बुलबुले समाचारदाता
सुर्खेत, वैशाख १७ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याउने बजेटको आकार बढ्ने भएको छ । सङ्घीय सरकारबाट बजेटको सिलिङ बढेर आएपछि प्रदेश सरकार पनि आकार बढाएर बजेट निर्माणमा जुटेको छ ।
यस पटक कर्णालीले सङ्घीय सरकारबाट राजस्व बाँडफाँट र वित्तीय समानीकरणतर्फको अनुदान बढी पाएको छ । जसले गर्दा प्रदेशको बजेटको आकार पनि बढ्ने भएको छ । आगामी आवका लागि सङ्घीय सरकारबाट राजस्व बाँडफाँटतर्फ १० अर्ब, समानीकरणतर्फ पनि १० अर्ब र अन्य गरेर करिब २१ अर्बको बजेट सिलिङ प्रदेश सरकारले प्राप्त गरेको छ । सङ्घीय सरकारले अनुदान बढाएपछि प्रदेशले पनि मन्त्रालयलाई आकार बढाएर सिलिङ पठाएको छ ।
बजेटको आकार बढाउने गरी सबै मन्त्रालयमा सिलिङ पठाइसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले बताउनुभयो । अनुमानित बजेट भएकाले यति नै बढ्छ भनेर अहिले नै यकिन भने नभएको सचिव शर्माको भनाइ छ । चालु आवको तुलनामा आगामी वर्ष करिब पाँच प्रतिशत हाराहारी बजेट बढ्ने अनुमान मन्त्रालयले गरेको छ ।
कानुनी प्रावधान अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेस गर्ने छ । कर्णाली प्रदेश सरकारले चालु आव २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपियाँको बजेट ल्याएको थियो ।
चालु आवको बजेट कार्यान्वयनको अवस्था भने अहिलेसम्म सन्तोषजनक छैन । यद्यपि आवको अन्तिमसम्ममा ७५ प्रतिशतसम्म कार्यान्वयन हुने अनुमानका आधारमा आर्थिक मामिला मन्त्रालयले सिलिङ दिएको छ ।
चैत मसान्तसम्म कुल बजेटको २७ प्रतिशत मात्रै खर्च भएको छ । त्यसमा विकास बजेट २० प्रतिशत मात्रै कार्यान्वयनमा आएको छ ।