• १६ वैशाख २०८२, मङ्गलबार

श्रम संसार पोर्टलले रोजगारीका लागि सही सूचना सम्प्रेषण गर्ने छ : श्रममन्त्री भण्डारी

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी मङ्गलबार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : श्रममन्त्रीको सचिवालय

काठमाडौँ, वैशाख १६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावका कारण रोजगारीको अवसरबाट युवाहरू बञ्चित हुनु परेको बताउनुभएको छ । 

मङ्गलबार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्नुहुँदै  मन्त्री सही सूचनाको अभावमा युवाहरू रोजगारीको अवसरबाट बञ्चित हुनु परेको बताउनुभएको हो ।

मन्त्री भण्डारीले आफु मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरू भेटेर रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको अविष्कार भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तिको रूपमा स्थापित हुने छ, यसले युवाहरूलाई देश भित्र पनि मिहनेत र आत्मविश्वास बनाउने छ ।’’

मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरूमा विश्वास जगाउने विश्वास व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण विचौलियाहरूले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सूचना सम्प्रेषण गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अब सबै स्थानीय तहमा एकीकृत रूपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरूको सही सूचना सम्प्रेषण हुने छ, यसले विचौलियाहरूको धन्धा बन्द भई आफ्नै गाउँघरमा ठगि रोकिने छ ।’’

मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदूपयोग गरी एकीकृत एकद्वार सूचना प्रणाली स्थापित गर्नु नै मुख्य उद्देश्य रहेको बताउनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रम संसार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ ।