• १५ वैशाख २०८२, सोमबार

मनाइयो मातातीर्थ औँसी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते । ‘मातृ देवो भव’ तैत्तिरीयोपनिषद, शिक्षाध्याय ११ मा आमालाई भगवान्को स्थान दिनुपर्ने उल्लेख गरिएको छ ।  आइतबार मातातीर्थ औँसी अर्थात् जन्म दिने आमाको विशेष सम्झना, आदर र सम्मानका साथ यो पर्व देशभरि मनाइएको छ । छोराछोरीले आमालाई सम्झेर मुख हेर्ने दिनका रूपमा यस दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । 

प्रत्येक वर्ष मातातीर्थ औँसीका दिन सो कुण्डमा स्नान तथा दर्शन गर्नका लागि भक्तजनको ठुलो भिड लाग्ने गर्छ । काठमाडौँबाट करिब १२ किलोमिटर दक्षिणतर्फको दुरीमा पर्ने यस स्थानमा विशेष गरी आमा नहुनेले त्यहाँ गएर कुण्डमा स्नान गरी तर्पण दिने, श्राद्ध गर्ने तथा दानदक्षिणा गर्ने चलन छ । 

टाढा भएका सन्तानले फोन तथा सामाजिक सञ्जालका माध्यमबाट आमालाई सम्झेका छन् । चन्द्रागिरि नगरपालिका निवासी पुरुषोत्तम उदासका अनुसार हिमवत्खण्डको नेपाल महात्मेमा पनि यस तीर्थस्थलको विषयमा चर्चा गरिएको छ । यहाँ तीर्थस्थलमा स्नान गरी श्राद्ध, दानादी गरेको खण्डमा दिवङ्गत पितृले प्राप्त गर्ने र सो कार्यले यस लोकमा पुण्य प्राप्त गरी परलोक पनि सुनिने भनी उल्लेख छ । अहिले पहिला जस्तो तरिका पुर्‍याएर मेला भर्ने काम नगरे पनि माताप्रतिको श्रद्धा भने पहिलोको तुलनामा धेरै बढेको उहाँको भनाइ छ । आइतबार यहाँ सर्वसाधारणको चाप धेरै रहेको उहाँले बताउनुभयो । 

आफ्नो आमाको श्राद्ध गर्न आउनुभएको राजवीर महर्जन भन्नुहुन्छ, “म यस कुण्डमा आफ्नो आमा र सासूको मुख हेर्न आएको हो । सानैमा आमा बित्नुभएको उहाँको गत वर्ष सासूको पनि निधन भएको थियो । उहाँले आफ्नो सासूलाई पनि दागबत्ती दिनुभएको बताउँदै मेरा लागि दुवै आमा नै हो, त्यसैले आमा र सासूको सम्झनामा श्राद्ध गर्न आएको हो ।” प्राचीन समयमा स्थानीय एक ग्वालाले गाई चराइरहेका बेलामा तिर्खा लागेर पानी पिउन जाने क्रममा कुण्डमा यस दिन आफ्नो दिवङ्गत आमाको मुख देखेपछि त्यहाँ दर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ ।