• २५ वैशाख २०८२, बिहिबार

कृषिमा आत्मनिर्भरतातर्फ

blog

कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन सहयोग गरेको पाइएको छ । सरकारले बजेटमा प्राथमिकता दिएको कृषि, मत्स्यपालन, पशुपन्छी र सहकारी शीर्षकतर्फ कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान, पढ्दै कमाउँदै कृषि कार्यक्रम, हत्केलामा कृषि सेवा, कृषक र कृषक प्राविधिकसँगसँगै अवधारणा, कृषि उत्पादनको मूल आधार माटो हो, हातमा ठेला निधारमा पसिना खेतबारीमा फसल, खेतबारी नराखौँ बाँझो अन्नबाली फलाऔँ मिलाई चाजोपाजो, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम आदि नारासहित कृषि गतिविधि सञ्चालन गरिरहेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले जानकारी दिनुभयो । 

विविधीकरण र आधुनिकीकरण व्यवसायीकरणलाई मुख्य प्राथमिकता राखेर आमकृषकको आम्दानी वृद्धि गर्नमा टेवा पु¥याउन कृषकलाई कृषि ऋणको ब्याज र विद्युत् महसुलमा सहुलियतको व्यवस्थासमेत मिलाउने काम पनि भइरहेको उहाँको भनाइ छ । 

किसानलाई मल

सुदूरपश्चिममा किसानलाई सहज रूपमा मल पाउन समस्या भइरहेका बेला भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकाले साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीसँग सम्भौता गरेर अनुदानमा सहकारीमार्फत मल कृषकलाई वितरण गरेको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले खरिद गर्ने मलको केवल नौ प्रतिशत मात्रै कोटा सुदूरपश्चिमले पाउने गरेको छ । सरकारले तोकेकै कोटा अनुसारको मल साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले वितरण गर्दै आएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन प्रादेशिक कार्यालय धनगढीले अनुदान प्राप्त युरिया र डिएपी मल वितरण गरेको छ । कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी रासायनिक मलको खपत हुने गरेको छ । कैलालीमा ३१३ कृषि सहकारीमार्फत मल वितरण गरिँदै आएको छ भने कञ्चनपुरमा १४७ सहकारीले मल वितरण गर्ने अनुमति पाएका छन् । बाँकी पहाडी जिल्लामा ४९ सहकारीले मल वितरण गर्दै आएका छन् । कृषि सामग्री कम्पनीले सुदूरपश्चिममा यस वर्ष युरिया १५ हजार पाँच सय मेट्रिक टन बिक्री गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म आठ हजार १२२ मेट्रिक टन मात्रै वितरण गरेको छ ।

कृषि मेला

प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला कैलालीको धनगढीमा सम्पन्न गरेको छ । सुदूरपश्चिमको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक गत माघमा प्रदेशस्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनीको आयोजना गरेको थियो । मेलामा सुदूरपश्चिमका नौ जिल्लाका ८८ वटै स्थानीय तहबाट चार हजार पाँच सय अगुवा कृषकको सहभागिता रहेको थियो । मेलामा अगुवा कृषकका साथै २६ हजारभन्दा बढी उपभोक्ताले मेला अवलोकन गरेका थिए । यो मेलाबाट यस क्षेत्रका किसान उत्साहित भएका थिए । मेलामा १४० उकृष्ट कृषकलाई नगदसहित सम्मान गरेको मन्त्रालयले जनाएको छ । 

कृषि उत्पादन बढाएर युवालाई रोजगारी दिने र सुदूरपश्चिम प्रदेशलाई कृषिबाट चिनाउन, उत्पादन बढाउन र बजारीकरण गर्न प्रदेश सरकारले राम्रो प्रयासको थालनी गरेको थियो । १५० स्टल रहेको मेलामा नौ वटै जिल्लामा उत्पादन भएका कृषि उपजको प्रदर्शनीसँगै हरेक दिन कृषिसम्बन्धी नवीनतम प्रविधिको विषयमा जानकारी दिएर विज्ञसँग कृषकलाई राखेर कृषि तथा पशुपन्छी क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानबारे बहस र छलफलसमेत गरिएको थियो । यसले कृषकलाई कृषि पेसामा लाग्न सहयोग पुगेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले बताउनुभयो । 

