अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २३ गते । चापाकोट नगरपालिका–९ पाकरीमा सिँचाइका लागि डिप बोरिङ निर्माणलाई तिब्र पारिएको छ । डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रका दुई सय रोपनी क्षेत्रफल सिँचाइका लागि सहज हुने र कृषि उत्पादनमा वृद्धि हुने विश्वास गरिएको छ ।
भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेश नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणको काम सकिएको सिनियर सब इन्जिनिर मुकेश विकले बताउनुभयो । पहिलो चरणमा प्रदेश सरकारले विनियोजन गरेको २० लाखबाट डिप ट्युवेल खन्ने काम भएको बताउदै उहाँले अब दोस्रो चरणमा पम्प जडान गर्नको लागि घर निर्माण, विद्युत् जडान र वितरणको काम हुने बताउनुभयो ।
प्रति सेकेन्ड दुई लिटर मात्रै पानी निस्केको हुँदा धान खेती गर्नका लागि नभए पनि नगदे बालिका लागि प्रशस्त पानी पुग्ने शब इन्जिनियर विकको भनाइ थियो । क्रमागत योजना भएको हुँदा प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरेमा अर्को वर्षसम्म हुने बताउँदै विकले भन्नुभयो, “यो योजना सम्पन्न गर्न करिब ५० लाख लाग्ने अनुमान गरेका छौँ । ”
यसअघि भिरकोट नगरपालिकामा दुई वटा डिप ट्युवेल खन्ने काम सम्पन्न भएको थियो । त्यहाँ प्रति सेकेन्ड १९ लिटर पानी निस्केको थियो । ज्याग्दी सिँचाइले नछोएको र आकाशे पानीको भरमा खेत गरिरहेका चापाकोट नगरपालिका–९ पाकरीका ४० घरधुरीका स्थानीयले अर्को वर्षदेखि सिचाईँको प्रयोग गरी खेतीपाती गर्न पाउने सिँचाइ समितिका अध्यक्ष मणि खनालले बताउनुभयो ।
वोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेती गर्न पाउनु हुने छ । पाकरी खोला बहुद्देदेश्यीय जलशायको डिपिआर अन्योल चापाकोट नगरपालिका–९ पाकरीमा निर्माण गरिने भनिएको पाकरी खोला बहुउद्देश्यीय जलशाय आयोजनाको डिपिआर अन्योलमा परेको छ ।
चापाकोट नगरपालिकाको आर्थिक वर्ष २०८१-८२ को बजेटमा पाकरी खोला बहुउद्देश्यीय जलशाय आयोजनाको डिपाआर गर्न बजेट विनियोजन गरेको भए पनि यसको पक्रिया अझै सुरु हुन नसकेको हो । तत्कालीन नगर प्रमुख स्व. शिवकुमार गिरीको विशेष पहलमा कृषि, पर्यटन र रोजगारीका धेरै सम्भावनामा बोकेको पाकरी खोला बहुउद्देश्यीय जलशाय आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भएको थियो ।
बहुउद्देश्यीय जलशाय आयोजनाको डिपिआर गर्न नगरपालिकाले उच्च प्राथमिकतामा राखिएको भन्दै नीति तथा कार्यक्रममा प्रस्तुत गरे पनि पालिकाले विभिन्न बाहाना बनाएर पक्रिया अगाडि नबढाएपछि स्थानीय चिन्तीत बनेका छन् ।