• १६ वैशाख २०८२, मङ्गलबार

पाथीभरा केबुलकारद्वारा वार्ताका लागि आह्वान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते । पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्धन गर्न कम्पनीका तर्फबाट यथाशक्य सहयोग रहने प्रतिबद्धता जनाएको छ । गत साता त्यहाँका स्थानीयवासीका सरोकारका विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय सङ्घ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए । 

सो पत्रकार सम्मेलनमार्फत सरोकारवाला वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएको उल्लेख छ । पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।

विज्ञप्तिमा कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर परियोजना निर्माणका क्रममा रहेको जनाएको छ । स्थानीय कला संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने कम्पनीका सञ्चालक रुद्रराज पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वार्ता तथा संवादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ ।