• १६ वैशाख २०८२, मङ्गलबार

पुरानै स्वरूपमा फर्काइँदै बटौली बजार

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख १५ गते । बुटवलको पुरानो एवं ऐतिहासिक ‘बटौली’ बजार पुरानै स्वरूप झल्किने गरी पुनर्निर्माण गरिने भएको छ । बुटवलको वडा नम्बर १ र २ मा पर्ने बुटवलको पुरानो ‘बटौली’ बजारलाई पुरानै स्वरूप झल्किने गरी पुनर्निर्माण गर्ने, सम्पदाको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरले काम अघि बढाएको हो । 

योजना अनुसार माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्रा बजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्र्थापित गर्ने गरी काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सुरुमा वडा नम्बर १ का केही घरको पुनर्निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पु¥याउन थप अध्ययन गरेर बाँकी काम अगाडि बढाउन पहल भइरहेको बताउनुभयो । 

बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न धेरै अघिदेखि छलफल चलाउँदै आएको बताउँदै नगरप्रमुख पाण्डेयले बुटवलको पहिचान बोकेको बटौली बजार संरक्षण अबको प्रमुख योजना रहेको बताउनुभयो । बुटवल उपमहानगरले पुरानो बुटवलका नामले परिचित बटौली थुप्रै पुराना र ऐतिहासिक घर रहेका र ती घरमध्ये जीर्ण भएका र पुनर्निर्माण गर्न सम्भव हुने घरलाई नयाँ स्वरूप दिएर पुरानो बुटवलको मौलिकतामा लैजाने गरी सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ । 

बुटवल उपमहानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले सुरुमा ४२ वटा घरलाई नमुनाका रूपमा पुनर्निर्माण गर्ने गरी काम अगाडि बढाउने र त्यसपछि बाँकी घरलाई पुरानै शैलीमा रूपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबिच सहमति गरेर जाने गरी योजना तयार भएको बताउनुभयो । 

उहाँले तीन पक्षबिच सहमति भई काम सुरु भएमा दुई वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्न सक्ने बताउनुभयो । त्यसका लागि नगर विकास कोषले गरेको अध्ययन प्रतिवेदनमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबिच केही महिनाअघि छलफलसमेत भएको थियो ।