• १६ वैशाख २०८२, मङ्गलबार

कृषि उत्पादन र उत्पादकत्व वृद्धि सरकारको प्राथमिकतामा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते  । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिको क्षेत्रको समग्र विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि, कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिहरूलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।  

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको २९ औँ वार्षिक उत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गदै मन्त्री अधिकारीले यससम्बन्धी नीति अनुमोदनका लागि केही दिनमा मन्त्रीपरिषद्मा पेस गरिने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्न, यस क्षेत्रलाई थप आत्मनिर्भर बनाउन नीतिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

निर्यातजन्य वस्तुका रूपमा रहेको चियाको निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुगेको बताउनुभयो । विश्व बजारमा नेपाली चियाको दरिलो उपस्थित रहे पनि बजारीकरणमा चुनौती रहेको उहाँको भनाइ थियो ।

चियाको उत्पादनसँगै निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री अधिकारीले चियाको निर्यातलाई दिगो रूपमा बढाउन प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता कायम गरी बजारीकरणमा क्रियाशील भएर अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । 

मन्त्री अधिकारीले चिया तथा कफी विकास बोर्डलाई चियाको बजारीकरणमा विशेष ध्यान दिन आग्रह गर्नुुभयो । चियाको उत्पादनमा रासायनिक मल र विषादीको प्रयोग नगरी उत्पादन गर्नसमेत कृषकलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले गुणस्तरीय वस्तुको उत्पादन तथा निर्यातजन्य वस्तुको उत्पादन वृद्धि गर्न सम्बन्धित कृषकलाई आवश्यक सहुलियत उपलब्ध गराइने बताउनुभयो । 

उत्पादनदेखि बजारीकरणसम्म कृषिको क्षेत्रगत कानुन नहुँदा समस्या परिरहेको उहाँले बताउनुभयो । कृषिमा देखिएका समस्यालाई समाधान गर्नका लागि कृषि नीति परिमार्जन कार्य अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । चियाको उत्पादनसँगै निर्यात बढाउनका लागि चिया नीतिसमेत परिमार्जन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । 

सो अवसरमा नेपाल चिया एसोसिएसनका अध्यक्ष कमल मैनालीले चियाको बजारीकरण निजी क्षेत्रबाट भइरहेको र निर्यात बढाउन सरकारी तवरबाट पहल नहुँदा माग अनुसार निर्यात बढाउन नसकिएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय चियाको प्रदर्शनी गराउन सरकारले निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उहाँको भनाइ छ । सरकारले धान, कफी, उखुको मूल्य निर्धारण गरे पनि चियाको मूल्य निर्धारण हुन नसकेको उहाँको भनाइ छ । 

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य बरालले चियाको उत्पादन बढाउन अनुदानको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । विदेशमा हुने मेलामा प्रत्यक्ष लाभान्वित हुने व्यक्तिलाई सहभागिता गराउनुपर्ने उहाँको भनाइ छ । 

बोर्डको आव २०८०/८१ को तथ्याङ्क अनुसार नेपालमा कुल २० हजार १६० हेक्टर जमिनमा चिया रोपिएको छ । यस अवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको छ । नेपालमा १५ हजार २०३ चिया कृषक छन् । पछिल्लो नौ महिनामा करिब तीन अर्ब ५७ करोड रुपियाँको चिया निर्यात भएको छ ।