शशिधर पराजुली
विराटनगर, वैशाख २१ गते । सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने देवानगञ्ज गाउँपालिकाको खेतीयोग्य जमिन यतिबेला हराभरा छ । गहुँ काटेर भर्खरै खाली भएको बाहेक कुनै जमिन बाँझो छैन । देवानगञ्जका खेतमा लहलह भएको अनेकथरी बालीले त्यहाँ पुग्ने सबैको ध्यान खिच्ने गरेको छ ।
देवानगञ्ज कोशी प्रदेशमै सबैभन्दा धेरै तरकारी उत्पादन हुने गाउँपालिका हो । त्यहाँ उत्पादन भएको तरकारीले प्रदेश राजधानी विराटनगरको झण्डै ७० प्रतिशत हरियो तरकारीको माग पूरा गर्ने गरेको छ ।
त्यसबाहेक त्यहाँ उत्पादित तरकारी इटहरी, धरान, बिर्तामोड तथा कतिपय तरकारीहरू काठमाडौँसम्म पनि निर्यात हुने गरेको छ । देवानगञ्ज गाउँपालिकाको झण्डै ८ हजार हेक्टर जमिनमा तरकारी खेती हुने गरेको छ । युवा उमेरका देखि वृद्धवृद्धासमेतले तरकारी खेती र अन्य कृषि उत्पादनलाई आफ्नो जीवन नै बनाएका छन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले देवानगञ्जका किसानहरु अत्यन्त मिहेनती रहेको बताउनुभयो । ‘‘यहाँका किसानहरू धेरै मिहेनती हुनुहुन्छ, जमिनबाट वर्षमा चार बालीसम्म उत्पादन लिइरहनुभएको छ, उहाँहरूलाई कसैसँग बोल्ने र अनावश्यक काममा एक दुई घण्टा समय खर्चिने फुर्सदसम्म छैन,’’ पोखरेलले भन्नुभयो ।
त्यहाँका किसानहरू कृषि उत्पादनमा रमाएर लगानी गरिरहेका छन् । उनीहरूले लगानीमात्र गरेका छैनन्, कृषि कर्मलाई नै आफ्नो जीवनको आधार बनाएका छन् । यतिबेला देवानगञ्जमा तरकारी बालीबाहेक जताततै लहलह मकै फलिरहेको देख्न सकिन्छ । लाग्छ यो क्षेत्र मकैको जङ्गल नै हो । किसानहरूले तरकारी खेतीबाट भन्दा मकैखेतीबाट राम्रो आम्दानी गर्ने भएपछि केही वर्षयता मकै उत्पादनमा बढी लगानी गरिरहेका छन् । तर हिउँदको करिब चार महिना बाहेक उनीहरूले खेतमा तरकारी बालीमै जोड दिने गरेका छन् । त्यहाँका किसानहरूले कृषि कर्मबाटै मनग्य आम्दानी गर्ने गरेका छन् ।
कृषिलाई नै जीवन ठानेर दिनरात मिहेनत गरिरहेका किसानहरू भने कृषि उपजले उचित मूल्य नपाएकोमा निराश छन् । देवानगङ्गा गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता किसानले उत्पादन गरेको गोलभेडा अहिले प्रतिकिलो तीन रुपियाँका दरले बेच्नु परिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘किसानको लगानी नै प्रतिकिलो १०–१२ रुपियाँभन्दा बढी पर्छ अनि बजारमा तीन रुपियाँमा बेच्नु परेपछि कसरी कृषि गर्न सकिन्छ ?’’
