काठमाडौँ, वैशाख १६ गते । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।
सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताउनुभयो । बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।”
सांसद महेन्द्र राय यादवले शिक्षकहरूका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस