गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा सञ्चिति, पर्यटक आगमन जस्ता बाह्य सूचक सुदृढ भए पनि आन्तरिक रूपमा शिथिलता बेहोरेको अर्थतन्त्रले गति लिन थालेको अर्थ मन्त्रालयले जनाएको छ । आइतबार अर्थतन्त्रसँग सम्बन्धित फागुनसम्मको विवरण सार्वजनिक गर्दै मन्त्रालयले अर्थतन्त्रका आन्तरिक सूचक सुधार हुँदै गएको र समग्रमा अर्थतन्त्रले गति लिन थालेको उल्लेख गरेको छ ।
आन्तरिक अर्थतन्त्रमा देखिन थालेको सुधारका पछाडि सरकारी खर्चमा भएको सुधार, राजस्व सङ्कलन वृद्धि, बढ्दो करदाताको सङ्ख्या, घट्दो मुद्रास्फीतिलाई मन्त्रालयले दलिलका रूपमा पेस गरेको छ । अर्थका अनुसार चालु आव २०८१/८२ को फागुनसम्म सङ्घीय सरकारको कुल खर्च गत आवको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढेर आठ खर्ब ४१ अर्ब रुपियाँ पुगेको छ ।
समीक्षा अवधिसम्म चालु खर्च ०.६, पुँजीगत खर्च १.७ र वित्तीय व्यवस्थातर्फ २५.१ प्रतिशतले खर्च वृद्धि भएको मन्त्रालयको विवरण छ । मन्त्रालयका अनुसार फागुनमा मात्रै ८६ अर्ब २९ करोड रुपियाँ खर्च भएको छ ।
आर्थिक गतिविधि बढेको आधार देखाउने राजस्व सङ्कलन पनि बढेको मन्त्रालयको तथ्याङ्क छ । फागुनसम्म सङ्घीय सरकारले गत वर्षको फागुनसम्मको तुलनामा १२.७ प्रतिशतले बढेर सात खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति सात खर्ब २९ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै कुल राजस्वमा भन्सार विन्दुमा सङ्कलन हुने राजस्व, गैरकर राजस्व तथा अन्तःशुल्कको अंश बढेको पनि मन्त्रालयको विवरण छ ।
यस अवधिमा करदाताको सङ्ख्या पनि बढेको मन्त्रालयले जनाएको छ । गत फागुनसम्म चार लाख ९४ हजार आठ सयले स्थायी लेखा नम्बर लिएकोमा चालु आवको फागुनसम्म पाँच लाख ११ हजार २२९ जनाले त्यस्तो नम्बर लिएको मन्त्रालयले उल्लेख गरेको छ । यससँगै कुल करदाताको सङ्ख्या ६७ लाख ३७ हजार ३७२ पुगेको छ । यो संस्थागत करदाताको सङ्ख्याबाहेक हो । उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत कायम छ जुन अनुमानको तुलनामा न्यून हो । खाद्य तथा पेय पदार्थ दुवै समूहको मुद्रास्फीति घटेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक सहायता प्रतिबद्धता पनि बढेर दुई खर्ब २२ अर्ब रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा एक खर्ब एक अर्ब १९ करोड रुपियाँ सहायता प्रतिबद्धता प्राप्त थियो । वैदेशिक ऋण र अनुदान दुवै यस प्रतिबद्धता अन्तर्गत पर्छन् । कुल सहायता प्रतिबद्धतामध्ये अनुदानको अंश २५.७ प्रतिशत र ऋणको अंश ७४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
लामो समयदेखि सुदृढ नेपालको बाह्य क्षेत्रले समीक्षा अवधिसम्म लय कायमै राखेको छ । जस अनुसार निर्यात ५७.२ प्रतिशतले बढ्दा आयात ११.२ प्रतिशतले बढेको छ ।
विप्रेषण आप्रवाह पनि ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । विदेशी विनियम सञ्चिति असारको तुलनामा १८ प्रतिशतले बढेर २४ अर्ब ९४ अर्ब रुपियाँ पुगेको छ । पर्यटक आगमन १.९ प्रतिशतले बढेर तीन लाख १० हजार पुगेको छ ।