्ण कडी हो । विकास, व्यापार र समृद्धिको ढोका खोल्ने अपेक्षासहित निर्माणमा लागेको यो सडकले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिमा प्रत्यक्ष सहभागी गराउने विश्वास गरिएको छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित सेती लोकमार्गलाई उत्तरी र दक्षिणी खण्ड गरेर दुई भागमा विभाजन गरिएको छ । समग्रमा हेर्दा यो लोकमार्गको कुल लम्बाइ ३५९ किलोमिटर रहेको छ । चालु आवका लागि सरकारबाट दक्षिणी तथा उत्तरी खण्डमा गरेर ७० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । 

उत्तर खण्डको अवस्था

उत्तर खण्ड सेती लोकमार्ग (चैनपुर–ताक्लाकोट) सडक योजना हो । यसको लम्बाइ १५५ किलोमिटर रहेको छ । सेती नदीको किनार हुँदै ट्र्याक निर्माण भइरहेका छन् । हालसम्म ७८.५ किमी ट्र्याक खोलिएको र पाँच वटा पुलको निर्माण भइसकेको योजना प्रमुख वीरेन्द्र यादवले बताउनुभयो । अझै ७६.५ किलोमिटर ट्र्याक, छ वटा पुल र सम्पूर्ण कालोपत्रेको काम बाँकी छ । कुल अनुमानित लागत नौ अर्ब २३ करोड रुपियाँ रहेको योजनाको चालु आवमा २४ करोड रुपियाँ विनियोजन गरिएको थियो । हालसम्मको भौतिक प्रगति करिब १२ प्रतिशत तथा वित्तीय प्रगति ११.९ प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो । चालु आवमा पाँच किमी ट्र्याक र ४.९ किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा हालसम्म यो आवमा एक किमी मात्र ट्र्याक खोलिएको छ । कठिन भौगोलिक अवस्था, कडा चट्टानी भूभाग, विस्फोटक पदार्थको अभाव तथा आवश्यक जनशक्ति र बजेट अभावले गर्दा निर्माणमा ढिलाइ भइरहेको योजना कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । योजना प्रमुख यादवले भन्नुभयो, “वर्षमा पाँच किलोमिटर ट्र्याक खोल्ने योजना थियो तर यो वर्ष एक किलोमिटर पनि गाह्रो भयो । साथै सडक क्षेत्रमा पर्ने रुखको व्यवस्थापन गर्दा लामो कानुनी प्रव्रिmया सामना गर्नु परेको पनि जनाइएको छ ।

सदरमुकाम चैनपुरबाट करिब एक सय किलोमिटरको दुरीमा चीनको सीमा जोड्ने यस सडकमा तलकोट गाउँपालिकाको रूपातोलासम्म १८ किलोमिटर कच्चीमा मात्रै गाडी चल्छ  । त्यहाँबाट साइपालको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको काम दुई वर्षभित्र सक्ने गरेर २०७४ सालमा लगाएको ठेक्कामा अहिलेसम्म १९ किलोमिटर मात्र ट्र्याक खोलिएको छ ।

निर्माण कम्पनी स्वच्छन्द बानियाँ नागार्जुन जेभीले दोस्रो पटक थपिएको ठेक्काको म्याद सकिँदा पनि निर्माण सकेको छैन । दोस्रो पटक थपिएको ठेक्का म्याद गत कात्तिकमा सकिएको छ । ८५ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता गरेको कम्पनीले सरकारबाट ७० करोड रुपियाँ भुक्तानी लिइसकेको छ । यसअघि निर्माण स्थलको भूगोल, मौसम, आन्तरिक समस्या जस्ता कारणले ढिलाइ भएको बताउने निर्माण कम्पनीले यस पटक भने विस्फोटक पदार्थ समयमा उपलब्ध नहुनुलाई दोष दिएको छ ।

“सुरुमा हामीले मेसिनले नै ट्र्याक खोल्न सकिन्छ भन्ने सोचेका थियौँ, पछि विस्फोटक पदार्थ आवश्यक प¥यो,” कम्पनीका प्रतिनिधि ऋषि बानियाँले भन्नुभयो, “अरू निर्माण सामग्री जस्तो विस्फोटक पदार्थ सजिलै उपलब्ध हुन कठिन भएकाले काम सक्न ढिला भएको हो ।” 

विभिन्न कारणले झन्डै एक वर्ष कुनै पनि काम नगरेको यस कम्पनीले ठेक्काको म्याद सकिनै लाग्दा गत असोजबाट पुनः सुरु गरे पनि गति निकै सुस्त छ । यही गतिमा काम भए धुलीसम्म ट्र्याक खोल्न चार/पाँच वर्ष लाग्ने स्थानीयको अनुमान छ । नेताले यही सडकलाई प्रमुख एजेन्डा बनाउने गरेको तर कछुवा गतिमा निर्माणको काम भइरहेको प्रति स्थानीय असन्तुष्ट छन् ।

