बैतडी समाचारदाता
बैतडी, वैशाख १६ गते । शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान र पठनपाठन बन्द भएपछि विद्यार्थीहरू संस्थागत (निजी) विद्यालयमा भर्ना हुन थालेका छन् । बैतडीकै अग्रणी विद्यालयका रूपमा परिचित सिद्धेश्वर मावि हुक्केडाँडाका ११ जना विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका छन् ।
पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडा जिल्लाका केही औँलामा गन्न सकिने राम्रा विद्यालयमध्येको एक हो । भर्ना अभियान र पठनपाठन स्थगित भएपछि विद्यार्थी बाहिर जान थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताउनुभयो । उहाँले विद्यार्थी रोक्न पाठ्यपुस्तक वितरण गरिए पनि पढाइ सञ्चालन हुने विषयमा अभिभावक र विद्यार्थीलाई आश्वस्त पार्न नसकिएको बताउनुभयो ।
भर्ना अभियान र पठनपाठन रोकिएपछि हुक्केडाँडाबाट विद्यार्थी निजी विद्यालयमा भर्ना हुन गएको व्यवस्थापन समितिका अध्यक्ष भाटले बताउनुभयो ।
उहाँले शिक्षक आन्दोलनप्रति विद्यालयको समर्थन रहे पनि अभिभावकहरू पढाइ सुरु हुनुपर्ने भन्दै गुनासो गर्न थालेको बताउनुभयो । आइतबार विद्यालयले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसर पारेर सम्मानका लागि विद्यालयमा बोलाइएका आमाहरूले पठनपाठन सञ्चालन हुनुपर्ने बताएका छन् । बैतडीमा ५३६ वटा विद्यालय रहेका छन् । वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरेर ८ गतेदेखि नियमित पठनपाठन हुने कार्यतालिका भए पनि अघिकांश विद्यालयले पाठ्यपुस्तक वितरणसमेत गरेका छैनन् । शिक्षक आन्दोलनका कारण कक्षा ८ को ग्रेडवृद्धिको परीक्षासमेत रोकिएको दशरथ चन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशचन्द्र भट्टले बताउनुभयो ।
यता जिल्लाका संस्थागत (निजी) विद्यालययमा पठनपाठन सुरु भएको छ । सरकारी विद्यालय बन्द हुँदा यो वर्ष निजीमा विद्यालयमा भर्ना हुन जाने विद्यार्थी सङ्ख्यासमेत बढेको पाइएको छ । मेलौली नगरपालिकास्थित आदोम बोर्डिङ स्कुलमा गत वर्षको तुलनामा २० जना विद्यार्थी थपिएको प्रिन्सिपल लक्ष्मण चन्दले बताउनुभयो ।