तुलसीपुर समाचारदाता
तुलसीपुर, वैशाख १६ गते । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीको जग्गा नाप नक्साङ्कनको काम सुरु गरेको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले जग्गा नाप्न सुरु गरेको हो । आयोग विघटन भएपछि वडा नम्बर ६ बाटै सुरु गरिएको नाप नक्साङ्कनको काम स्थगन भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका भूमि शाखाका अमिन रितेश बस्नेतले यसअघि वडा नम्बर ६ मा एक हजार २६५ कित्ताको पाँच लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफल जग्गा नाप नक्साङ्कन सम्पन्न भएको बताउनुभयो । बस्नेतका अनुसार वडा नम्बर ६ मा करिब ७५ प्रतिशत नाप नक्साङ्कनको काम सकिएको बताउनुभयो । राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई हेरेर जग्गा नापजाँच काम अगाडि बढाइएको बताउनुभयो ।
अध्यक्ष बस्नेतले तुलसीपुरमा सुरु गरिएको नाप नक्साङ्कनको काम एक महिनाभित्रै सम्पन्न गरेर दुई महिनाभित्रै भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिने बताउनुभयो । दाङ जिल्लाको बबई, शान्तिनगर, राप्ती, राजपुर गाउँपालिकामा जङ्गल क्षेत्रभित्र भूमिहीन दलित, सुकुमवासीले बर्सौंदेखि जग्गा उपभोग गर्दै आएकाले ती क्षेत्रको जग्गा नापजाँचमा समस्या देखिएको बताउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र अहिले २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुमवासी, अव्यवस्थित बसोवासीको निवेदन दर्ता भएको बताउनुभयो । उहाँले निर्वाचित भएपछि पहिलो बैठकबाट भूमिहीन दलित, सुकुमवासीलाई लालपुर्जा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरे पनि पटक पटक आयोग विघटन हुँदा कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।
नगरप्रमुख खड्काले भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका–६ का क्वाङ्गी विश्वकर्माले चार दशक पहिलेदेखि आफूले उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाइन्छ कि भन्ने आशामा रहेको बताउनुभयो ।