• १७ वैशाख २०८२, बुधबार

विद्यालयको अक्षयकोषकामा दुई करोड १७ लाख सङ्कलन

blog

कृषि प्राविधिक विषय पठनपाठन हुने किसानी मावि । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, वैशाख १७ गते । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा रहेको किसानी माध्यमिक विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड रुपियाँ भन्दा बढी सङ्कलन भएको छ । 

विद्यालयमा सञ्चालन भएको कृषि प्राविधिक शिक्षालय तर्फ अध्ययनरत गरिब, विपन्न, अनाथ र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गर्न उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको हो । 

गत कात्तिकमा देउसीभैलो खेलेर अक्षयकोष स्थापनाका लागि गाउँलेले थालेको अभियानमा देश तथा विदेशमा बसोबास गर्नुहुने बिमबासीहरु समेत जोडिएपछि हालसम्म दुई करोड १७ लाख रुपियाँ सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताउनुभयो । 

अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकमले प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब, विपन्न, अनाथ र जेहेन्दार विद्यार्थीलाई निशुल्क पठनपाठनका लागि छात्रवृत्ती रकम प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्राविधिक शिक्षा अध्ययन गर्ने चाहना भएका विद्यार्थीहरु आर्थिक अभावका कारण पढ्नबाट वञ्चित नहुन भनेर विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेका हौं । कोषको ब्याजबाट अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्दछौं ।’’

गत कात्तिकको तिहारमा गाउँमा देउसीभैलो खेलेर सङ्कलन भएको ३३ लाख ९२ हजार रकमबाट अक्षयकोषका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । 

विभिन्न पेशा तथा रोजगारीका लागि विदेशमा पुग्नुभएका बिमबासीहरुले गाउँलेले सञ्चालन गरेको अभियानलाई साथ दिएकाले यति धेरै रकम सङ्कलन गर्न सफल भएको उहाँको भनाइ छ । 

अक्षयकोषका लागि रकम सङ्कलन अभियान सुरु गरेपछि दैनिकजसो स्वतस्फूर्त रुपमा सहयोग आइरहेको उहाँले बताउनुभयो । “यो सक्रियता विमबासीको एकताको नमुना पनि हो, आफ्नो गाउँको प्राविधिक शिक्षालयमा स्थापना हुने अक्षयकोषका लागि मन खोलेर सहयोग गर्नुभएको छ,’’ प्राचार्य गर्बुजाले भन्नुभयो । 

कोषको भोली वैशाख १८ गते औपचारिक रुपमा घोषणा गरिने उहाँले बताउनुभयो । कोषका लागि दुई करोड १७ लाख संकलन भएपनि सम्पूर्ण खर्च कटाएर दुई करोड रुपियाँ बराबरको अक्षय कोष स्थापना गर्ने तयारी गरेको विद्यालयका प्रधानाध्यापक गर्बुजाले बताउनुभयो । 

कोषले देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि यहाँ आउनुहुने गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुग्ने विद्यालयले जनाएको छ । साथै कोषको ब्याजबाट प्राप्त भएको रकमले विद्यालयमा हुने अन्य शैक्षिक विकासका गतिविधिहरु पनि सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक गर्बुजाले जानकारी दिनुभयो । 

बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए,२०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत रहेका छन् ।