आफ्नो उत्पादनको उचित मूल्य नपाउने समस्यामात्र होइन अनेकखालका समस्याहरु किसानहरूले झेल्नुपरिरहेको छ । तरकारीको बिउ किन्न दर्जनौं पसलहरू चहार्नुपर्ने बाध्यता छ, सरकारले एकै ठाउँमा सबै प्रकारका बिउ बिक्री गर्ने पसलहरूका लागि समन्वय गरिदिनुपर्ने स्थानीय किसान हिटलर मेहताको सुझाव छ ।
रसायनिक मलको समस्या किसानहरूका लागि सबैभन्दा पीडादायी बन्ने गरेको उनीहरू सुनाउँछन् । आवश्यक मात्रामा मल नपाइने, पाइएको खण्डमा पनि चाहिएजति नपाइने, भारततर्फबाट ल्याउँदा सुरक्षाकर्मीले बरामद गर्ने र दुःख दिने, तरकारीको न्यूनतम मूल्य निर्धारण नहुने, सरकारले जेटिएको सुविधा आवश्यकता अनुसार उपलब्ध नगराउँदा बाली जोगाउन समस्या हुनेजस्ता अनेकन समस्याहरू किसानले झेल्नुपर्ने उनीहरूको भनाइ छ ।
त्यति गरेर उब्जाएको तरकारीले उचित मूल्य नपाउने मात्र होइन बेच्नका लागि बजार लैजाँदा सुरक्षाकर्मीले भारततिरबाट ल्याएको भन्दै दुःख दिने, आफ्नै खेतमा फलेको तरकारी बेच्न पनि प्रहरीलाई बाटोमा घुस दिनुपर्ने जस्ता समस्या झेल्नु परिरहेको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो ।
देवानगञ्ज गाउँपालिकाका किसान परमानन्द मेहताले झण्डै तीन बिघा खेतमा तरकारी खेती गरिरहनुभएको छ । ओम कृषि फर्म दर्ता गराएर व्यावसायिक खेती गरिरहनुभएका मेहताको खेतमा यतिबेला भन्टा, काक्रा, घिरौंला, भिण्डी, खुर्सानीजस्ता दर्जनजति तरकारी छन् । ‘‘हरेक सिजनका लागि आवश्यक तरकारी पालो मिलाएर उब्जाउने गरेको छु । विगत २० वर्षदेखि तरकारी खेतीमा काम गरिरहेको म र मजस्ता अरू किसानलाई सरकारले सहयोग गरेर प्रोत्साहन गर्न भने सकेको छैन । सरकारले समस्था थाहा पाएर पनि समाधानका लागि काम नगर्दा किसानहरूले धेरै कष्ट भोग्नु परेको छ जस्तो मलाई लाग्छ,’’ मेहताले भन्नुभयो । न्यूनतम मूल्य निर्धारण गरेर सरकारले प्रोत्साहन गर्नुपर्ने मेहताको सुझाव छ ।
तरकारी उत्पादक किसान हिरा मेहताले बिक्री नभएको तरकारीबाट वैकल्पिक वस्तु उत्पादन गर्ने सिप, ज्ञान र प्रविधि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘‘अहिले टमाटर नबिकेर फाल्नुपर्ने अवस्था छ, बन्दाकोभी खेतमै सुकिरहेको छ । काउलीको सिजनमा पनि त्यस्तै समस्या आउँछ, त्यसैले हामी किसानलाई ती वस्तुबाट वैकल्पिक उत्पादन के गर्न सकिन्छ भनेर सरकारले सिकाइदिनुपर्यो,’’ उहाँले भन्नुभयो ।
देवानगञ्जमा उल्लेख्य परिमाणमा तरकारी उत्पादन भए पनि खुला सिमानाका कारण चोरी तस्करी भएर भारतबाट पनि तरकारी आउनाले यहाँका किसानहरू पीडित छन् । किसानहरू त्यसलाई रोक्नुपर्ने बताउँछन् तर तरकारी व्यापारीहरू भने तस्करीलाई संरक्षण गर्दा यहाँका किसानहरू सस्तोमा कृषि उपज बिक्री गर्न बाध्य हुनु परिरहेको किसानहरूको भनाइ छ ।
अनेकन समस्याका बाबजुद पनि देवानगञ्जका किसानहरूले कृषि पेसाबाटै आफ्नो समृद्धि देखेका छन् । उनीहरु समस्याहरू समाधान होस् र त्यसका लागि सरकारको अधिक ध्यान जाओस् भन्ने चाहन्छन् । सरकारले पनि देवानगञ्ज र यस्तै कृषिप्रति लगाव राख्ने किसानहरू भएको ठाउँमा गुणस्तरीय उत्पादन बढाउन अधिकतम् सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले व्यक्त गर्नुभयो ।