• २७ वैशाख २०८१, बिहिबार

तराई–मधेसमा लोप हुँदै माटोको भकारी

blog

महेशकुमार दास/जलेश्वर समाचारदाता
जलेश्वर, जेठ २५ गते ।
पहिले तराई–मधेशका देहात(गाउँ)का घर–घरमा रहेको माटोको कोठी भकारी हेरेर परिवारको सम्पन्नता आङ्कलन गरिन्थ्यो ।

खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको कोठी वा भकारी जति ठूलो हुन्थ्यो ती परिवार त्यति नै धेरै सुखी सम्पन्न रहेको मानिन्थ्यो ।

घरमा रहेको कोठी र भकारीको सङ्ख्या र आकार प्रकारले परिवारको धनसम्पति खेत खलिहानलगायत सो परिवारसँग रहेको श्रीसम्पतीको प्रमाणित गर्ने आधार नै हुन्थे ।

जुन घरमा जति ठूलो भकारी र माटोको कोठी हुन्थ्यो त्यो घर त्यति धेरै धनाढय, सुखी र सम्पन्न रहेको मानिन्थ्यो ।

माटोको कोठी र भकारी हेरेर आर्थिक हैसियत समेत–मधेशका देहात(गाउँघर)मा माटोको कोठी र भकारी बिरलै हेर्न पाइन्छ । तराई मधेसका गाउँमा अन्न भण्डारणको लागि बनाइने माटोको काठी भकारी लोप नै भइसकेको भन्दा दुईमत नहोला ।

“तराई मधेशमा छोरी चेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको कोठी भकारी हेरेर उसको आर्थिक हैसियतको आङ्कलन गरेर वैवाहिक सम्बन्ध गासिने गरिन्थ्यो तर अब भने न त कोठी भकारी नै छन् न त अब ती प्रचलमै रहे,” जलेश्वर-४ का परशुराम महतोले सुनाउनुहुन्छ ।

परम्परा, संस्कृति, कला र साहित्यको अनुपम उदाहरणका रुपमा रहेको विशिष्ट पहिचानयुक्त माटोको कोठी बनाउने परम्परा लोप नै भइसकेको भन्दा दुईमत रहँदैन । यस परम्परालाई जोगाउन नयाँ पुस्ताले चासो देखाउनुपर्ने संस्कृतिविद्हरु बताउनुहुन्छ ।

माटोको कोठी मिथिला क्षेत्रको परम्परा, कलासंस्कृति, साहित्य र घर परिवारको आर्थिक हैसियत झल्किने माध्यम मात्र थिएनन् ती माटोको काठी भकारी स्वास्थ्यको दृष्टिकोणले पनि अति उपयुक्त थियो ।

माटोको कोठी भकारीमा विषादी नमिसाई खाद्यान्न सुरक्षित रहने भएकाले स्वच्छ र स्वस्थ्य खानेवस्तुको रक्षाको लागि कोठी अहिले पनि उत्तिकै अनिवार्य देखिन्छ । धान, चामल, गहुँ, दाललगायत खाद्यान्न भण्डारण गर्न बनाइने माटोको कोठी भकारी अति उपयुक्त हुने मानिन्थ्यो । तर, अहिले गाउँ घरमा देखिन छाडेका छन् ।

अन्नपात भण्डारणका लागि घरघरमै बनाइने माटोको कोठीको ठाउँ अब कर्कटपाता तथा प्लाष्टीकका भाँडावर्तनहरुले लिइसकेपछि कोठीको निर्माण हुन छाडेको हो ।

तराई–मधेशमा व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल पनि घट्दै गएपछि घरमा भित्रिने खाद्यान्नको मात्रासमेत कमी भएर कोठी बन्न छाडेको ग्रामीण क्षेत्रका किसानहरु बताउँछन् ।

जलेश्वर—४ का किसान नागेन्द्र पासवान भन्नुहुन्छ, ‘‘अब उत्पादित खाद्यान्न प्लास्टिकका भाँडामै अटाउने भएपछि कोठी बन्ने र बनाउने क्रम लगभग सकिएको छ ।’’

मिथिला क्षेत्रका मिथिलानी महिलामा कलाकौशल प्रदर्शन गर्ने दृष्टिकोणले पनि माटोको कोठी निर्माण गर्ने कार्य पछिल्लो पुस्ताको अरुचिले हुन छाडेको कलासंस्कृतिका जानकार पण्डित ताराकान्त झा बताउनुहुन्छ ।

लेसिलो माटोमा भुस मिसाएर त्यसलाई मुछ्दै महिनौं लगाएर कोठी भकारी बनाइने गरिन्थ्यो, माटाको कोठी बनाउँदा त्यसमा विभिन्न कलासंस्कृति झलकिने चित्रहरु पनि कोरिन्थ्यो । तर कोठी नै बनाउने काम बन्द भएपछि मिथिलानी महिलाहरुको ती कलासमेत देखिन छाडेको छ ।

दशकौं अघिसम्म बस्तीमा कैयौँ महिलाले एकसाथ आ–आफ्ना घरमा बनाउने कोठी बनाएर आफूनो कलाकौशलको प्रदर्शनी गर्ने गर्थे ।

‘‘कसले कस्तो कोठी बनाउँदैछन, गाउँ टोलका महिलाहरुमा हेर्ने र सिक्ने लहर हुन्थ्यो, राम्रो र कलात्मक कोठी हेर्न आउनेको भीडभाड नै लाग्ने गथ्र्यो ।,’’ ७५ वर्षीय समाजसेवी कष्णचन्द्र झाले बताउनुभयो ।

खासगरी हिउँदमा कोठी बनाउने कामको लहर नै देखिने गरिन्थ्यो । “नयाँ पुस्तामा त्यस्तो रौस र लहर नदेख्दा अब पुराना रितिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता प्रयाप्त छ ।” उहाँले  भन्नुभयो ।

मिथिला क्षेत्रकै कला संस्कृति परम्परा र मौलिक पहिचान झल्किने र स्वास्थ्यको लागि समेत अति उपयुक्त हुने माटोको कोठी भकारी बनाउने कार्यलाई जगेर्ना गर्न कोठी बनाउने तालिमहरु सञ्चालन गर्नुपर्ने स्थानीय बताउछन् ।

कोठी बनाउने कार्यलाई प्रोत्साहित गर्ने खाले कार्यक्रमहरु ल्याउन सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।