• १६ वैशाख २०८२, मङ्गलबार

‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते  । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले नेपालको विकासका लागि बोक्नुभएको समाजवादी चिन्तनको सार्थक कार्यान्वयनको विषयमा लेखिएको पुस्तक ‘बिपीको समाजवाद र स्थानीय सरकार’ लोकार्पण गरिएको छ । 

बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, डा. शेखर कोइरालालगायतले पुस्तक लोकार्पण  गर्नुभयो ।  पूर्वराष्ट्रपति डा. यादवले बिपी कोइरालाको सिद्धान्तलाई बुझ्न उहाँले लेख्नुभएका जेल जर्नल, उहाँको आत्मवृत्तान्त र सकेसम्म सबै पुस्तकको पनि अध्ययन गर्न आग्रह गर्नुभयो ।

उहाँले बिपीको समयमा भारतका जुनसुकै सहरमा उपचार तथा अन्य कामका लागि जानुपर्दा बिपीले स्थानीय सहयोगी उपलब्ध गराउने वातावरण बनाउनुभएको भन्नुहुँदै हाल नेपाली कांगे्रसकै कार्यकर्ताबिच भने आत्मीयपन हटेको बताउनुभयो । साथै उहाँले नयाँ र भावी पुस्ताका लागि विगतमा योगदान दिनुभएका नेतृत्वलाई नचिन्ने अवस्थासमेत आएको बताउँदै नेपालको राजनीतिक, सामाजिक परिवर्तनका लागि योगदान दिनुभएका राजनीतिक, सामाजिक नेतृत्वको बारेमा एकै स्थलमा बुझाउन सकिने सङ्ग्रहालयसमेत बनाउनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकमा बिपीले नेपालको विकासका लागि ग्रामीण क्षेत्रको विकास समानस्तरमा हुनुपर्ने मान्यतासहित सबैको सानो घर, दुहुनो गाई, बालबालिकालाई शिक्षा, बिरामी पर्दा ऋण लिनुपर्ने अवस्था नआउने गरी आर्थिक सशक्तीकरणको बाटो देखाउनुपर्ने समाजवादको सिद्धान्तबारे विभिन्न लेखकका विचार, लेख समेटिएका छन्  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसअगाडि बिपीबारे थुपै्र पुस्तक प्रकाशन भए पनि बिपीको नेपालको विकास गर्ने समाजवादको कार्यान्वयनबारे मात्र लेखिएको पुस्तक पहिलो पटक नै सार्वजनिक भएको बताउनुभयो ।

बिपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालका अध्यक्ष इन्दिरा थापाले बिपीले नेपालको विकास समाजवादको कार्यान्वयनबाट मात्र हुन सक्छ भनेर लिनुभएको समाजवादको सिद्धान्तलाई स्थानीय सरकारसँग समन्वय गरेर कसरी देश विकास गर्ने भन्ने सन्दर्भमा पुस्तक तयार भएको बताउनुभयो । उहाँले पुस्तक तयार गर्ने क्रममा देशका सबै भूभागको भ्रमण गरी स्थानीय तहका नेतासँग कुराकानी गरिएको र बिपीको समाजवादबारे मात्र सरोकारवाला सबैको विचार, लेख सङ्कलन गरेर पुस्तक तयार भएको जानकारी दिनुभयो । अध्यक्ष थापाले बिपीको समाजवादबारे पुस्तक प्रकाशनसँगै आगामी दिनमा स्थानीय तहमा पुगेर बिपीको समाजवादलाई वास्तविक कार्यान्वयनका लागि बहस, संवाद पनि गर्दै जाने संस्थाको योजना रहेको बताउनुभयो । 

लेखक सिकेलालले बिपीले यो भन्नुहुन्थ्यो, त्यो भन्नुहुन्थ्यो भनेर उद्धरण मात्र लिने, मन्त्र जस्तै गरी जपेर मात्र हुन्न भन्दै काम नगर्ने प्रवृत्तिले उहाँको समाजवादको सिद्धान्त कार्यान्वयन नभएको बताउनुभयो । सो अवसरमा बिपीको समाजवादबारे अर्जुन बिसीको परिकल्पना र निर्देशनमा नाटक प्रस्तुत गरिएको थियो ।