फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १६ गते । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पछिल्लो चार वर्षमा अस्पतालमा सेवाग्राही तेब्बर भएको देखाउँछ । यसरी क्षमताभन्दा कैयौँ गुना बढी सेवा दिइरहेका गण्डकी प्रदेश अस्पताल तीन दशकदेखि स्तरोन्नति भएका थिएनन् ।
सेवाग्राहीको सहजता र नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक हक प्रत्याभूत गर्न गण्डकी प्रदेश सरकारले मातहतका सबै ११ अस्पताल र दुई आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । लामो समयदेखि दरबन्दी, पूर्वाधार र उपकरण कम हुँदा समस्या झेल्दै आएका यी अस्पताल सरकारले स्तरोन्नति गर्न लागेको हो ।
मनाङ र मुस्ताङका जिल्ला अस्पताल २५ शय्यामा अन्य जिल्ला अस्पताललाई ५० शय्या बनाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव प्रदेशको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरिसकेको छ । यी अस्पतालको खर्च अहिले ५९ करोड ७५ लाख रहेकामा आम्दानी ६६ करोड ४७ लाख रुपियाँ छ । मध्यविन्दु प्रादेशिक अस्पताल र धवलागिरिलाई ५० शय्याबाट एक सय शय्यामा विस्तार गरिने भएको छ ।
यहाँका अस्पतालमा अहिले ३९५ शय्या रहेकामा स्तरोन्नतिपछि सात सय शय्या पुग्ने छ । कास्कीको गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पतालले अन्तरङ्ग सेवा सुरु गरेका छन् । ती अस्पताललाई पनि २५ शय्यामा स्तरोन्नति गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री कृष्णप्रसाद पाठकले स्तरोन्नतिपछि प्रदेशको स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार हुने अपेक्षा गर्र्नुभयो । अहिले ५६४ स्थायी दरबन्दी भएकोमा १८७ रिक्त छन् । स्तरोन्नतिपछि दरबन्दी एक हजार २४४ पुग्ने छ ।
मन्त्रालयले हालै गरेको अध्ययन अनुसार स्तरोन्नतिपछि जनशक्ति थप हुँदा ११ करोड १२ लाख दायित्व बढ्ने देखाएको छ । अहिले यी स्वास्थ्य संस्थामा करारसहित एक हजार १३३ कर्मचारी छन् । अस्पताल स्तरोन्नतिका लागि मनाङ, मुस्ताङ, पर्वत, धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार यही वर्ष सकिने क्रममा छन् । प्रदेश अस्पताल लमजुङ, तनहुँ र स्याङ्जाको भवन आगामी वर्षबाट निर्माण हुने भएकाले अहिले जनशक्ति व्यवस्थापन नै मुख्य कुरा भएको मन्त्रालयका स्वास्थ्य व्यवस्थापक रमेशकुमार श्रेष्ठ बताउनुहुन्छ ।