• १६ वैशाख २०८२, मङ्गलबार

रघुगङ्गामा विकास योजना कार्यान्वयन धमाधम

blog

गाउँपालिका केन्द्र मौवाफाँटस्थित सडक योजनामा काम हुँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १६ गते ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका चालु आर्थिक वर्ष २०८१/०८२ मा विनियोजन गरेका विकास योजनाहरू कार्यान्वयनमा जुटेको छ । ठेक्का मार्फत र उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका विकास योजनाहरूमा धमाधम काम भइरहेको छ । 

गत असारमा सम्पन्न भएको गाउँ सभाबाट विनियोजन गरेका एक सय १४ मध्य ८९ योजना सम्झौता भई कार्यान्वयन भएकोमा ५२ वटा योजना निर्माण सम्पन्न भइसकेको गाउँपालिकाका सब इन्जिनियर कमलबहादुर चोखालले बताउनुभयो । बाँकी रहेका साना योजनाहरू पनि सम्झौताको चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सडक र भवन तर्फ गरी ६ वटा ठुला योजना सञ्चालन गरेको छ । ती मध्य ४ वटा ठेक्का र दुई वटा उपभोक्ता समिति मार्फत सम्झौता भई योजनामा काम सुरु भएको सब इन्जिनियर चोखालले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको दुई करोड रुपियाँ समानीकरण अनुदान प्राप्त भएको गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिसँग एक करोड ३१ लाख ९८ हजार रुपियाँमा आगामी असार १५ गते भित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरी काम सुरु भएको छ । यो वर्ष भवनको जग बसाली पहिलो तल्ला डलान गरिने भएको छ ।

यसैगरी, वडा नम्बर २ स्थित मुक्तिधाम माध्यमिक विद्यालयको कृषि प्राविधिक धार तर्फको छात्रावास भवन निर्माणका लागि सङ्घीय सरकारको एक करोड २५ लाख रुपियाँ विशेष अनुदान प्राप्त भएको भवन निर्माणका लागि ८५ लाख ७४ हजार तीन सय ९० रुपियाँमा एसएस विल्डर्ससँग साढे दुई तला भवन निर्माणका लागि गाउँपालिकाले ठेक्का सम्झौता गरी काम सुरु गरिएको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवन निर्माण योजनामा अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति हासिल भएको गाउँपालिकाका सब इन्जिनियर चोखालले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको समानीकरण बजेट ९० लाख रुपियाँबाट  गाउँपालिका केन्द्र मौवाफाँटमा सडक निर्माण थालिएको छ । ६१ लाख ११ रुपियाँमा शान्ति निर्माण सेवासँग सम्झौता गरी सडक निर्माण थालिएको छ । गाउँपालिका चोकदेखि गाउँपालिकाको कार्यालयसम्म सडक फराकिलो, नाली निर्माण गरी सडक ढलान गरिने भएको छ । असार १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने यो योजनाको हालसम्म २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

गाउँपालिकाको ४० र प्रदेश सरकारको ६० प्रतिशत लागत साझेदारीमा कोट गाउँ रायखोर घाँसीखर्क सडक निर्माणका लागि एक करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रुक्मिनी विल्डर्स सँग ६१ लाख ७१ हजार रुपियाँमा ठेक्का सम्झौता गरी सडक निर्माण थालिएको छ ।

गण्डकी प्रदेश सरकारबाट विशेष अनुदान मार्फत प्राप्त भएको ४० लाख रुपियाँबाट कुइनेमङ्गले स्वस्थ्यचौकी तटबन्धन निर्माण र ऋतुङ मावि घेराबार निर्माणका लागि उपभोक्ता समितिसँग सम्झौता भई काम सुरु गरिएको छ । यसैगरी वडा नम्बर ५ झिँ–टोड्के सडक स्तरोन्नतिका लागि ५० लाख रुपियाँ विनियोजन भएकोमा उपभोक्ता समिति मार्फत योजना कार्यान्वयनमा गएको गाउँपालिकाका सब इन्जिनियर चोखालले बताउनुभयो । 

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन गरेका पूर्वाधार तर्फका योजनाहरू तोकिएको मितिमा सम्पन्न गर्न र गुणस्तरीयता कायम राख्न गाउँपालिका तर्फबाट नियमित रूपमा नियमन र अनुगमन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।