• १६ वैशाख २०८२, मङ्गलबार

पोखरीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

blog

साङ्केतिक तस्बिर

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख १६ गते। महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ। सोमबार साँझ पोखरीमा नुहाउन गएका मनराशिसवा नगरपालिका- १ बस्ने विकेशकुमार सिंहको १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी घर भई मामा घर आएका रूपेश सिंहका ११ वर्षीय छोरा आयुष भन्ने आदित्य सिंहको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। केही महिनादेखि आयुष मामा घरमै बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले ट्युसन पढेर आएका बालकले घर नजिकै रहेको महादेव मन्दिरको पोखरीमा नुहाउन पुगेको र साँझसम्म घर नफर्किपछि खोजतलाश गर्दै जाँदा उनीहरूको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको जानकारी दिनुभयो। 

घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाई शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएको तथा मङ्गलबार शवको पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइसकिएको प्रवक्ता जैसवारले बताउनुभयो। उहाँले बालक पोखरीमा कसरी डुबे लगायतका विषयमा थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।

स्थानीय युवा सुनिल पाण्डेयले मनराशिसवाको महादेव मन्दिरको पोखरीमा केही महिना अगाडि मात्रै एक वृद्धसहित तीन जनाको डुबेर मृत्यु भइसकेको जानकारी दिनुभयो।