निशा राई
धरान, वैशाख २३ गते । धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोभीमा ९७ प्रतिशत विषादी भेटिएपछि नष्ट गरिएको छ । मङ्गलबार तरकारीमा विषादी चेकजाँच गर्ने क्रममा पालुङवाबाट आएको २४ सय १२ केजि फूलकोभीमा विषादीको मात्रा अत्याधिक भेटिएको हो ।
धरान–१३ स्थित कृषि बजारमा रहेको विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइले चेकजाँच गर्दा उक्त फूलकोभीमा ९७.४०१४ प्रतिशत भन्दा बढी देखिएकोले नष्ट गरिएको धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बिक्रम बेघाले बताउनुभयो ।
विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइले गत पुष महिनादेखि निरन्तर रूपमा तरकारीहरूमा चेकजाँच गर्दै आएको छ । यसरी चेकजाँच गर्दा पहिलो पटक यति धेरै विषादी भेटिएको उहाँले बताउनुभयो ।
यस विषादीले मानिसको स्वास्थ्यमा धेरै असर गर्ने भएकोले भोलिदेखि दैनिक रूपमा कृषि बजारमा विषादी चेकजाँच नगरी तरकारी बेच्न नपाइने उपप्रमुख बेघाले बताउनुभयो । यसरी तरकारी चेकजाँच गर्दा प्रायः गरी पश्चिमबाट आउने तरकारीहरूमा विषादी बढी मात्रामा देखिने गरेको उहाँले बताउनुभयो ।
प्रयोगशालाको तथ्याङ्क अनुसार सिधुवा धनकुटाबाट ल्याएको फूलकोभीमा ८.३९४२ प्रतिशत, साधा सिमीमा ७.४४८२, गाजरमा १०.११९८ यसैगरी पालुङवाबाट आएको खिरामा ३०.७३१ प्रतिशत, विराटनगर मोरङबाट आएको गोलभेडामा २५.२१७१ प्रतिशत, बन्दाकोभी २९.६९०० प्रतिशत , कटहरी मोरङबाट आएको घिरौलामा ३०.७८५६ प्रतिशत रहेको देखिएको छ ।
यसरी ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य हुने, ३५ प्रतिशत देखि ४५ प्रतिशत सम्म भए केहि दिन राखेर उपभोग गर्न सकिने र ४५ प्रतिशत भन्दा बढी खान अयोग्य हुने भएकोले नष्ट नै गर्न पर्ने विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइ धरानको नायब प्राबिधिक सहायक रुपेश रिजालले बताउनुभयो । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेका नेपालभर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन् ।
यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका कृषि थोक बजारमा विषादीको जाँच गर्छन् । जसमा हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी दुई समूहको रसायन मात्र जाँच हुँदै आएकोले सोही अन्तर्गतको मात्र जाँच गरिएको उहाँले बताउनुभयो ।
व्यापारी सन्तोष ढकाल र लाले चौधरीको कृषि बजारमा रहेको पसलमा झारिएको उक्त फूलकोभीमा विषादी भेटिएपछि धरान उपमहानगरापालिकाको उपप्रमुख बेघा, धरान–१३ को वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराई, धरान उपमहानगरपालिकाको प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटा, लगायत प्रहरी, जनप्रतिनिधिहरूको उपस्थितिमा विषादी युक्त तरकारीको नष्ट गरिएको थियो ।