गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते । नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । वार्षिक रूपमा कुल मृत्यु हुने सङ्ख्यामध्ये नसर्ने रोगका कारणले मृत्यु हुने सङ्ख्या ५० प्रतिशत रहने गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपालमा मृत्युको स्थिति’ विषयगत प्रतिवेदनमा कुल मृत्यु हुने सङ्ख्यामध्ये नसर्ने रोगका कारणले मृत्यु हुने सङ्ख्या ५० प्रतिशत हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
आधुनिक जीवनशैली, खानपान, वातावरणीय तत्व, शारीरिक श्रममा कमी, प्रविधिमैत्री सेवालगायतका कारणले गर्दा कुल मृत्यु हुने सङ्ख्यामध्ये ५० प्रतिशत नसर्ने रोगका कारणले मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
३० वर्षको अन्तरालमा मृत्युको दरमा कमी आए पनि कुल मृत्यु हुने सङ्ख्यामध्ये ५० प्रतिशत सङ्ख्याको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ । २०५८ सालमा भएको जनगणनामा कोरा मृत्युदर १०.२ थियो भने २०६८ सालको जनगणनामा उक्त प्रतिशत झरेर ७.३ मा सीमित भएको छ । त्यस्तै २०७८ को जनगणनामा भने सो दर घटेर ६.८ प्रतिशत मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता तथा उपप्रमुख ढुण्डीराज लामिछानेले क्रमिक रूपमा मृत्यु हुने दरमा कमी आए पनि नसर्ने रोगका कारणले मृत्यु हुने सङ्ख्याको दर भने बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नसर्ने रोगका कारणले मृत्यु हुनेको सङ्ख्या बढ्दै जानु राष्ट्रकै लागि चुनौतीको विषय हो, आगामी दिनमा सरकारले नीति निर्माण गर्दा नसर्ने रोगबाट मृत्यु हुन नदिन विभिन्न विधि अवलम्बन गर्ने गरी नीति बनाउनु आवश्यक देखिन्छ ।”
सरुवा रोगका कारणले मृत्यु हुने सङ्ख्या १२.६ प्रतिशत, प्राकृतिक प्रकोपका कारणले मृत्यु हुने ४.८ प्रतिशत, सडक दुर्घटनाबाट मृत्यु हुने ५.९ प्रतिशत, आत्महत्याका कारणले मृत्यु हुनेको सङ्ख्या २.७ प्रतिशत रहने गरेको तथ्याङ्क कार्यालयले जनाएको छ भने बाँकी प्रजनन प्रसूति जटिलता, हत्या, कालगतिलगायत अन्य विविध कारणले मृत्यु हुने गरेको छ । प्रदेशस्तरमा हेर्दा नसर्ने रोगका कारणले उच्चतम रूपमा मृत्यु हुनेमा ५७ प्रतिशत कोशी प्रदेश र न्यूनतम मधेशमा ४१ प्रतिशत छ ।
यसै क्रममा तथ्याङ्क कार्यालयले नेपालमा मृत्युको स्थितिसँगै नेपालमा बुढ्यौलीको अवस्था र नेपालमा बोलिने भाषाको पनि प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणनाका विभिन्न प्रतिवेदनमध्ये अझै आठ वटा प्रतिवेदन सार्वजनिक गर्न बाँकी रहेको उक्त प्रतिवेदन पनि क्रमिक रूपमा सार्वजनिक हुँदै जाने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।