योजना विसं २०७३/७४ देखि सञ्चालनमा आएको हो भने यसको कार्य अवधि २०८४/८५ सालसम्म निर्धारण गरिएको छ । योजनाको मुख्य कार्यालय बझाङको सदरमुकाम चैनपुरमा रहेको छ भने कार्यक्षेत्र खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका, तलकोट र साइपाल गाउँपालिकामा विस्तार गरिएको छ । सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर–ताक्लाकोट सडक योजना बझाङ जिल्लाको विकासका लागि महत्वपूर्ण आधारका रूपमा अघि बढिरहेको छ । चीनको ताक्लाकोट नाका हुँदै धार्मिक तथा व्यापारिक दृष्टिले अत्यन्त महìवपूर्ण मानिने मानसरोवर क्षेत्रलाई जोड्ने यो सडकले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ । 

दक्षिण खण्ड अवस्था

दक्षिण खण्डमा कैलाली, अछाम, डोटी र बाजुरा समेटिन्छ । सो खण्ड अन्तर्गत कैलाली (७२ किमी) अछाम (८० किमी), बाजुरा (१२ किमी), डोटी (४० किमी) र गरेर कुल २०४ किलोमिटर क्षेत्र समेटिएको छ । हालसम्म कैलालीमा ७२ किमी,  अछाममा ५८ किमी ट्र्याक खोलिएको छ । डोटी खण्डका सबै ४० किमी तथा बाजुराको १२ किमी ट्र्याक अझै खोल्न बाँकी छ । जम्मा १० वटा ठेक्का सम्झौता गरिएको आयोजनाको सो खण्डमा सडकको कालोपत्रेको काम १२ किलोमिटरमा मात्रै भएको छ । निर्माणमा देखिएको ढिलाइका पछाडि बजेट अभाव र वातावरणीय अनुमति प्रक्रिया प्रमुख अवरोध बनेका छन् । खासगरी डोटी खण्डमा रुख कटानसम्बन्धी आदेश ढिलो हुँदा काम रोकिएको थियो । यद्यपि गत मङ्सिरमा मन्त्रीपरिषद्बाट रुख कटानको अनुमति प्राप्त भएपछि काम अघि बढेको सेती लोकमार्ग (दक्षिण खण्ड) टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालय, साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । 

दक्षिण खण्डमा चालु आवमा ४६ करोड रुपियाँ विनियोजन गरिएकोमा हालसम्म १९ करोड मात्रै खर्च गरिएको उहाँले बताउनुभयो । पुल निर्माणतर्फ कैलालीमा एउटा पुल सम्पन्न भइसकेको छ भने अर्को पुल निर्माणको अन्तिम चरणमा रहेको छ । अछामतर्फ पनि एउटा पुलको निर्माण सकिएको छ । त्यस्तै अछामको गौरीगाडमा एक, कैलालीमा एक र डोटी र अछाम सिमाना सेती नदीमा एउटा र कैलाली र डोटीको सिमाना ठुलीगाडमा अर्को गरेर चार वटा पुल बोलपत्र प्रक्रियामा रहेका सेती लोकमार्ग (दक्षिण खण्ड) टीकापुर–लोडे–चैनपुर सडक योजना कार्यालयका सूचना अधिकारी केशव मिश्रले बताउनुभयो । 

कार्यान्वयन चुस्त गर्न माग

१५ वर्षको प्रतीक्षा, करोडौँ रुपियाँ खर्च तर भौतिक प्रगति झन्डै ३० प्रतिशत मात्र रहेको राष्ट्रिय गौरवको आयोजना अझै थलिएको अवस्थामा छ । हरेक निर्वाचनमा नेताले ताक्लाकोट सडकको सपना देखाएर भोट त माग्छन् तर जितेपछि उनीहरूको भाषणमै हराउने गरेको स्थानीयको भनाइ छ ।

सेती लोकमार्ग सुदूरपश्चिमको समृद्धिको मेरुदण्ड हो भन्ने कुरा सबैले स्विकारे पनि यसको कार्यान्वयनमा उदासीनता देखिएको छ । पालिका प्रमुख, उपप्रमुखदेखि प्रदेश सभा सदस्य, सभामुख, सङ्घीय सांसदले बेला बेलामा प्रधानमन्त्री र मन्त्रालयलाई मागपत्र बुझाउने गरेका छन् तर चासो वृद्धि हुन सकिरहेको छैन ।

यस विषयमा बझाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भानुभक्त जोशीले सरकारी पक्षबाट बजेट आएर पनि ठेक्का प्रक्रियापछि निर्माण कम्पनीको लापर्बाहीका कारण अपेक्षित रूपमा काम अगाडि बढ्न नसकेको बताउनुभयो । आव २०७२/७३ मा तलकोट गाउँपालिकाको रूपातोलादेखि उरै ताक्लाकोटसम्मका लागि एक अर्ब रुपियाँको ठेक्का भयो तर निर्माण कम्पनीले कामका ढिलासुस्ती देखायो । यो आवमा खप्तडछान्ना गाउँपालिकाको तमैलदेखि गडरायसम्मको सडक स्तरोन्नतिका लागि ४८ करोड रुपियाँ माग गरेर सिफारिस गरिएको भए पनि अर्थ मन्त्रालयले सहमति नदिएको उहाँले बताउनुभयो ।