• १६ वैशाख २०८२, मङ्गलबार

निजी विद्यालयबाट ठगिएको गुनासो

blog

फाइल तस्बिर :गोरखापत्र कक्षामा अध्ययन गर्दै विद्यार्थी ।

विनय कर्ण

कल्याणपुर (सप्तरी), वैशाख १५ गते  । सप्तरीको विभिन्न स्थानमा रहेका निजी विद्यालयले विद्यार्थी भर्ना गराउन अहिले आकर्षक सुविधासमेतको प्रचारप्रसार गरिरहेका छन् । अभिभावकको मन लोभ्याउन निजी विद्यालयले अडियो, भिडियो, पोस्टर, पम्पलेटका माध्यमबाट प्रचारप्रसारलाई निरन्तरता दिएका हुन् ।

त्यति मात्र नभई निजी विद्यायलले टोलबस्तीमा पुगेर पनि घरदैलो गरी आआफ्ना विद्यालयमा विद्यार्थी तान्न शुद्ध पिउने पानी, दक्ष शिक्षक र अडियो भिडियोका माध्यमबाट पढाइ, खेल मैदानको व्यवस्था, कम्प्युटर कक्षा र अतिरिक्त व्रिmयाकलाप जस्ता अनेक मनै लोभ्याउने सुविधाको हवाला दिँदै अभिभावक र विद्यार्थी फकाउनमा तल्लिन देखिन्छन् ।

चैत २० गतेदेखि शिक्षक आन्दोलनमा लाग्दा सरकारी विद्यालयका सम्पूर्ण गतिविधि ठप्प भएकाले पनि शैक्षिक सत्र २०८२ को शुरुवातसँगै बढीभन्दा बढी विद्यार्थी विद्यालयमा तान्ने सजिलो अवसर निजी विद्यालयले पाएका हुन् तर प्रचारप्रसारमा भनिए जस्तो व्यवस्था र सुविधा धेरै जसो निजी विद्यालयले नदिने गरेको अभिभावकको गुनासो छ ।

सरकारले तोकेको मापदण्डविपरीत कक्षाकोठामा विद्यार्थी बसाउने गरेको र विभिन्न सुविधा तथा कार्यव्रmमका नाममा अभिभावकबाट चर्को शुल्क उठाउने गरेको तथा अनुमतिसमेत नलिएर गाउँटोलमा निजी विद्यालय सञ्चालनमा रहेको उहाँहरूको भनाइ छ । राजविराज–७ निवासी रामाकान्त साह अधिकांश निजी तथा आवासीय विद्यालयले प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन, मनपरी ढङ्गले शुल्कमा वृद्धि र विभिन्न सुविधाका नाममा अभिभावक ठगिने गरेको बताउनुहुन्छ ।

ह्यापी ल्यान्ड सेकेन्डरी स्कुलमा १० कक्षामा अध्ययनरत छोरीसँग विद्यालयले वार्षिक शुल्क तीन हजार, परीक्षा शुल्क दुई हजार पाँच सय, मासिक शुल्क तीन हजार नौ सय र कम्प्युटर शुल्क ३५० गरी कुल नौ हजार ७५० रुपियाँ लिएको किताबको सूची र शुल्कको विवरण देखाउँदै उहाँले गुनासो गर्नुभयो ।  

शिक्षा नियमावली, २०७७ को नियम ५ मा निजी विद्यालयले एक पटक भर्ना भएका विद्यार्थीलाई अर्को वर्ष भर्ना शुल्क लिन नपाउने व्यवस्था गरेको छ तर वार्षिक शुल्कका नाममा यहाँका अधिकांश विद्यालयले विद्यार्थीसँंग भर्ना शुल्क लिइरहेको भए पनि अनुगमन गर्ने निकाय भने मौन रहेको उहाँको भनाइ छ ।

साहले भन्नुभयो, “विद्यालयमा शुद्ध खानेपानी छैन् । मापदण्ड अनुसारको कक्षाकोठा छैन् । चर्को गर्मीमा पनि पङ्खाको व्यवस्था छैन् । कम्प्युटर कक्षाको नाममा शुल्क बुझाए पनि दुई जना ल्याब असिस्टेन्ट र तीन हजार विद्यार्थी छन्, विद्यार्थी कसरी कम्प्युटर सिक्छन् ? अवस्था यस्तो रहे पनि अनुगमन गर्ने निकाय मौन छ ।”

यस्तै गुनासो अर्का अभिभावक राजविराज–३ निवासी मो. जाकिर हुसैनको पनि छ । प्रत्येक वर्ष पुस्तक प्रकाशनबाट कमिसन पाउने लोभमा पाठ्यपुस्तक परिवर्तन गर्ने र अभिभावकमाथि आर्थिक भार थप्ने काम भइरहेको उहाँले बताउनुभयो । 

राजविराज–४ का अभिषेक साहले एक निजी विद्यालयको कक्षा ४ मा अध्ययनरत छोराका लागि एक सेट पुस्तक किन्दा चार हजार रुपियाँ तिर्नुपरेको सुनाउनुभयो । उहाँले सरकारी विद्यालयमा पढाइनेभन्दा फरक फरक किताब निजी विद्यालयले पढाउन नपाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “निजी विद्यालयका किताब पनि तोकिएको पसलमा मात्र पाइन्छ ।” 

कतिपय विद्यालयले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृतिसमेत नदिइएका पाठ्यपुस्तक किन्न लगाएर कलिला बालबालिकाको उमेरभन्दा पनि भारी बोकाउने काम भइरहेकाले यसप्रति सरोकारवाला निकायले अविलम्ब चासो लिनुपर्नेमा जोड दिनुभयो ।