सचिन पोख्रेल
इटहरी, वैशाख २१ गते । भारतीय सिमावर्ती बजारबाट कपडाजन्य सामग्रीलगायत दैनिक उपभोग्य वस्तुहरू चोरी पैठारी गरी राजस्व छल्ने प्रवृत्तिमा तीव्र वृद्धि भएपछि राजस्व चुहावट नियन्त्रणका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले अनुगमन र छापाको गतिविधिमा तीव्रता दिएको छ ।
राजस्व अनुसन्धान विभागको समन्वय र निर्देशनमा राजस्व गस्ती टोलीले सक्रियता बढाइरहदा केही ठुला व्यवसायीबाट करोडौंको सामान बरामद गर्नुका साथै मुद्दासमेत दायर गरेको केही घटना सार्वजनिक भएको छ ।
पछिल्लो समयमा भारतको सिमावर्ती नाकाबाट नेपालतर्फ अवैध तस्करी हुने गरेको र करोडौको राजस्व चुहावट भइरहेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय इटहरीले आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने कोशी प्रदेशको चौध जिल्लाका साथै सप्तरी र सिराहा गरी १६ वटा जिल्लामा राजस्व चुहावट नियन्त्रणका लागि सक्रियता बढाएको छ ।
यस क्रममा राजस्व अनुसन्धान कार्यालयले कपडाजन्य सामग्रीको होलसेल तथा खुद्रा बिक्रेताको रुपमा रहेको विभिन्न चार वटा ठुला व्यवसायमाथि करिब ४० करोड रुपियाँ बराबरको बिगो र जरिवानाको माग दाबी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेले जानकारी दिनुभयो ।
कार्यालयले भारतीय सिमावर्ती क्षेत्रबाट विभिन्न कपडाजन्य सामग्रीको चोरी पैठारी गरी ठुलो परिमाणमा राजस्व चुहावट गरेको कसुरमा सिराहाको लाहानस्थित श्याम बस्त्रालयमाथि २१ करोड ३७ लाख ११ हजार ५९० रुपियाँ बिगो र जरिवानासहितको माग दाबी गर्दै उच्च अदातल जनकपुर, राजविराज इजलासमा मुद्दा दायर गरेको प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेले बताउनुभयो ।
राजस्व अनुसन्धान कार्यालयमार्फत अदातलसमक्ष दायर गरिएको अभियोगपत्रमा सो श्याम बस्त्रालयका सञ्चालक श्यामप्रसाद गुप्तामाथि राजस्व चुहावट ऐनअन्तर्गत हदैसम्मको कैद सजायको मागसमेत गरिएको छ ।
त्यसैगरी, सो कार्यालयले राजस्व चुहावट गरेको कसुरमा झापाको भद्रपुरस्थित कपडाजन्य सामग्रीको होलसेल तथा खुद्रा बिक्रेताको रुरुमा रहको कृष्ण स्टोर्समाथि १४ करोड ५८ लाख ४६ हजार ६६२ रुपियाँ बराबरको बिगो र जरिवाना तथा त्यसका सञ्चालक सोनु कानुमाथि हदैसम्मको कैदसमेतको माग दाबी गर्दै उच्च अदालत विराटनगर, इलाम इजलासमा मुद्दा दायर गरेको छ ।
त्यस्तै, इटहरीस्थित रानीसती इन्टरप्राइजेजमाथि पनि राजस्व छली गरेको अभियोगमा एक करोड ५० लाख ९५ हजार २७० रुपियाँ बराबरको बिगो र जरिवाना गर्नुपर्ने मागदाबी गर्दै सो कार्यालयले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको प्रमुख अनुसन्धान अधिकृत उत्तम घिमिरेको भनाइ छ । भारतीय सिमावर्ती क्षेत्रबाट करोडौको कपडाजन्य सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा पटक पटक विवादमा पर्दै आएको रानीसती इन्टरप्राइजेजका सञ्चालक प्रविण अग्रवालसमेतमाथि कारवाहीका लागि पनि माग गरिएको छ ।
सो कार्यालयले कपडाजन्य सामानहरुको अवैध चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा सिराहा जिल्लको मिर्चैयास्थित कल्याण बजार टेडर्समाथि पनि एक करोड सात लाख ४८ हजार ४९८ रुपियाँ बराबरको बिगो र जरिवानासहितको कारबाहीको माग गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा दर्ता गराएको जनाएको छ ।
पछिल्लो समय भारतीय बजारबाट विशेष गरी कपडाजन्य सामग्रीका साथै चिनी, जिरा मसला, तेल, काजु, किसमिस लगायतका विभिन्न दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भित्र्याउने गरेको भेटिएको पछि राजस्व अनुसन्धान कार्यालयले रात्रीकालिन गस्तीसमेतलाई प्राथमिकता दिएको जनाएको छ ।
सो कार्यालयले राजस्व चुहावट नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बलको टोलीको समन्वयमा गस्ती गर्ने र आवश्यकता अनुसार विभागको निर्देशनमा अवैध सामग्री भण्डारण गरिएको स्थानमा आकस्मिक छापा हान्ने काम पनि गरिदै आएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेको भनाइ छ ।