उत्पादनदेखि बजारीकरणसम्म

सुदूरपश्चिम प्रदेश सरकारले दुर्गम पहाडी जिल्ला बाजुरा, बझाङ र दार्चुलामा कृषि नै हो पहिलो आधार अन्तर्गत कृषकको साझेदारीमा राज्मा दाल, सिमी, कोदो, फापर, मह र चुकलाई लेबलिङसहित बजारीकरण गर्न सहयोग गरेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुस्मीले जानकारी दिनुभयो । सुदूरपश्चिमका दुर्गम तीन जिल्लामा पर्याप्त मात्रामा राज्मादेखि कोदोसम्म उत्पादन हुने र यसको बजारीकरण नभएपछि मन्त्रालयले बजारीकरणमा सहयोग गर्दै आएको छ । तपाईंको उत्पादन, हाम्रो बजारीकरण अभियानसहित कृषि उपजको बजार सुनिश्चतताका लागि खरिदबिक्री र ढुवानीको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको छ । त्यस्तै परम्परागत कृषिमा आधुनिक प्रविधि, रैथाने बाली र फलफूल खेतीमार्फत आत्मनिर्भर बनाउने नीति अन्तर्गत रैथाने बाली फलफूल प्रशोधन प्याकेजिङ गरेर उद्योग सञ्चालन गर्ने कार्यक्रम सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । 

कृषि बाली बिमा

सुदूरपश्चिममा कृषि बिमातर्फ किसानको आकर्षण बढ्न थालेको छ । ३९ वटा कृषि पाठशाला सञ्चालनमा आएर ४४५ रोपनीमा बिमा गरिएको मन्त्रालयले जनाएको छ । कृषि बाली बिमासम्बन्धी सचेतना अभिवृद्धि भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । कृषि बिमा गराउँदा किसानको पैसा नलाग्ने भएपछि किसान कृषि बिमामा जोडिएका हुन् । बिमातर्फ किसानको आकर्षण बढाउन नौ वटै जिल्लामा सञ्चालित एफएम रेडियोमार्फत प्रचारप्रसार गरिनुका साथै पालिकास्तरीय अन्तर्क्रिया कार्यक्रम भइरहेको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी कुस्मीले जानकारी दिनुभयो । बिमा प्राधिकरणका अनुसार सुदूरपश्चिमका बिमाभन्दा बढी किसानलाई बिमाको पहुँचमा ल्याउन तीन बिमा कम्पनीलाई जिम्मेवारी दिएको छ । कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलामा नेपाल इन्स्योरेन्स कम्पनीले बिमा गराउँदै आएको छ । कैलाली, डोटी र बझाङमा राष्ट्रिय बिमा कम्पनी, अछाम र बाजुरामा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले कृषि, पशुपन्छी र जडीबुटी बिमा गराउँदै आएको छ ।

माछाका भुरा उत्पादन

तालतलैयाले भरिपूर्ण कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा देखिएको किसानको आकर्षणले माछाका भुराको माग बढ्दो छ । प्रदेश सरकारमातहतको कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले माछाको भुराको उत्पादन बढाएको हो । केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान महँगोे मूल्य तिरेर निजी फार्म र अन्य प्रदेशबाट समेत माछा भुरा खरिद गर्न बाध्य रहेका छन् । यो वर्षमा एक करोड सात लाख ५० हजार रुपियाँका माछाका भुरा उत्पादन गरेको गेटामा मत्स्य विकास केन्द्र प्रमुख निर्मल खातीले बताउनुभयो । 

धानमा आत्मनिर्भर र क्षेत्र विस्तार 

सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत कैलाली, कञ्चनपुर र डोटीलगायत छ वटा जिल्लामा विस्तार गरिएको छ । मन्त्रालयले प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरेर एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो । मन्त्रालयका अनुसार कैलालीमा ५२५ हेक्टर, कञ्चनपुरमा चार सय हेक्टर, डोटी, अछाम र बैतडीमा २५/२५ हेक्टरमा खेती विस्तार गर्ने लक्ष्य लिइएको छ ।