कास्की, वैशाख १५ गते । पोखरा महानगरभित्रका सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । पोखरा महानगरपालिका शिक्षा शाखाले एक सूचना जारी गर्दै शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अबरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले पठनपाठनलाई नियमित बनाउने अनुरोध गरेको छ ।
नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ ।
आन्दोलनमा सहभागी शिक्षकहरू विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन । सूचनामा भनिएको छ, "विद्यालय सञ्चालन गर्नको लागि सम्बन्धित सबै सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।"