• १६ वैशाख २०८२, मङ्गलबार

बजेटको तयारीमा जुट्दै प्रदेश सरकार

blog

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख १६ गते । प्रदेश सरकार बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट तयारीमा सरकार जुटेको हो । 

प्रदेश सभाको अधिवेशन अन्त्य भएको यो समयमा सरकारले विभिन्न विषयविज्ञहरूसँग बजेटबारे राय, सुझाव लिने कार्य थालेको छ । भारत भ्रमणमा जानु अगाडि पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको प्रक्रिया थालेको बताउनुभयो। “सरकार बजेट निर्माणको प्रक्रियामा अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो,“हामीले अर्थविद्, विकासविद्, उद्योग वाणिज्य सङ्घसँग छलफल गरिसकेका छौं ।”

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नौ वटा क्षेत्रका योजनालाई प्राथमिकता दिने जनाएको छ । खास गरेर, कृषिको आधुनिकीकरण तथा व्यवसायीकरण, पर्यटन विकास, गुणस्तरीय भौतिक पूर्वाधार विकास, ऊर्जा, यातायात, सञ्चार, आवास, खानेपानी र सिँचाइका योजनालाई प्राथमिकता दिने बताइएको छ । 

यसैगरी, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण एवम् रोजगारी), औद्योगिकीकरण, गरिबी निवारणका योजनालाई पनि प्राथमिकता दिने जनाइएको छ । यस्तै, जडिबुटी उत्पादनसहितको वन तथा वातावरणमैत्री हरित विकास, संस्थागत सवलीकरण र डिजिटल प्रदेशका योजनालाई प्राथमिकता दिने जनाइएको छ ।  

आगामी आर्थिक वर्षमा आवश्यकताका आधारमा योजना छनोट हुने मुख्यमन्त्रीको भनाइ थियो ।