• २१ वैशाख २०८२, आइतबार

दुई करोड ठगि गर्ने तत्कालिन सहकारीका अध्यक्ष पक्राउ

blog

पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाल

लीलाराज खड्का
बिर्तामोड, वैशाख २१ गते ।
दुई करोडभन्दा बढी रकम हिनामिना गरी दुई वर्षदेखि फरार रहेका पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका तत्कालीन अध्यक्ष रेवती खनाललाई प्रहरी पक्राउ गरेको छ ।

बचतकर्ताको दुई करोड ६ लाख आठ हजार ३८३ रुपियाँ हिनामिना गरेर फरार रहेका खनाललाई प्रहरीले बिहीबार कैलालीको धनगढीबाट पक्राउ गरेको हो । झापा भद्रपुर नगरपालिका घरभई हाल बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्दै आएका ४१ वर्षीय रेवती खनाल फरार रहेकोमा बिहीबार जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट पक्राउ गरी शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उपस्थित गराएको प्रहरीले जनाएको छ । 

तत्कालीन अध्यक्ष खनाल, उहाँकी श्रीमती, बहिनी, भाइ र मामा ससुरा गरी पाँच जनाले मिलेर सहकारीको रकम हिनामिना गरेको आरोप छ । २०७८ भदौ २३ गते अपचलन भएपछि पताल गङ्गा बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष टङ्कप्रसाद भेटवालले दुई करोड ६ लाख आठ हजार ३८३ रुपियाँ बिगो कायम गरी उनीहरूमाथि २०७८ कात्तिक १६ गते जाहेरी दिनुभएको थियो । 

तर जिल्ला सरकारी वकिल कार्यालयमा २०७१ कात्तिक ४ गते मिसिल पेस भएको थियो । अदालतबाट भने २०७९ मङ्सिर १४ गते म्याद जारी भएको थियो । अदालतबाट म्याद जारी भएपछि तत्कालीन अध्यक्ष खनालकी बहिनी पृथ्वीनगर गाविस वडा नं. ६ जन्मस्थान भई हाल बिर्तामोड नगरपालिका वडा नं २ स्वर्गद्वारी टोल बस्ने ३६ वर्षीया गोमा खनाल (भण्डारी)लाई २०७९ कात्तिक २५ गते पक्राउ गरिएको थियो । अनुसन्धानपश्चात् अदालतको आदेशले एक लाख ५० हजार रुपियाँ धरौटी राखी गोमा तारेखमा छुट्नुभएको थियो ।

त्यस्तै, खनालका मामा ससुरा बिर्तामोड घर भई हाल भद्रपुर नगरपालिका वडा नं ८ बस्ने ५१ वर्षीय अनन्त जीवन लुईटेल तत्काल फरार रहेकोमा पछि अदालतमा आफै उपस्थित भई ७५ हजार रुपियाँ धरौटी राखी तारेखमा छुट्नुभएको थियो । 

त्यस्तै, खनालकी श्रीमती तेह्रथुम सोल्मा गाविस वडा नं १ जन्म भई पृथ्वीनगर गाविस वडा नं ६ मा बस्ने ४४ वर्षीया कमलादेवी भट्टराई (खनाल) र खनालका भाइ तेहथुम सोल्मा गाविस वडा नं १ जन्म भई पृथ्वीनगर गाविस वडा नं ६ मा बस्ने ३६ वर्षीय सीताराम खनाल हालसम्म फरार हुनुहुन्छ । पक्राउ पर्नुभएको तत्कालीन अध्यक्ष खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।