निराजन परियार
चौमाला (कैलाली), वैशाख १७ गते । कैलालीको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा एक बिरामीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका एक ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फाल्नुभएको थियो ।
गम्भीर चोट लागेर घाइते भएका सिंहको आकस्मिक उपचार कक्षमा बुधबार बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिनुभयो । सिंह मिर्गौला पीडित रहेको र प्रादेशिक अस्पतालमा डायलिसिस गर्दै आएको अस्पतालले जनाएको छ ।
वैशाख १५ गते वार्ड भर्ना भएर उपचार गर्दै आएका सिंहलाई सोमबार चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । उहाँको साथ श्रीमती ईश्वरीदेवी कुरुवा रहेको खुलेको छ । एकै छिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासि तेस्रो तलाबाट हाम फालेको अस्पतालले जनाएको छ ।